स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ’, अध्यक्ष थापाले भने, ‘गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।’ गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरुपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए । उक्त कार्यक्रमका लागि झण्डै दुई करोड लाग्ने अनुमान गाउँपालिकाको छ । एक करोड ५० लाख विनियोजन गरिए पनि ५० लाख जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले बताए । स्वास्थ्यको पहुँच सबै नागरिकसमक्ष पु¥याउँदै स्वस्थ नागरिकसहितको समृद्ध गाउँपालिका बनाउने लक्ष्य प्राप्तिका लागि यस अभियानमार्फत सहजता हुने अध्यक्ष थापाले बताए । एउटा परिवारमा एकदेखि दश जनासम्म रहेका छन् । गाउँपालिकाले यो अभियान कार्यान्वयनमा ल्याएसँगै हालसम्म एक हजार ५१४ घरधुरीका सात हजार बढी सङ्ख्या लाभान्वित भइसकेका स्वास्थ्य शाखाका प्रमुख खड्का थापाले बताए । गाउँपालिकाका चार हजार ७०० घरधुरीका २२ हजार ७३५ लाई सेवा उपलब्ध गराइने भएको छ । आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पु¥याई सकिने शाखा प्रमुख थापाले बताए । रासस
सरकारी कागजातको सुरक्षाका लागि निःशुल्क खाम वितरण
काठमाडौं । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले व्यत्तिगत घटना दर्ता र दर्ता कागजको सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले नागरिकको अत्यन्त महत्वपूर्ण सरकारी कागजातहरूको दिगो सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराउने भएको हो । प्रत्येक वडा कार्यालयबाट जारी हुने जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, विवाहदर्ता जस्ता नागरिकको अत्यन्त महत्वपूर्ण सरकारी कागजातहरूको दिगो सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराउन थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वेबसाईट, इमेल र फेसबुक पेजको ठेगाना समेत प्रिन्ट गरिएमा पनि उक्त खाम प्लास्टिकको रहने र यो खाम निःशुल्क उपलब्ध हुनेछ । गाउँपालिकाले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी दिने छात्रवृत्ति प्राप्तिको पहिलो पटक आवेदन दिन आएका वडा नं १ का सिनामका अतीत अधिकारीलाई सो खाम उपलब्ध गरी पालिकाले यो अभियानको सुरुआत गरेको छ ।
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ललितपुर महानगरले १ लाख २० हजार सहयोग गर्ने
काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरले एक सार्वजनिक सूचना प्रकाशन गर्दै उक्त सहयोग गर्ने जनाएको हो । सूचना अनुसार ललितपुर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले सहयोग गर्ने निर्णय गरेको हो । त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई ६० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरूलाई ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ । यसका साथै कोभिड संक्रमण मुक्त भई डिस्चार्ज भए पश्चात् कुनै कारणले मृत्यु भएमा ६० देखि ३० हजार रुपैयाँसम्म महानगरले रकम दिने पनि सूचनामा उल्लेख छ । महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।