स्थानीय जनप्रतिनिधिका ४ वर्षः प्रतिवद्धता पूरा गर्नै सकस
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि चार वर्ष पूरा भएको छ । निर्वाचित भएर आएको चार वर्ष पूरा भएपनि घोषणापत्र मार्फ गरेको प्रतिवद्धताहरु पूरा गर्न भने उनीहरुलाई सकस भएकोे छ । अब एक वर्ष मात्रै समय बाँकी रहँदा उनीहरुलाई अहिले यसअघि हुने नसकेका काम गर्ने चटारो लागेको छ । ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यअवधि अब केही महिना मात्रै बाँकी हुँदा घोषणापत्रमा उल्लेख प्रतिवद्धताहरु कार्यान्वयन गर्न तर्फ लागेपनि उनीहरु ती काम पूरा गर्न सकस भएको छ । केहीले यो अवधिमा राम्रो काम गरेको देखिएपनि अधिकांश जनप्रतिनिधिहरु भने असफल देखिएका छन् । कतिपयले आफुले घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु नै पुनः पल्टाएर हेरेका छैनन् । स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१, असार १४ गते र असोज २ गते गरेर तीन चरणमा सम्पन्न भएको थियो । त्यो समयमा स्थानीय तहको निर्वाचनमा पालिकाका उम्मेदवारहरूले जनताको विश्वास जित्न आकर्षक चुनावी घोषणापत्र बनाएका थिए । तर, चार वर्ष बितिसक्दा पनि उनीहरुले ती प्रतिवद्धताहरु पूरा गर्न नसकेका हुन् । जनप्रतिनिधिहरूले घोषणापत्रमा पालिकावासीको बृद्धभत्ता बढाउनेदेखि फ्लाई ओभर, मोनोरेल, मेट्रोरेल, फ्रि वाईफाई, सडक विस्तारदेखि स्मार्ट पालिका, शिक्षा, स्वास्थ्य, खानेपानी घरघरमा पुर्याउने, सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउनेसम्मका योजना अगाडि सारेका थिए । तर ती सबै योजना र प्रतिवद्धता घोषणा पत्रमै सीमित भएका छन् । निर्वाचित भएर आएको केही महिना नयाँ संघीय संरचना भएको कारणले जनप्रतिनिधिलाई काम गर्न केही समय भयो । तर, हाल धेरै स्थानीय तहमा चाहिने कानुन तथा कार्यविधि यथेष्ट बनाई विकास निर्माणको कामहरू अगाडि बढेका छन् । स्थानीय तहको संरचना बनि जनप्रतिनिधिहरू निर्वाचित भएपछि केही स्थानीय तहमा विकासको गतिले तीव्रता पाएको छ भने केही ठाउँमा भ्रष्टाचार मौलाएको पनि छ । दुर्गम स्थानीय तहमा बजेटको अभाव र भौगोलिक विकटताको कारण सोचेको जस्ताको काम गर्न नसकेको जनप्रतिनिधिहरू बताउँछन् । उनीहरुका अनुसार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि काम गर्न केही असहज भएको छ । निर्वाचनको समयमा जनप्रतिनिधिहरूले घोषणापत्र ठाउँ र अवस्था अनुसार बनाएका थिए । धेरै जनप्रतिनिधिहरूले आर्थिक वर्ष २०७८÷८९ मा पनि योजना सञ्चालन भएका तर पुरा नभएको योजना पुरा गर्ने किसिमले पनि बजेट ल्याएका छन् । चुनावी घोषणापत्र बमोजिम लगभग ६० प्रतिशत काम सम्पन्न भएको ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दाल मल्ल बताउँछन् । आगामी महिनामा गाउँपालिकाले गर्नुपर्ने बाँकी काम सम्पन्न हुने उनको भनाई छ । मल्लले कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्य राखेको बताए । आगामी निर्वाचनमा नागरिकको घरमा बिजुली नपुर्याई भोट माग्न नआउने भनेर पनि नागरिकलाई प्रतिज्ञा गरेको उनको भनाई छ । यस्तै, सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङ भने बोलेको कुरा सबै पुरा गर्न नसक्ने र केही हदसम्म चुनावी बाचा पुरा भएको बताउँछन् । ‘सबै वडामा सडक पुर्याउछौं भनेका थियौं, त्यो काम पुरा गरिसकेका छौं, पालिकाको प्रशासनिक भवन एक महिना भित्र पुरा गरी सक्छौं, वडा कार्यालयको भवनहरू पनि निर्माणाधीन अवस्थामा छं, केही काम गर्नै बाँकी छन्,’ उनले भने । पालिकामा विकास निर्माणको काममा सोचको भन्दा धेरै भएको उनी दाबी गर्छन् । गुरुङ्गका अनुसार आफूले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएका छन् । अब पालिमा विकासको गतीले तीव्रता लिने उनको भनाई छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल भने चुनावी बाचा पुरा गरी सकेको बताउँछन् । पालिकाको विकास सँगसँगै नागरिकको जीवनस्तर उकास्न आर्थिक वृद्धि दर तथा दिगो विकासको लक्ष्यका साथ पालिका अगाडि बढेको उनको भनाई छ । ‘हामी जुन पार्टीबाट लडयौं, जुन पार्टीको घोषणापत्र बोकेर हिडयौं त्यो प्रतिवद्धताहरु पनि पुरा गर्ने र सम्भवतः नेपालका स्थानीय सरकारले प्रतिबद्धता जाएर गरेका सबै काम पूरा गर्ने सरकारको रूपमा छत्रदेव गाउँपालिका नै छ,’ उनले भने ।
केही वर्षमै हाम्रो पालिका स्मार्ट गाउँपालिका बन्न सक्छ- अध्यक्ष मन्यालसँगको कुराकानी
अपिहिमाल गाउँपालिका दार्चुला जिल्लामा अवस्थित छ । यस गाउँपालिकाका अध्यक्ष हुन् धर्मानन्द सिंह मन्याल । उनी गाउँपालिकाको विकास र संवृद्धिको निमित्त निरन्तर खटिरहेका छन् । पालिकावासीको जीवनस्तर उकास्न जुटिरहेका अध्यक्ष मन्याल विशेषतः कृषि, पर्यटन तथा विकास निर्माण लगायतका क्षेत्रमा उदाहरणीय काम गरिसकेका छन् । निरन्तरको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै गाउँपालिकाले पूर्वाधार विकासमा एक पछि अर्को गर्दै फड्को मारिरहेको मन्याल बत्ताउँछन् । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका अथवा चुनावी बाचा ९० प्रति पुरा गरी सकेको पनि उनले भने । उनै अध्यक्ष मन्यालसँग चार वर्षको अवधिमा पालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सार : स्थानीय तहमा निर्वाचित भएको चार वर्ष पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ? स्थानीय सरकार सञ्चालन भए पछि पालिकामा धेरै विकास निर्माणको कामहरू भएका छन् । एक क्षेत्रको मात्र विकास गरेर नागरिकलाई आत्मनिर्भर र संवृद्ध बनाउन सकिँदैन भन्ने कुरा हामीले पहिला नै अनुभूति गरेको विषय हो । त्यस कारणले गर्दा हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । हामी निर्वाचित हुनु अगाडि चन्दा उठाएर विद्यालयहरू सञ्चालन भएका थिए । उक्त समस्याको समाधान गर्नको लागि हामीले दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थाई दरबन्दी तथा करारमा एक सय ७ जना शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । यसका साथै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्त्व पालिकाले दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । पालिकाको प्रशासकीय भवन पनि निर्माणाधिन अवस्थामा छ । यसैगरी पालिकाको १३ सय घर धुरीमा स्वास्थ्य खानेपानी पुर्याउन काम अगाडि बढाएका छौं । १३ सय घरधुरी मध्ये लगभग ११ सय घरमा व्यक्तिगत धारा पुगि सकेको छ । बाँकी रहेका घरहरूमा पनि खानेपानी पुर्याउने कामलाई तीव्रता दिएका छौं भने केही महिना पछि सम्पूर्ण घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यमा छौं । यसैगरी हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । पालिकाको प्रत्येक स्वास्थ्य संस्थामा प्रजनन् केन्द्रको स्थापना गरेका छौं । स्वास्थ्यसंस्थाको भवनहरु निर्माण भएका छन् । १० शैयाको अस्पताल निर्माण गर्ने काम अगाडि बढेको छ । हामीले एक मात्र क्षेत्रमा नभई समग्र पालिकाको विकास निर्माणको काममा लागेका छौं । पर्यटन क्षेत्रमा पनि महत्वपुर्ण काम भएको छ । अनि चुनावी बाचा कत्तिको पुरा गर्नुभयो ? स्थानीय तहको संरचना बनि सकेपछि चुनावको बेला घोषणापत्र लिएर नागरिकको घर आँगनमा गएका थियौं । नयाँ संरचनाले गर्दा त्यति खेर जनतालाई झुटो आश्वासन दिएको थिइनौं । गर्न सक्ने काम पारदर्शी तरिकाले गर्छौं भनेका थियौं । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ९० प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएका छन् । दक्ष कर्मचारी नहुँदा केही समस्या पनि भयो । हाल पनि पालिकको केही वडामा सडक सञ्जाल पुगेको छैन । सडक नहुँदा यातायात सञ्चालनमा समेत समस्या भएको छ । सडक निर्माण गरी नागरिकलाई सहज रुपमा यातातालको पहुँचमा पुर्याउने योजना छौं । पालिकाले पर्यटन विकासको लागि भनेर ८ हजार २ सय ८२ खुड्किला सहितको पर्यटकीय पदमार्ग निर्माण गरी रहेको छ । उक्त खुड्किला मध्ये ६ हजार खुड्किला बनिसकेको छ भने अन्य निर्माणाधिन अवस्थामा छ । कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नुभयो कि भएन ? विभिन्न क्षेत्रमा बिस्तारै सुधार हुँदै आएको छ । तर, हाम्रो लक्ष्य र सोच अनुसारको काम हुन सकेको छैन । हाम्रो कार्यकालमा जग बसाउने काम भएको छ । किनभने हामीले पालिकामा काम गर्नका लागि चाहिने यथेष्ट कानुनको निर्माण गरी सकेका छौं । पालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रियामा अगाडि बढेको छ । हामीले जग बसाउने काम गरेका छौं, विकास अब क्रमिक रूपमा हुँदै जान्छ । हाम्रो कार्यकालमा सकिसकेपछि निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले पनि यसरी नै विकास निर्माण गर्ने हो भने अबको १० वर्ष पछि स्मार्ट गाउँपालिकाको रूपमा पालिका विकास हुन्छ । स्थानीय तहमा गर्नुपर्ने कामका लागि बजेट व्यवस्थापनमा के कस्ता समस्याहरू छन् नि ? पालिकामा बजेटको समस्या नै छ । भूगोलको हिसाबले हाम्रो पालिका जिल्लाकै दोस्रो ठुलो गाउँपालिका हो । जनसंख्याको सबै भन्दा न्यून छ । वर्षक ६ करोड रुपैयाँ बजेट आउँछ । यति बजेटले मात्र पालिकामा धेरै विकास गर्नमा सम्भव छैन । कृषिलाई व्यावसायीकीकरण गर्न गाउँपालिकासँग के-कस्ता योजना छन् ? कृषिलाई व्यावसायीकीकरण गर्नतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । खासगरी हामीले पालिकाको भूगोल अनुसारको पकेट क्षेत्र छुट्याई कृषिको कामहरू अगाडि बढाएका छौं । कृषिलाई अधुनिकिकरण र व्यावसायिकीकरण गर्न नै पालिका लागेको छ । कृषि भनेको स्वास्थ्यसँग पनि जोडिनुपर्छ भनेर अर्गानिक खेतीलाई जोड दिएका छौं । कृषि क्षेत्रमा पनि धेरै राम्रो काम गरेका छौं । पालिकाले कृषकहरूलाई अनुदान पनि दिँदै आएको छ । तपाईं अध्यक्षको रूपमा निर्वाचित भएर आएपछि कति जना बेरोजगार युवाहरुले रोजगारी पाए ? यहाँ रोजगारी धेरै युवाहरुले पाएका छन् । तर, यतै नै युवाले रोजगारी पाए भनेका भन्न सकिएन । पालिकाले स्थानीय रोजगार कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त रोजगार कार्यक्रम मार्फत पनि धेरै युवाहरूले रोजगार पाएका छन् । यस वर्षबाट उपभोक्ता समिति गठन नगर्ने प्रत्येक घरबाट एक जना युवालाई अनिवार्य रोजगार दिने व्यवस्था पनि मिलाउँदै छौं । कृषि, पशुपालन, व्यापार, व्यवसायमा संलग्न भई युवाहरूले रोजगारी मूलक बनि रहेका छन् । युवाहरूलाई लगानी गरी आत्मनिर्भर बन्नाउन खोजेका छौं । व्यावसायिक बन्न चाहने युवाहरूको लागि पालिकाले सहजीकरण गर्दै आएको छ । संघ तथा प्रदेश सरकारसँग कस्तो समन्वय भइरहेको छ ? हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । तर, संघ सरकारसँग जस्तो प्रदेश सरकारसँग समन्वय हुन सकेको छैन । किनभने प्रदेश सरकारमा भ्रस्टाचार मौलाएको देखिन्छ । प्रदेश सरकारले आफ्नै तरिकाले काम गर्ने भएकाले पनि केही समस्याहरू छन् । चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्ता रह्यो ? स्थानीय तहमा काम गर्दागर्दै हामीले सबै कुराहरू सिक्नु पर्छ । मलाई काम गर्न जाने जस्तो लाग्थ्यो तर, निर्वाचित भएर आए पछि मैले केही जनेको रहिन्छु भने अनुभव भयो । जनचाहना अनुसारको सरकार प्राप्त भएको अनुभूति गराउने गरी काम गर्नुपर्छ भन्ने तरीकाबाट हाम्रो कार्यक्रमहरू अगाडि बढेका छन् । गौरवशाली आयोजना सम्पन्न गर्ने योजना बनाएका थियौं । त्यो योजनाअनुसार काम गर्न सकेनौं । बजेट थोरै हुन्छ जनकाङक्षा धेरै हुन्छ । स-साना विकासका काम त धेरै भएका छन् । तर, स-सानो कामको नतिजा चाहिँ नदेखिने कारणले गर्दा पनि सोचेको जस्तो काम गर्न सकिएन । गाउँपालिकाले दार्चुला जिल्लाका अरू स्थानीय तहभन्दा नयाँ गरेको काम के हो ? कामको प्रक्रिया हेर्दा सबैको उद्देश्य र लक्ष्य एउटै होला । गाउँपालिकाले दार्चुला जिल्लाको अरू स्थानीय तहमध्ये केही न केही त फरक गरेको महसुश गरेका छौं । सुरुवाती चरणदेखि नै पालिकालाई अलिकति फरक तरिकाले अगाडि बढाउनु पर्छ भनेर हामी लाग्यौं । हामी पूर्वाधारमा मात्रै जोड नदिएर सामाजिक, आर्थिक शक्तिकरण कसरी हुन सक्छ भन्नेमा अलिक बढि जोड दिएका हौं की भन्ने हाम्रो बुझाई हो । अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? स्थानीय सरकार भनेको नागरिक नजिकैको सरकार हो । हामी जनतासँग प्रत्यक्ष रूपमै जोडिइरहेका छौं । त्यस कारणले गर्दा जनताको हरेक सुख दुःखमा हाम्रो साथ रहने छ । गाउँपालिकालाई संवृद्ध र नमुना बनाउन हामी सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थिति र महामारीको कारणले केही समस्या पनि आए । नागरिकहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सरसल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्छु ।
खोटाङका सबै पालिकामा मंसिर २२ र २३ गते कोरोनाविरुद्ध खोप लगाइने
फाइल फाेटाे खोटाङ । यही मङ्सिर २२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । ‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियानमा छुटेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियान सम्पन्न भएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चौबिसै घण्टा खोप उपलब्ध गराउने तयारी गरेका छौँ ।’ दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७७४ र दोस्रो मात्राको खोप ४० हजार ९७९ जनालाई उपलब्ध गराइएको डिसिसिएमसीका संयोजक दाहालले बताए । ‘सरकारले हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेको छ’, उनले भने, ‘बाँकी रहेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा डेस्क स्थापना गरेर क्रमशः उपलब्ध गराउने तयारी गरेका छौँ ।’ विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लामा सबै नागरिकलाई पुग्ने खोप भने नरहेको जनाइएको छ । जिल्लाका लागि आवश्यक खोप उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले जानकारी दिए । गत वैशाखयता तीन हजार ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको यस जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । विभिन्न समयमा विभिन्न स्थानीय तहका गरी १५ जना स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका जिल्लामा हालसम्म बन्दाबन्दी भने गरिएको छैन । जिल्लामा लकडाउन नगरिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जनाइएको छ । पहाडी जिल्लामा २०० तराई तथा ठूला शहर भएका जिल्लामा ५०० सङ्क्रमित पुगेको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेको थियो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै जिल्लाका स्थानीय तहका विभिन्न ठाउँमा निर्माण गरिएका २३४ श्ययाको संस्थागत आइसोलेशन खाली रहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्लाका स्थानीय तहमा स्थापना गरिएका अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई समेत सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जनाइएको छ । रासस