साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए । उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफुसँग हाल रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ । ‘गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गर्ने योजना बनाईंदैछ’, खत्रीले भने । काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो । यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रबद्र्धन गर्न लागिएको हो । नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेको दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वच्छ भइने नगर प्रमुख टोकबहादुर वाईबाले बताए । उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ । नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ ।
कागेश्वरी-मनोहराले नेपाल प्रहरीलाई दियो क्यामेरा, अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि दिने
कागेश्वरी मनोहरा । कागेश्वरी-मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ । मंगरबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहरालाई डीएसएलआर क्यामेरा हस्तान्तरण गरेका हुन् । क्यामेरा हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले प्रहरीको अनुसन्धानलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा कायम गर्न सहकार्य जारी रहने बताए । प्रहरीसँगको सहकार्यले अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याउने उनले अपेक्षा गरेका छन् । ‘दृश्यात्मक प्रस्तुतीकरणमा क्यामेराको उपयोगले गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विश्वास छ । प्रहरीको अपराध अनुसन्धानमा सहजीकरण गर्ने उद्देश्यले क्यामेरा प्रदान गरिएको हो,’ नगर प्रमुख कार्कीले भने । सहरी विकास र सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन कागेश्वरी-मनोहरा नगरपालिकाले अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि सहयोग गर्ने योजना अघि सारेको छ । नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार समुदायको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अस्पतालको लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइने छ । साथै शान्ति सुरक्षा प्रवर्द्धन गर्न नगरपालिकाका रणनीतिक स्थानहरूमा प्रहरी बिट निर्माणको लागि पनि जग्गा प्रदान गरिने योजना छ । प्रहरी उपरीक्षक अपिलराज बोहराले अपराध अनुसन्धानमा दृश्य सामग्रीको प्रामाणिकता बढाउन डीएसएलआर क्यामेरा उपयोगी हुने बताए । स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने उनको भनाइ छ । ‘प्रविधिको प्रभावकारी उपयोगले अनुसन्धानको गुणस्तरमा सुधार ल्याउने छ । अपराधको प्रमाणिकरणमा मद्दत पुर्याउने विश्वास छ । स्थानीय तहसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा प्रवद्र्धनको लागि निरन्तर सहकार्य गर्छाैं,’ बोहराले भने ।
चन्द्रागिरि नगरपालिकाद्वारा नवनियुक्त सहसचिव अर्याल सम्मानित
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएकामा उनलाई विशेष सम्मान गरिएको छ । करिब एक वर्ष पाँच महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका उनले समग्र नगरको उन्ननयमा ऐतिहासिक कार्य गर्न सफल भएका थिए । चन्द्रागिरि नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा सहसचिव अर्याललाई नगरप्रमुख घनश्याम गिरीले सम्मान गरे । सो अवसरमा नगरप्रमुख गिरीले नगर प्रहरी गठन, जिपिएस र डिजिटल प्रणाली कार्यान्वयन, प्रसूति अस्पताल निर्माणजस्ता दूरगामी महत्वका योजना कार्यान्वयमा प्रमुख कार्यकारी अधिकृत अर्यालको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले भने, ‘मैले हालसम्म १० जना प्रमुख कार्यकारी अधिकृतसँग काम गर्ने मौका पाएँ तर राजनीतिक लक्ष्यलाई बुझेर छिटो काम गर्नसक्ने क्षमता प्रमुख कार्यकारी अधिकृत अर्यालसँग मात्र पाएँ । सत्य र तथ्यमा आधारित कार्यसम्पादन गर्ने उहाँको शैली अनुकरणीय छन् ।’ सो अवसरमा सहसचिव अर्यालले राष्ट्रसेवक कर्मचारीका लागि चन्द्रागिरि नगरपालिकामा काम गर्ने वातावरण अब्बल रहेको हुँदा आफ्नो क्षमताले भ्याएसम्म नगरको उन्नयनमा आफूले कार्यसम्पादन गरेको बताए । उनले भने, “म खोजेर र रोजेर चन्द्रागिरि नगरपालिकामा आएको होइन, दबाब र प्रभावमा कार्यसम्पादन गर्ने बानी मसँग छैन ।” फरक प्रसङ्गमा सचिव अर्यालले आफूले किताबी सैद्धान्तिक ज्ञानभन्दा समाज र समुदायलाई सुक्ष्म रूपमा अध्ययन गरेका कारण राजपत्राङ्कित प्रथम श्रेणीमा नाम निकाल्न सफल भएको सुनाए । सहसचिव अर्यालले आफूले थालनी गरेका असल अभ्यासलाई आगामी दिनमा अगाडि बढाउन सुझाव दिनुहुँदै ५१ बुँदा संस्थागत ‘सस्थागत स्मरण’ हस्तान्तरणसमेत गरे । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल र उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालले चन्द्रागिरि नगरपालिकालाई पुर्याउनुभएको योगदानलाई सदैव सम्झने बताए ।