बालबालिकालाई स्थानीय तहको संरचनाबारे जानकारी दिन ललितपुर महानगरमा नमूना बाल नगरसभा सुरु
काठमाडौं । ललितपुर महानगरमा चौथो नमूना बाल नगरसभा सुरु भएको छ । नमूना बाल नगरसभा ललितपुर महानगर र महानगर स्तरीय बाल क्लब सञ्जालले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरी चौथो नमूना बाल नगरसभाको आयोजना गरेको हो । बालबालिकालाई स्थानीय तहको संरचना, कार्यप्रणाली लगायतका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना बाल नगरसभाको बिहीबार सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले उद्घाटन गरे । कार्यपालिका, नगरसभा, नगर प्रमुख, ‘उपप्रमुखको जिम्मेवारी थाहा पाउन नमूना बाल नगरसभा महत्त्वपूर्ण रहेको सामाजिक विकास समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि राजु महर्जनले बताए । उनले भने, ‘विद्यार्थीलाई यो कार्यक्रम निकै उपयोगी हुन्छ, सबैभन्दा नजिकको सरकार कसरी सञ्चालन हुन्छ, त्यो बुझ्न सजिलो हुन्छ । ’ सामाजिक विकास समितिका सदस्य एवं वडा नंं.१८का अध्यक्ष दामोदर खड्काले नमूना बाल नगरसभा सिक्ने, सिकाउने महत्त्वपूर्ण ठाउँ भएको बताए । बाल नगरसभामा सहभागी बालबालिका भविष्यका कर्णधार भएको बताउँदै यो कार्यक्रममा सहभागी भएका मध्येबाट नै भविष्यका नगर प्रमुख, उपप्रमुख उत्पादन हुने धारणा राखे । बाल नगरसभामा सिकेका कुरा विद्यालय, विश्वविद्यालयमा सिकेको ज्ञानभन्दा पनि महत्त्वपूर्ण हुने बताए । सामाजिक विकास समिति सदस्य उमा श्रेष्ठ बज्राचार्यले यो कार्यक्रम उपयोगी भएको बताइन् । ललितपुर महानगर सामुदायिक विकास शाखाकी प्रमुख सरिता महर्जनले बालबालिकालाई लोकतन्त्र, लोकतान्त्रिक संस्कृति , नगरसभा, कार्यपालिका गठन, विषयगत समितिको काम, कर्तव्य लगायतका बारेमा जानकारी दिने बताइन् । उनले भनिन्, ‘यी सम्पूर्ण विषयमा विज्ञबाट बालबालिकालाई जानकारी दिन्छौं , त्यसपछि नमूना बाल नगरसभा गर्छौं । ’ यो कार्यक्रम सूचनामूलक, ज्ञानवर्द्धक र उपयोगी भएको उनले बताइन् । कार्यक्रमकी अध्यक्ष प्रार्थना श्रेष्ठले कार्यक्रम उपलब्धिमूलक हुने बताउँदै सक्रिय सहभागिताको लागि अनुरोध गरिन् ।
ओली र देउवाप्रति बालेनको ब्यङ्ग्य- अब खोलासँगै टुँडिखेल पनि कार्यकर्तालाई दिने भए
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाप्रति ब्यङ्य प्रहार गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उनीहरुलाई अध्यादेशका विषयमा ब्यङ्ग्य प्रहार गरेका हुन् । उनले भनेका छन्, ‘अब खोलामात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ, बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले नगरपालिकाले पहिलोपटक चन्द्रागिरि–१२ स्थित बलम्बु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालयमार्फत सीप सिकाउन थालेको हो । यसका लागि नगरपालिकाले दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसनसँगको सहकार्यमा सो विद्यालय परिसरमा शिक्षालय भवनसहित अत्याधुनिक चारवटा प्रयोगशाला निर्माण गरेको छ । दुईतले भवन एवं प्रयोगशालका लागि रु दुई करोड ५० खर्च भएको जनाइएको छ । शिक्षालयमा अब प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्यूटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत विधामा सीप विद्यार्थीलाई अतिरिक्त समयमा सिकाइने छ । माध्यामिक शिक्षा परीक्षामा (एसइई)मा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउँदै आएको अब्बल सो सामुदायिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ अध्ययन गरिराखेका विद्यार्थीले आफू रुचिको ती विधामध्ये एक विधामा सीप सिक्नेछन् । अतिरिक्त समयमा उनीहरूले सिक्ने सो सीप स्नातक तह बराबरको हुनेछ । कक्षा १२ उत्तीर्ण हुँदा विद्यार्थीले आफूले रोजेका विधामा प्राविधिक सीपको प्रमाणपत्र पनि लिएर निस्कने छन् । यसबाट विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा रोजगार बनाउन सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।