‘चुनावमा राेजगारी दिन्छु भनेकाले वैशाखी पनि दिएनन्’

जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उनलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए’, उनले दुःखेसो पोखे, ‘तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् ।’ यस्तै भेरी नगरपालिका–११ कटीगाउँका डेढसयभन्दा बढी घरपरिवार हाल ऋणगरी जिविकोपार्जन गर्न बाध्य भएको स्थानीय बताउँछन् । ऋण तिर्नका लागि स्थानीय भारतसहित अन्य मुलुकमा गइरहेका छन् भने केही परिवार गाउँबाट विस्थापितसमेत भइसकेका छन् । निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरेपनि जितेर गएपछि गाउँ फर्केर नआएको कटिगाउँका नरबहादुर वरले बताए । ‘हामी त भोट बैंक मात्रै भयौँ, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्’, उनले भने । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ । वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको वर बताउँछन् । ‘गाउँमा मजदुरी नपाउँदा अधिकांश युवा कमाइ गर्न भारत गएका छन्, पुख्यौली पेशा पनि सङ्कटमा परेपछि जीविकोपार्जनमा समस्या हुँदै आएकोमा कसैले चासो दिएका छैनन्’, उनले भने । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन–चार वर्षदेखि यस गाउँका अधिकांश नागरिक ऋण गर्दै दैनिक गुजारा गर्नुपर्दा गाउँ छाड्न बाध्य बनेका पाइन्छ । हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्याका कुरा वर्षौँदेखि बिर्सिरहेको उनीहरुको गुनासो छ । ‘गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, यसअघिको निर्वाचनमा गरेका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको छ’, कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले भने । लिखित प्रतिबद्धताविना मत नदिने उनको तर्क छ । ‘अहिले त हामी गाउँका सबैले उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौँ’, उनले थपे, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।’ यस भेगका दुई हजारभन्दा बढी परिवार मजदूरी गर्न बाहिर गएको नेपालीले बताए । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेण्डा फेरि दोहोरिएको नलगाड नगरपालिका–३ का गङ्गराम नेपालीले बताए । ‘यसपल्ट पनि हाम्रा लागि फकाउने पूरानै एजेण्डा मात्रै छन्’, उनले भने, ‘अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’ रासस

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

फाइल फोटो बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताए । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उनको भनाइ छ । एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न÷नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ । दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए । रासस

तनहुँका मतदाता भन्छन्- मत हाल्ने तरिका सिकाउन कोही आएन

दमौली । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ । ‘पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन, तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु’, उनले भनिन् । कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन् । ‘अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ’, उनले भनिन् । यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताए । निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उनले बताए । ‘मत कसरी हाल्ने भनेर गाउँ–गाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ’, उनले भने । गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उनको भनाइ छ । व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताइन् । ‘भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला !’, उनले भनिन् । मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँ र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले नमूना मतदान कार्यक्रम गर्याे । नमूना मतदानले मतदान प्रक्रियाबारे जानकारी गराएको र बदर मत कम गराउन सहयोग पुग्ने स्थानीयवासी कृष्णराज वाग्लेले बताए । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बदर मत कम गराउन सचेतना आवश्यकता रहेको औँल्याए । निर्वाचन आयोगले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा सञ्चालन गर्न नसकेकाले राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोको क्रममा मतदातालाई यसबारेमा सचेत गराउनुपर्ने ढकालले बताए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । कार्यालयले मतदान केन्द्रमा पठाउने सामग्री व्यवस्थापनको काम गरिरहेको छ । मतदान केन्द्रमा नियुक्त हुने कर्मचारीसँगै मतपत्र र अन्य सामग्री पठाउने तयारी गरिएको छ । रासस