वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउँछु : नगरप्रमुख सिंहसँगको कुराकानी

मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ । महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख राजेशमान सिंहसँग मधेस प्रदेशअन्तर्गत वीरगञ्जस्थित रासस कार्यालयका प्रमुख पुरुषोत्तम सुवेदीद्वारा गरिएको कुराकानीको समपादित अंश : यहाँ महानगरको बागडोर सम्हाल्दै गर्दा यहाँको मुख्य–मुख्य योजना र प्राथमिकता के–के छन् ? वीरगञ्ज महानगरको हकमा मुख्य योजनाभन्दा पनि यहाँ सबैखाले योजना बनाएर सुरुआती चरणबाटै काम गर्नुपर्ने भएको छ । मैले महानगरको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँको सेवा प्रवाह, महानगरले लगाएको ठेक्का, सरसफाइ, फोहर व्यवस्थापनलगायत सबैजसो क्षेत्र अस्तव्यस्त पाइएकाले सुरुबाटै काम गर्नुपर्ने देखिएको छ । आजको दिनमा तपाईँ वीरगञ्जको जुन क्षेत्रमा हेर्नुहुन्छ त्यतै गर्नुपर्ने काम देख्नुहुन्छ । तर यसो भन्दै गर्दा हामीले गर्नुपर्ने केही विशेष कामहरूको सूची पनि बनाएका छौँ । जुन हाम्रो प्रतिबद्धतापत्रमा पनि देख्न सकिन्छ । हामी बोलेर भन्दा पनि काम गरेर देखाउनेमा विश्वास राख्छाैं । हामी एक महिनाभित्रै जनताले अनुभूत गर्ने गरी केही परिणाममुखी काम गरेर देखाउने छौँ । चौतर्फी विकास मेरो मूल एजेण्डा हो, यस महानगरपालिकाको समृद्धि र विकासका लागि म प्रदेश सरकार, केन्द्रीय सरकार र विदेशी दातृ निकायसँग सहकार्य गरी महानगरपालिकालाई समृद्ध महानगरपालिका बनाउने मुख्य योजना छ । वीरगञ्ज मधेस प्रदेशको मुख्य स्थान मात्र नभई आर्थिक दृष्टिकोणले पनि देशकै एक महत्वपूर्ण स्थान हो, आर्थिक विकासका लागि यहाँको योजना के छ ? वीरगञ्ज मधेस प्रदेशको मात्र नभएर मुलुककै आर्थिक विकासमा टेवा दिन सक्ने औद्योगिक क्षेत्र भएको स्थान पनि हो । नेपालको आर्थिक विकासमा वीरगञ्जले हिजोदेखि नै महत्वपूर्ण योगदान दिंदै आएको छ । यसमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ । त्यसैले निजी क्षेत्रको संरक्षण र संवद्र्धन गर्नु महानगरपालिको पनि दायित्व हो । यसका लागि प्रदेश र सङ्घीय कानुन नबाझिने गरी र नियमानुसार मिल्ने सहयोग गरेर यस क्षेत्रको आर्थिक विकासमा भूमिका निर्वाह गर्ने महानगरपालिकाको दायित्व हो । वीरगञ्ज महानगरको वर्तमान अवस्थाका बारेमा जनतालाई जानकारी गराउन श्वेतपत्र जारी गर्ने निर्णय गर्नुभएछ । त्यसको आवश्यकता किन देख्नुभयो ? काम सुरु गर्नुभन्दा पहिला वीरगञ्ज महानगरपालिकाको वर्तमान अवस्था आम महानगरवासीले थाहा पाउन जरुरी हुन्छ । हालम्म महानगरपालिकामा फिल्डमा भन्दा कागजमा बढी काम भएका छन् अर्थात् महानगरपालिकाको विकासका लागि भएका अधिकांश काम पारदर्शी छैनन् । श्वेतपत्रमा हालको अवस्था र त्यसको सुधारका लागि श्वेतपत्र जारी गर्ने तयारी गरेका छौँ । यसले आगामी दिनमा मेरो नेतृत्वमा भए गरेको कामलाई जनतालाई मूल्याङ्कन गर्न थप सजिलो हुनेछ । जनताले तपाईँलाई सिधै आफ्नो कुरा राख्न मिल्ने गरी गुनासो व्यवस्थापन (हेल्पलाइन) केन्द्र स्थापनाको काम किन अगाडि बढाउनुभयो ? जनतालाई परिणाम देखिने गरी काम गर्ने हामी जनप्रतिनिधिको चाहना हुन्छ । मैले पनि निर्वाचनको समयमा जनतासामु गरेका सबै प्रतिबद्धता पूरा गर्नु छ । जनताको सुझाव सल्लाह नलिई म अघि बढ्न सक्दिनँ । तसर्थ अनलाइनबाट सिधै महानगरपालिकाका प्रमुख अथवा मसँग जनताले आफ्नो गुनासो सुझाव, सल्लाह दिन मिल्ने गरी अनलाइन प्रविधि व्यवस्थापनको काम अघि बढाइसकेको छ । यसले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई घनिष्ठ तुल्याउने छ । भौतिक पूर्वाधारको क्षेत्रमा यहाँको प्राथमिकताको योजनाहरू के–के छन् ? कसरी अगाडि बढाउने सोच्नुभएको छ ? सबैभन्दा पहिलो कुरा यस महानगरपालिकाभित्र सडक सञ्जाल विस्तार गर्ने र त्यसलाई स्तरीय बनाउनु हो । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाका सबै वडामा अझसम्म सडक सञ्जाल पुग्न सकेको छैन । त्यसैले सबै वडालाई सडक सञ्जालमा जोड्ने मेरो मुख्य लक्ष्य छ । त्यसपछि नाला, कल्भर्ट, पुलपुलेसालगायतका अन्य आवश्यक भौतिक पूर्वाधारण निर्माणको काम अघि बढाइने योजना छ । व्यवस्थित सडक सञ्जालले महानगरपालिकाभित्रका अन्य विकास निर्माणका काम गर्न पनि सहज हुन्छ । जनशक्ति विकासको लागि प्रमुख आधार मानिएको शैक्षिक क्षेत्रको विकासको लागि यहाँको योजनाहरू के छन् ? विशेषगरी गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथमिकता हो । शिक्षामा खेलवाड गर्न पाइँदैन, सामुदायिक विद्यालयमा पनि निजी विद्यालय सरह शैक्षिक गुणस्तर सुधार गर्ने मेरो योजना छ । शिक्षा क्षेत्रमा मूलरूपमा दरबन्दीको पनि समस्या देखिएको छ । त्यसलाई हल गर्नका लागि हामी सबै विद्यालय र शिक्षकको विवरण सङ्कलन गर्छौँ । आवश्यकताको आधारमा बढी भएको स्थानबाट दरबन्दी कटौती तथा कम भएको स्थानमा थप गर्ने, यसका साथै शिक्षकहरूलाई तालिम तथा विद्यार्थीलाई नैतिक शिक्षा दिएर विद्यालयमैत्री वातावरणको सिर्जना गर्ने हाम्रो योजना रहेको छ । वातावरण बनाइसकेपछि हामीले वीरगञ्जको शिक्षालाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउने छौँ । भएका विद्यालयमा पनि प्राविधिक कक्षाहरू सञ्चालन गर्ने र नयाँ पूर्ण प्राविधिक विद्यालय स्थापना गर्ने भनेर हाम्रो प्रतिबद्धतापत्रमा समेत उल्लेख गरेका छौँ । त्यसलाई मूर्तरुप दिने गरेर हाम्रो काम अगाडि बढ्छ । निजी शैक्षिक संस्थाहरूलाई पनि कानुनी दायरामा ल्याएर सहजीकरण गरिने योजना छ । स्वास्थ्य क्षेत्रको सुघारका लागि यहाँको योजना के छ ? समग्ररूपमा महानगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतीलाई विज्ञहरूको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ । महानगरपालिका क्षेत्रभित्र रहेको सरकारी वा निजी स्वास्थ्य संस्थालाई पनि आवश्यकताअनुसार नियमन गरिने छ । स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा वीरगञ्जमा सङ्घीय सरकारअन्तर्गतको नारायणी अस्पताल मात्र देखिन्छ, यो क्षेत्रमा यहाँको योजना के छ ? नारायणी अस्पताल सङ्घीय सरकारको मातहतमा भए पनि आखिर वीरगञ्ज महानगरपालिकाभित्रै छ । महानगरवासीले पनि सेवा लिएकै छन् । गुणस्तरीय सेवा र सेवा वृद्धि गर्न महानगरपालिकाले के गर्न सक्छ, नारायणी अस्पतालसँग हातोमालो गर्न तयार छौँ । यस अस्पतालबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम गर्नेछौँ । महानगरपालिका फोहरमैला व्यवस्थापन पनि ठूलो चुनौतीको रूपमा रहेको छ । यसलाई कसरी समाधान गर्न योजना बनाउनुभएको छ ? फोहर व्यवस्थापन हुन नसकेकै कारण वीरगञ्जमा बढी प्रदूषण पनि देखिएको छ । सबैभन्दा पहिला त २० औँ वर्षदेखि सफा हुन नसकेका ठूला नाला सफाइ तथा अन्य नालाहरू पनि सफाइ गर्ने काम हामीले सुरुआत गरी नै सकेका छौँ । दोस्रो महत्वपूर्ण कुरा फोहर व्यवस्थापनको लागि यहाँका नागरिकले पनि उत्तिकै साथ दिन जरुरी छ । यसको पूर्वाधार विकासका लागि महानगरपालिकाले सहयोग गर्न तयार छ । हामीले सडक धेरै बढा¥यौँ । अब फोहर व्यवस्थापन गर्न नजानेका अथवा अज्ञानता भएका नागरिकको दिमाग बढार्न जरुरी छ । सोचाइबाट फोहर बढार्न सकिएको खण्डमा धेरै हदसम्म फोहर आफैँ व्यवस्थापन हुने कुरा हो । विदेशी मुलुकहरूमा हेर्ने हो भने फोहर व्यवस्थापनमा राज्यले धेरै लगानी गरेको पाइँदैन । व्यवस्थापनमा बढी जोड दिएको पाइन्छ । वीरगञ्ज महानगरपालिकाको हकमा फोहर व्यवस्थापनको नाममा वार्षिक करिब रु नौ करोडभन्दा बढी खर्च गरेको पाइन्छ । तर पनि सुधारको अवस्था छैन । यसअघिको नेतृत्वले पनि फोहर व्यवस्थापनबारे कुनै प्रभावकारी कदम चालेको पाइएन । त्यसकारण हामीले अहिले जारी गर्ने भनिएको श्वेतपत्रमा पनि यी विषयहरूलाई समेट्ने छाैं। त्यसपछि विज्ञहरूको राय लिएर नयाँ शिराबाट फोहर व्यवस्थापनको काम गरिनेछ । महानगरपालिका देखिएको सेवाप्रवाह ढिलाइसुस्ती र लापरवाहीलाई कसरी व्यवस्थापन गर्ने यहाँको योजना के छ ? सबैभन्दा पहिलो कामका प्रकृति क्षमता र क्षमताअनुसार कर्मचारीहरूलाई दक्षता र सीपका आधारमा जिम्मेवारी बाँडफाँट गर्छु । वडासम्म दिन सकिने अधिकारलाई वडासम्म जनताको कामबिना लापरवाही बिना झन्झिटलो बनाउने कोसिस गर्छु । यद्यपि सबै कर्मचारीलाई पनि खराब छन् भनेर म भन्दिन तर पनि केही खराब प्रवत्तिका कर्मचारीलाई एकपटक सुधार गर्ने मौका दिन्छु । सुधार नभए नियमानुसार कारबाही प्रक्रिया अघि बढाउँछु । यहाँ समग्र यो महानगरपालिको प्रमुख भइरहँदा यहाँले यो पदको अवसर र चुनौतीलाई कसरी लिनुभएको छ ? अवसरभन्दा चुनौतीको पहाड मेरो अगाडि रहेको छ, त्यसलाई मैले पूरा गर्न सक्छु भनेर नै मैले स्पष्ट सोच र योजना बनाएको छु । पहिले थालनी गरेर पूरा नभएका धैरे योजनाहरू अलपत्र परेका छन् । फिल्ड वा वास्तविक स्थानमा भन्दा कागजमा बढी प्रगति देखाइएको छ, भएका काम पनि गुणस्तरयुक्त छैनन् । यी सबै चुनौतीको सामना गरी आम महानगरवासीको हितका लागि शून्य भ्रष्टाचार महानगरपालिका बनाउने लक्ष्य छ । भ्रष्टाचारले सुशासन हुन दिंदैन । सुशासनबिना विकास सम्भव हुँदैन । अन्यमा केही भन्न चाहनुहुन्छ ? म जनताको महानगरपालिकाको प्रमुख भएर होइन, जनताको सेवक भएर काम गर्न चाहन्छु । सबै जनताबाट म सुझाव, सरसल्लाह र सहयोगको अपेक्षा गर्दछु । सहीलाई सही र गलतलाई गलत भन्न म सबैमा अनुरोध गर्न चाहन्छु । यदि मैले गलत गरेको छु भने राजेशमान तैंले गलत गरिस् भनेर मलाई जनताले भन्नुप¥यो, सही काम गरेको छु भने पार्टीभन्दा माथि उठेर मलाई साथ दिन पनि म सबैमा अनुरोध गर्न चाहन्छु । नेतृत्व लिएको एक सय दिनसम्ममा जनतालाई महसुस हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

पोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए । उनका अनुसार बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न सङ्घ सस्था र रेष्टुराँका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुईपक्षीय सम्झौता गर्ने निर्णय भएको छ । यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको छ । बैठकले छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालीन सेवा तत्काल गर्ने निर्णय भएको छ । पोखराका खाल्डाखुल्डी पुर्नसमेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको रिजालले जानकारी दिए । त्यस्तै झण्डै तीन किलोमिटरको चार लेन सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । रासस

‘घर-घरमा मात्रै होइन बेशीका सबै गोठहरुमा पनि बिजुली पुर्याउँछु’

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा सुरेन्द्र कुमार उदास विजयी भए । पदभार ग्रहणसँगै उनले नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । लामो समय शिक्षण पेशामा रहेका उदासले अब शिक्षासँगै हरेक क्षेत्रको सुधार र परिवर्तनको अपेक्षा नगरवासीले लिएका छन् । नगरलाई सुन्दर, पूर्वाधार विकासमा उच्चतम फड्को मार्ने सोच राखेका उदासले ५ वर्षे योजना बनाई अगाडि बढ्ने सोच बनाएको बताउँछन् । उनै नवनिर्वाचित मेयर उदाससँग आगामी गर्ने काम कारवाही, समग्र नगरेको पूर्वाधार विकास र आगामी योजना लगायतका विषयमा विकासन्युजका राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : षडानन्द नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुभएको छ, के कस्ता कामलाई प्राथमिकता दिने सोच बनाउनु भएको छ ? हामीले पदभार ग्रहणसँगै नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भनिसकेका छौं । नगरपालिका ३ वटा एम्बुलेन्स सेवाको उपलब्ध गराई ४ वर्गको लागि निःशुल्क सेवा उपलब्ध गराउने भएको छौं । जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती तथा सुत्केरीहरू, दुर्घटनामा परेर घाइते भएकाहरू र आपत् विपदमा परेकाहरूलाई सो सेवा लिन सक्ने छन् । यस्तै, हरेक क्षेत्रको क्रमागत विकास गर्ने सोच बनाएको छु । नगरपालिकामा देख्नुभएको प्रमुख समस्या के हो ? नगरमा समस्या धेरै छन् । योजना विहीन तरिकाबाट विकासका कामहरू अगाडि बढेका छन् । पैसा गएको देखिन्छ तर त्यसको उपलब्धि भने छैन । करोडौं लगानी गरेर बनेका परियोजनाहरू अलपत्र अवस्थामा छन् । नगरमा सुशासनको प्रत्याभूत मैले देखिनँ । कामको ढिलासुस्ती भएको महसुस गरिरहेको छु । नगरपालिकाबाट प्रदान गरिने सेवामा निष्पक्षता र पारदर्शिता कायम भएको पाइनँ । २०७४ साल निर्वाचित हुन भएका वडा अध्यक्ष सदस्य तथा कार्यपालिका सदस्यहरूलाई एउटा बैठकको कार्यविधिसम्म उपलब्ध गराइएन । उहाँहरूले कसरी बन्यो, कसरी चल्यो भन्ने थाहा नै पाउनु भएन । अस्तव्यस्त तरिकाबाट योजना विहीन ढङ्गले नगरपालिका चलिरहेको हुनाले यहाँ समस्याहरू धेरै छन् । यी समस्याको समाधान गर्न तथा सुलभ तरिकाबाट जनतालाई सेवा उपलब्ध गराउन प्रणालीको विकास गर्छु । सो प्रणाली आधुनिक प्रविधि र जनमैत्री पनि हुन्छ । खासगरी निमुखा जनताहरूले सहज रूपमा सेवा प्राप्त गरुन् र आवश्यकताको आधारमा हामीले महत्वपूर्ण योजना अगाडि बढाउन सकियोस भन्ने गरी आफ्नो कदम अगाडि बढाउने छु । अघिल्ला निर्वाचित नगरप्रमुखले पालिकामा कस्तो काम गरेको पाउनुभयो ? उहाँहरूले कति पनि काम गर्नु भएन भन्दिनँ । नगरभित्रका सानादेखि ठूला कामसम्म नगरप्रमुखसँग जोडिएको हुन्छ । नगरप्रमुख एक अधिकार सम्पन्न पद पनि हो । पहिलाको नेतृत्वले सबैलाई समेटेर एकताबद्ध गरेर पारदर्शी हिसाबले जवाफदेहिता ख्याल गरी जिम्मेवारीबोध हुनेगरी काम गरेको भने देखिएन । हामीले गरेको काम पारदर्शी तथा जवाफदेही होस भन्ने जनभावना अनुसार हामी चल्ने हो । कुनै पनि राजनीति पूर्वाग्रह नराखी नितान्त नगरबासीको उन्नति र समृद्धिको लागि नगरको विकासको लागि सबै जनप्रतिनिधिहरूलाई एक साथ अगाडि बढ्ने भन्ने लक्ष्य राखेको छु । हामी एक भएर अगाडि बढ्न सक्यौं भनेमात्र नगरेका ठोस योजना बनाउन सक्छौं । नगरको आवश्यकता बुझी योजना बनाई कार्यान्वयन गर्न सक्यौं भने सबैलाई सहज हुन्छ । यसरी नै मैले अगाडि बढ्ने योजना बनाएको छु । पूर्वाधारको विकासमा नगरपालिका निकैपछि छ भन्दा फरक नपर्ला, सडक निर्माण भएका छन्, तर त्यसको कालोपत्रे, स्तारोन्नति भने अहिलेसम्म हुन नसक्दा स्थानीहरू बर्सेनि सास्ती खेप्दै आएका छन्, अब तपाईको कार्यकालमा नगरभित्र सडकको क्षेत्रमा के काम गर्ने सोच बनाउनु भएको छ ? सडक पिच गर्नको लागि नगरको बजेटले मात्र सम्भव हुँदैन । त्यसैले हरेक निकायसँग समन्वय गरेर स्रोत जुटाई पिच गर्ने योजना अगाडि बढाउने छौं । प्रदेश र संघ सरकारसँग समन्वय गरेर विभिन्न राजनैतिक दलका साथीहरूसँग पनि सहकार्य गरी सडक पिच गर्ने सोच बनाएको छु । भोलि जुनसुकै पार्टीको सरकार बने पनि सबैसँग मिलेर अगाडि बढ्ने वातावरण मैले बनाउनु पर्छ । जुन वातावरण हिजोको दिनमा बनाइएको थिएन । सतिघाटदेखि दिङ्लासम्म पिच गर्ने छौं । त्यस्तै दिङ्लादेखि भोजपुर सदरमुकामसम्म पिच गर्ने हाम्रो योजना हो । सो सडकको पिच गर्नको लागि अहिलेदेखि नै सम्बन्धित निकायसँग पहल गरिरहेको छु । तुर्के घाटसम्म प्रदेश र संघ सरकारको सहयोगमा भइरहेको सडक पनि सम्पन्न गर्ने तरिकाले अगाडि बढाइने छ । नगरको उत्तर साइडको वडाको केन्द्रसम्म जोड्ने सडकको विकास तथा विस्तार गर्ने सोचमा छु । यही आर्थिक वर्षबाट नगरभित्र सडकहरूलाई बाह्रै महिना सञ्चालन गर्न सक्ने सुरुवात गर्ने छु । मेरो कार्यकालभित्र ५० किलोमिटर सडक पिच हुन्छ भन्ने आशा छ । यहाँ आरसीआईटी कार्यक्रमको लन्च भएको छ । सो कार्यक्रमले सडक पिच गर्न सहयोग पुर्याउदो रहेछ । सो कार्यक्रम एसीयाली विकास बैंकको सञ्चालन भएको भन्ने मलाई सामान्य जानकारी आएको छ । यस विषयमा म कुरा बुझ्दैछु । यो प्रोजेक्ट ल्याउन सकियो भने नगरभित्र बढी नै सडक पिच गर्न सकिन्छ । यस्तै, अरुण नदीमा पक्की पुल निर्माण गर्न नसक्दा चुनौंतिको विषय देखिरहेका छौं । सो खोलामा पुल नहुँदा यातायात आवत जावतदेखि मानिसलाई पनि समस्या परेको छ । अहिले अरुण नदीमा नै बालुवाबेशी कात्तिके र उता संखुवासभाको च्याबेशीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको काम पनि द्रुत गतिमा हुन सकेको छैन । यसको कामलाई तीव्रता कसरी दिन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिरहेका छौं । उक्त पक्की पुल निर्माणको कामलाई तीव्रता दिने मेरो पहल रहने छ । अरुण नदीमा एउटा पक्की पुल भए पनि नगरवासीको ठूलो उपलब्धी र हाम्रो आस्थाको किरण त्यहाँबाट सुरु हुन्थ्यो । कात्तिकेको पुल निर्माणमा ठेक्दारले नै बिस्तारै काम गरिरहेको छ । यस विषयमा सडक विभागसँग गएर पनि कुरा गर्ने योजना बनाएको छु । शैक्षिक संरचनाहरू नगरभित्र धेरै निर्माण भएका छन्, तर शैक्षिक गुणस्तर भने विद्यालयमा देखिँदैन, आगामी पाँच वर्षसम्म तपाईंले नगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ ? म आफै प्रधानाध्यापक भएर पनि लामो समयसम्म काम गरेको छु । कतिपय शिक्षा क्षेत्रको समस्या म आफैलाई पनि थाहा छ । कस्तो किसिमको योजना बनाएर अगाडि बढ्यो भने यसको गुणस्तर उकास्न र सिकाइ उपलब्धि अझै वृद्धि गर्न सकिन्छ भन्ने बारे मलाई पनि जानकारी छ । यस विषयमा विज्ञहरूसँग पनि बसेर यस्तो किन भइरहेको छ भने विषयमा छलफल गर्ने नै छौं । भौतिक पूर्वाधारको हिसाबले पनि करिब सम्पन्न भइसक्यौं । शिक्षकहरूको व्यवस्थापन पनि त्यस्तो दयनीय छैन । अधिकांश विद्यालयमा पर्याप्त शिक्षक साथीहरू हुनुहुन्छ । युवा साथीहरू पनि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । यस्तो हुँदा पनि हाम्रो शिक्षा सिकाई उपलब्धि किन घटिरहेको छ, किन गुणस्तर वृद्धि हुन सकेन, यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा हामी सबैसँग छलफल गर्ने नै छौं । शिक्षा क्षेत्रमा छलफल गर्नको लागि यस क्षेत्रका विज्ञ, प्रधानाध्यापक, समितिसँग अन्तरक्रिया गरेर षडानन्द शिक्षा सुधार योजना बनाउने भन्ने मेरो लक्ष्य छ । सो योजना बनाई कार्यान्वयन गर्ने उद्देश्य मेरो छ । पदभार ग्रहणसँगै नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भनिसक्नु भएको छ, अझै पनि नगरका स्वास्थ्यचौकीमा बिरामीहरूको आवश्यकता अनुसारको औषधी समेत पाउन मुस्किल छ, अब स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ? स्वास्थ्य क्षेत्रमा व्यवस्थापनको कमजोरी हो जस्तो लाग्छ । किनभने औषधीको व्यवस्थापन गर्ने जिम्मा नगरको पनि हो । यसमा हामीलाई केन्द्र सरकारको सहयोग प्राप्त हुन्छ । स्वास्थ्यचौकीमा पर्याप्त स्वास्थ्य जनशक्ति छैन । भएको जनशक्ति पनि नगरको कारणले गर्दा निराशजनक देखिन्छन् । नगरभित्रका स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीहरूका समस्याहरूको सुनुवाइ नभएको कारण ठूलो गुनासो छ । अब म त्यो कुरा हुन दिन्नँ । उनीहरूको गुनासो म सुन्छु, भौतिक पूर्वाधार बनाउने कुरामा पनि जोड दिन्छु । टिमवर्क राम्रो भयो भनेमात्र जनशक्ति वा कर्मचारीहरू काममा उच्च मनोबलको साथ लाग्छन् । त्यो वातावरणको सिर्जना म गर्छु । कर्मचारी नियुक्ति गर्दा पनि निष्पक्ष तरिकाबाट हुने व्यवस्था मिलाउने छु । पाँच वर्षभित्रमा षडानन्द नगरपालिकाको नगर अस्पताल बनाउने सोचमा छु । गौचरणमा भएको अस्पतालमा नै भवन बनाउनको लागि जग्गा उपलब्ध गराउनु पर्ने देखिन्छ । सो ठाउँमा जग्गा धेरै छ । तर ऐलानी जग्गा छ । त्यहाँ जग्गाको व्यवस्थापन गरी भवनको माग गर्ने भनेर माथिल्लो निकायबाट प्रस्ताव पनि आएको रहेछ । तर नगरपालिको एउटा पनि डीपीआर बनाएर पठाएको रहेनछ । नगरभित्र भएकै भवनहरू पनि सञ्चालनमा आउन सकेको छैन । विगत लामो समयदेखि महात्मागान्धी अस्पताल भनेर भारतीय दूतावासले बनाइदिएको अस्पतालको भवन खाली छ । त्यो भवनलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ यहाँका विभिन्न निकायसँग छलफल गरिरहेका छौं । दूतावासले उद्घाटन गरेर गयो । तर, रित्तो घरमा मात्र उद्घाटन भयो । त्यो भवन पनि प्रयोग गर्नेछौं । मेरो कार्यकाल भित्र नै षडानन्द नगरपालिकाको एउटा नगर अस्पताल हुन्छ । तपाईंको ५ वर्षको कार्यकालपछि षडानन्द नगरपालिका कस्तो बन्छ ? हाम्रो ५ वर्षीय योजना बनिसकेपछि मात्र यस्तो बन्छ भन्न सक्छौं । पाँच वर्षमा सुन्दर षडानन्द बनेको सबैले देख्नुहुन्छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अंग्रेजी भाषामा सक्षम बनाउने उद्देश्य पनि राखेको छु । शिक्षा सिकाई उपलब्धि वृद्धि हुन्छ । नगरभित्र नै एउटा कृषि क्याम्पस हुनेछ । प्राविधिक शिक्षालय पनि सञ्चालन हुनेछ । नगरपालिको कार्यालयदेखि वडा केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने अवस्थाको सिर्जना गर्नेछौं । कृषिमा व्यवसायीकरणको उभार आउँने छ । कृषिमा आत्मनिर्भरता मात्र नभई अन्य ठाउँमा निर्यात गरी अन्य ठाउँमा पठाउन सक्षम हुने छौं । जनजीवनको सुधार अवश्य हुने छ । दुर्घटना परी मृत्यु भएकाहरूको लागि एउटा शव वाहनको पनि व्यवस्था मिलाउने छौं । हरेक क्षेत्रमा सुधार र परिवर्तन ५ वर्षभित्रमा देख्नु हुनेछ । हरेक ठाउँमा बिजुली पुर्याउने छु । गाउँका घर र बेशीका गोठहरुमा पनि बिजुली पुर्याउने छु । पाँच वर्षपछि षडान्नद नगरपालिकालाई नमुना नगरको रूपमा देख्न सकिन्छ ? नमुना नगर हुन्छ भनेर भन्न सकिँदैन । तर, नमुना नगर बनाउने आधारसिला चाहिँ म तयार पार्छु ।