नछुट्ट्याएको फोहोर महानगरले संकलन गर्दैन : मेयर बालेन

‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि निसन्देहस् खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ । तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन । समाधान तपाईंहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ । महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईंले छुट्याइसकेको फोहोरलाई महानगरले पुनस् एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईंले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ । यो सूचना चाँडो भन्दा चाँडो फैलाउनका लागि आफ्नो परिवार, आफन्त र साथीहरुसँग यसबारेमा कुरा गर्नुहोला । हामी सबै एकै भएर फोहोर विरुद्धको मोर्चामा बनाऔँ । (मेयर बालेन्द्र शाहको सामाजिक संजालबाट)  

काठमाडौं महानगर-१६ का वडाध्यक्षले नै उठाए फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफै उठाउन थालेका छन् । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न छोडेपछि सो वडाका वडा अध्यक्ष मुकुन्द रिजाल आफै लागि परेर फोहोर उठाउन थालेका हुन् । फोहेरको व्यवस्थापन गर्नको लागि रिजाल विहानैदेखि खटिएका थिए । रिजलले ४ गाडी फोहोर उठाएका छन् । सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको थियो । वडा अध्यक्ष नै टोल टोलमा पुगेर फोहोर उठाउन थालेपछि स्थानीयले पनि साथ दिएका थिए ।

यस्तो हुनेछ काठमाडौं महानगरमा सार्वजनिक शौचालयको लोगो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचभागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।