यो वर्षबाट युवाहरूलाई ऋण दिने कार्यक्रम ल्याएका छौं- गाउँपालिका अध्यक्ष बन्जारासँगको कुराकानी
बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ६७ दशमलव २ किलोमिटरको दूरीमा अवस्थित छ । यस गाउँपालिकाका अध्यक्ष हुन् शालिकराम बन्जारा । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि गाउँपालिकाको हरेक क्षेत्रमा सुधार र परिवर्तन भएको छ । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका अथवा चुनावी बाचा ७० प्रति पुरा गरी सकेको पनि अध्यक्ष बन्जारा बताउँछन् । यसै क्रममा उनै अध्यक्ष बन्जारासँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ र समग्र पालिकाको विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ? खोटाङको जिल्लाको अन्य स्थानीय तहको तुलनामा हाम्रो पालिका अलिक विकट नै छ । स्थानीय तहको संरचना बनिसकेपछि गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएँ । त्यो बेला गाउँपालिकाको अवस्था निक्कै जीर्ण थियो । हामी निर्वाचित भइसकेपछि शून्य अवस्थाबाट विकासको गति अगाडि बढाएका थियौं । त्यसपछि तत्कालको आवश्यकता पहिचान गरेर काम सुरु गर्यौं । हामी सोचेको सबै काम पूर्ण रूपमा गर्न सकिएन तथापि पनि पालिकाको स्रोत, साधन र बजेटले भ्याएसम्म विकास निर्माणको काम गरेका छौं । पालिकामा विकास निर्माणको कामलाई पनि तीव्रता दिएका छौं । भौगोलिक विकटताका कारण काम गर्ने अलिक असहज भयो । सडक निर्माण गर्यो बर्खाको समयमा भत्किहाल्छ । यस्तै समस्याका कारण केही असहज अवस्था पनि आए । तर, पालिकामा पहिला भन्दा अहिले धेरै विकास भएको छ । गाउँपालिकालाई पर्यटकिय क्षेत्र रूपमा विकास गर्न ठुलो पहल गरी रहेका छौं । गाउँपालिकाले कृषि क्षेत्रमा कस्तो काम गरेको छ र पालिकाले यस क्षेत्रमा तर्फ हासिल गरेको उपलब्धि के हो नि ? पालिकामा पहिला परम्परागत कृषि प्रणाली थियो भने हाल कृषिलाई आधुनिकीकरण गरेका छौं । पालिकाले कृषि क्षेत्रमा पनि राम्रो प्रगति गरेको छ । पछिल्लो समयमा यहाँका धेरै नागरिकहरु कृषि पेशामा आकर्षित भएको पाइन्छ । हामीले कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरेका छौं । उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लगानीले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । कृषिलाई व्यावसायिकीकरण, आधुनिकिकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । पालिकाले कृषहरुलाई कृषिमा उत्प्रेरणा गर्ने र प्रोत्साहित समेत गर्दै आएका छौं । किसानहरूको माग अनुसार सेवा गरिरहेका छौं । यसरी नै कृषि क्षेत्रमा पनि पालिकाको तर्फबाट व्यापक काम भएको छ । गाउँपालिकाको प्रत्येक वडामा सडक पुगे पनि अधिकांश कच्ची नै भएकाले त्यसलाई कालोपत्रे गर्ने अथवा स्तरोन्नती गर्न गाउँपालिकाले पहल गरेको छ कि छैन ? सडकको कुरा गर्दा हामी निर्वाचित हुनुभन्दा अघि धाप्लाङघाटबाट वराहपोखरीसम्म ३ मिटरको बाटो थियो । उक्त सडक कच्ची भए पनि हाल ८ मिटरको बाटो बनाएका छौं । पालिकाको केन्द्रबाट सबै वडासम्म जाने सडकको निर्माण भएका छन् । गाउँपालिकाले तर्फबाट सकेसम्म सडक स्तारोन्नती गरेका छौं । कालोपत्रे गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन । गाउँपालिकाको केन्द्रबाट प्रत्येक वडा कार्यालयसम्म जाने सडक कालोपत्रे गर्नको लागि डिपिआर गरी सम्बन्धित ठाउँमा पठाएका छौं । अहिले नै कालोपत्रे हुने सम्भावना म देख्तिनँ । जनप्रतिनिधिको रूपमा ४ वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो ? ४ वर्षसम्म जनप्रतिनिधिको रूपमा काम गर्दाको अनुभव राम्रो नै रह्यो भन्नुपर्छ । राम्रो काम गर्दा धन्यवाद दिने कम हुन्छन् तर सामान्य त्रुटि भयो भने त्यसको विरोध गर्नेहरु बढि हुन्छन् । हाम्रो जस्तो विकट ठाउँमा अहिलेको परिवर्तन हेर्दाफेरी म खुसी र सन्तुष्ट नै छु । चुनावमा नागरिकसँग गरेका बाचा कति पुरा गर्नु भयो नी ? चुनावमा नागरिकसँग गरिएका वाचा लगभग ७० प्रतिशत पूरा गरेका छौं । हामीले सबै कुरामा विकास शून्य अवस्थाबाट विकास गर्नुपर्याे । त्यसैले सबै कुरा हामीले पुरा गर्न सकेनौं । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । तर, कोभिडका कारण नै कुनै पनि नागरिकले ज्यान गुमाउनु परेन । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि पहिलो र दोस्रो लहरमा ६५ लाख रुपैयाँ जति खर्च भएको छ । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ? गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । जनताको आवश्यकता, चाहना पुरा गर्नको लागि गाउँपालिका सक्रिय छ । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । जनताका विकासमा माग र आवश्यकता असीमित छन् । हामीले पनि उक्त आवश्यकताहरू पुरा गर्ने कोसिस गरिरहेका छौं । जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । पालिकामा भएको बजेटबाट स्थानीबासिको मागलाई सम्बोधन गर्ने गरेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै सम्बोधन गर्नको निम्ति लागिपरेका छौं । गाउँपालिकाले जनताको धेरै भन्दा धेरै मागहरू पुरा गर्न सफल भएको छ । हामीले पालिकामा जग बसाउने काम गरेका छौं । स्थानीय सरकारबाट यहाँका जनताहरू सन्तुष्ट हुनुहुन्छ । स्थानीय तहको नेतृत्व सम्हालेको ४ वर्ष पुरा हुँदा तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी नै छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । सिचाइको कामहरू भएका छन् । गाउँपालिकाको हरेका क्षेत्रमा सुधार र परिवर्तन आउनु नै मेरो कार्यकालको सबै भन्दा ठुलो उपलब्धि हो । अनि स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ? पहिला पालिकामा सिटामोल किनेर खाने सवास्थ्यचौकी थिएन । स्वास्थ्यको सवालमा हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । पालिकाको प्रत्येक वडाको स्वास्थ्यचौकीमा प्रजनन् केन्द्रको स्थापना गरेका छौं । सामान्य रोगबाट जनताहरू पीडित हुनु पर्दैन । नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याएका छौं । जनताले स्वास्थ्य क्षेत्रमा पनि पहिलाको तुलनामा धेरै राहत महशुष गर्नु भएको छ । शिक्षा क्षेत्रको कुरा गर्दा शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थायी दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले शैक्षिक गुणस्तरलाई विशेष जोड दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । तर, हामीले रोजगारी सिर्जना गर्ने काममा अलिक पछाडि पर्यौं । यहाँका केही युवाहरू रोजगारिका लागि पलायन पनि भएका छन् । हामीले युवाहरूलाई कृषि पेशामा जोडिनको लागि आग्रह गरेका छौं । यो वर्षबाट युवाहरूलाई ऋण दिने कार्यक्रम पनि ल्याएका छौं । अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा उत्तरोतर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछु । समृद्ध गाउँपालिका निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा
फाइल फाेटाे काठमाडौं । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा ११० रुपैयाँ कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । उनका अनुसार सोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ । यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश मार्गमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा वृद्धि गरेको थियो । गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐनबमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागू हुने बताइएको छ । यसैगरी, पोखराबाट टुसे ग्राउण्ड मार्गमा पृथ्वी राजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर १०० रुपैयाँ कायम गरिएको र सोहीअनुसार उक्त मार्गको अन्य स्थानको भाडासमेत समायोजन गरिएको गाउँपालिकाले जनाएको छ । “भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुबीच विवाद हुने गरेको थियो । अहिले गाउँपालिकाभित्रका मुख्य मार्गको अधिकतम भाडा तोकेका छौँ”, प्रवक्ता शाहीले भने, “छलफलका आधारमा पुनः यसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गर्नेछौँ ।” यसैगरी आगामी मङ्सिर १ देखि विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी बिहान ५ः०० बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गरिने भएको छ । विभिन्न विद्यार्थी सङ्गठनले गाउँपालिकाबाट बिहानको समयमा बस सञ्चालन नहुँदा विद्यार्थीले पोखरामा कोठाभाडामा लिएर बस्नुपर्ने अवस्था आएकाले घरबाटै क्याम्पस जानका लागि बसको व्यवस्था गर्न माग गरेका थिए । गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयमा बिहानी तथा दिवासत्रका विद्यार्थीलाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि वडा नं १ को टुसे ग्राउण्डबाट घाचोक हुँदै पोखरा, वडा नं ५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नं ८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी सङ्ख्याका आधारमा बिहान ५ः०० बजेदेखि पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिए । गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलब्ध गराउन बस कम्पनी सहमत भएका छन् । रासस
व्यास नगरपालिकाको आन्तरिक आम्दानी १५ करोड, सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट
दमौली । तनहुँको व्यास नगरपालिकाले १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो । नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट पाँच करोड २५ लाख ३७ हजार ४० सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो । सम्पत्तिकर एक करोड १४ लाख २० हजार ७८४, मालपोतबाट ५३ लाख ४६ हजार ९२७, घरबहालबाट ७५ लाख ९६ हजार ४२५, घरभाडा करबाट एक करोड ६५ लाख ९८ हजार ६२२, मेसिनरी उपकरणबाट ५९ हजार ३००, लिलाम बिक्रीबाट २४ हजार, मिलापत्रबाट २२ हजार ५२०, सिफारिसबाट एक करोड २८ लाख पाँच हजार दुई २१६, विविध फारमबाट दश लाख दुई हजार ७८१, अन्य प्रशासनिक सेवाबाट ६८ लाख ३७ हजार ६३७, सवारी पार्किङबाट आठ लाख १७ हजार ९० सङ्कलन गरेको छ । घरनक्शा पासबाट एक करोड ४१ लाख ५२ हजार २३०, नाता प्रमाणितबाट दुई लाख ६७ हजार ७३५, अन्य विविधबाट चार लाख ८६ हजार १२० र दर्ता र नवीकरणबाट १९ लाख ३३ हजार एक सय सङ्कलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट १६ लाख ३४ हजार ६१९, सरसफाइबाट ६५ लाख ७३ हजार ४८९, स्थानीय वातावरण शुल्कबाट ७६ लाख ५९ हजार २३७, व्यवसाय करबाट १८ लाख ९८ हजार १०२ सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । सम्पत्ति करबाट एक करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा चार लाख २० हजार ७८४ बढी सङ्कलन भएको छ । मालपोत करबाट ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन लाख ४६ हजार ९२७ बढी सङ्कलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम सङ्कलन भएको छ । एक करोड ५० लाख सङ्कलनको लक्ष्य रहेकामा ७४ लाख तीन हजार ५७५ कम सङ्कलन भएको छ । प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । नौ करोड ८० लाख सङ्कलनको लक्ष्य रहेकामा चार करोड ५४ लाख ६२ हजार ९६० कम राजस्व सङ्कलन भएको छ । सिफारिसबाट एक करोड सङ्कलनको लक्ष्य रहेकामा २८ लाख पाँच हजार २१६ बढी सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट ३३ लाख सङ्कलनको लक्ष्य रहेकामा ३५ लाख ३७ हजार ६३७ बढी सङ्कलन भएको नगरपालिकाले जनाएको छ । सरसफाइतर्फ र ५० लाखको लक्ष्य रहेकामा १५ लाख ७३ हजार ४८९ बढी सङ्कलन भएको छ भने स्थानीय वातावरणतर्फ एक करोडको लक्ष्य रहेकामा २३ लाख ४० हजार ७२७ कम सङ्कलन भएको छ । रासस