३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आज ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार (आज) झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएका छन् । यस्तै, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भएका छन् । पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उक्त अभियानमा सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोगले स्पष्ट पारेको छ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ । जेठ २४ गते उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा र लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ । विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुने सो पार्टीले जनाएको छ । सोही दिन बागमती प्रदेशबाट प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । यससँगै रास्वपाको मुख्य सङ्गठन रहेका अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने आयोगका प्रमुख केसीको भनाइ छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । जिल्ला अधिवेशन र साङ्गठनिक अद्यावधिक अवस्थाबारे निर्वाचन आयोगका प्रमुख केसीले जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्त्वपूर्ण खुड्किला भएका बताए । “हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी मानेर नेतृत्व दाबी गर्ने प्रवृत्तिको अन्त्य स्वच्छ निर्वाचन प्रक्रियाबाटै हुनेछ । यसका लागि प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरी निष्पक्ष मतदानको सुनिश्चितता गरिएको छ”, उनले भने ।
४ हजार २ सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ४ हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएका छन् । आज र भोलि (शनिबार र आइतबार) रास्वपाको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । यही जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको प्रमुख केसीले जानकारी दिए ।
नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र एस जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र विदेशमन्त्री जयशंकरबीच भएको भेटसँगै नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि जारी रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै भेटवार्ताको प्रारम्भिक झलक सार्वजनिक गरेका छन् । उनले नेपालसँगको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै देश प्रतिबद्ध रहेको संकेत गरेका छन् । परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निमन्त्रणामा शुक्रबार भारत पुगेका हुन् । उनको भ्रमण २४ जेठसम्म जारी रहनेछ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ । विशेषगरी द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवद्र्धन, सीमा तथा पूर्वाधार कनेक्टिभिटी, ऊर्जा सहकार्य र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषय प्राथमिकतामा रहेका छन् । नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको यस भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ । पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, रेल तथा सडक सञ्जाल विस्तारजस्ता क्षेत्रमा बढेको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच सकारात्मक संवाद हुने विश्वास गरिएको छ ।