पाेखरा महानगरले हरेक वर्ष २ छात्रालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने
पाेखरा । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुईजना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ । महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । त्यसैगरि पोखरा महानगरपालिका–१९ ले यो वर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार वडाभित्र एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । पोखरा महानगरपालिका–३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नं ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए । शिक्षालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २२० जना सहभागी भइसकेका छन् । रासस
महानगरकाे वडा नं. १२ काे कार्यालय भवनको शिलान्यास, अपाङ्गमैत्री हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १२ कार्यालय भवनको शिलान्यास गरेको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा नगरप्रमुख विद्यासुन्दर शाक्यले आज सांस्कृतिक पूजा गर्दै उक्त भवनको शिलान्यास गरेका हुन् । वडा भवन निर्माणमा भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ अनुमान गरिएको थियो । तर, उक्त भवन निमार्ण भ्याटसहित ३ करोड २० लाख ५१ हजार ६ सय ७० रुपैयाँ हुने बताइएकाे छ । वडा कार्यालयको भवन जमिन तलासहित ६ तले निर्माण हुने भएको हो । पचली क्षेत्रमा भवन बनाउने योजना सार्दा ढिला भएकाे मेयर शाक्यले बताएका छन् । महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय भएकाे थियाे । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको पनि शाक्यले बताए । उक्त भवन अपाङ्गमैत्री हुने पनि शाक्यले बताए ।
कीर्तिपुर नगरपालिकामा उद्यमीहरूको लागि कोसेली घर स्थापना
काठमाडौं । कीर्तिपुर नगरपालिकाले कोसेली घर स्थापना गरेको छ । नगरपालिकाले कीर्तिपुर क्षेत्र भित्रका उद्यमीहरूको उत्पादन प्रवर्द्धन एवम् बजारीकरण गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख रमेश महर्जनले मङ्गलवार उक्त कोसेली घरको उद्घाटन गरेका थिए । वडा नं. १०, कीर्तिपुर कभर्ड हल नजिकै १२ वटा सटर निकाली बनाएको स्थानमा नगरपालिकाले प्रत्येक वडालाई एक/एक वटा सटर निःशुल्क जिम्मा दिएकाे छ । नगरपालिकाका प्रत्येक वडाले पनि त्यहाँ रहेका महिला समूहहरू उक्त सटर जिम्मा दिएका छन् । नगरपालिकाले विशेष गरी महिलाहरूलाई लक्षित गरी महिलाहरूलाई उद्यमी बनाउन विभिन्न तालिमहरू दिइरहेकोमा उक्त तालिमबाट प्राप्त सिपलाई कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न वस्तुहरू उत्पादन गरिरहेको छ । ती वस्तुहरूलाई नै बजारीकरण गर्नका लागि नगरपालिकाले उक्त स्थान उपलब्ध गराएको हो । नगरपालिकाले महिलाहरूद्वारा उत्पादित वस्तुहरूलाई उक्त कोसेली घरमा राखी विक्री वितरण गरेर आयआर्जन गर्ने बताएकाे छ ।