घरबहाल विवरण बुझाउने न्यून

काठमाडौं । यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्छ । घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि काठमाडौं महानगरपालिकाको प्रयास प्रभावकारी हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले गत फागुन २ मा निर्देशिका नै जारी गरी घरबहालमा दिनेलाई करको दायरामा ल्याउन गरेको प्रयास प्रभावकारी नदेखिएको हो । महानगरका अनुसार अहिले तीन/चार दिनमा एक/दुई जना मात्रै विवरण बुझाउन आउने गरेका छन् । महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरेको थियो । महानगरका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेका अनुसार हाल महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने महानगरको योजना छ । ‘गत आर्थिक वर्षमा ३९ हजार करको दायरामा आउनुभएको थियो’, उनले भने, ‘चालु आवको फागुनसम्म जम्मा नौ हजार दुई सयले मात्रै विवरण बुझाउनुभएको छ ।’ महानगरभित्रका सबैलाई करको दायरामा ल्याउने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिकासँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी भइसकेको छ । महानगरपालिकाले बहाल कर वापत चालु आवमा दुई अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म एक अर्ब ४८ करोड १३ लाख असुल भइसकेको राजस्व विभाग प्रमुख काफ्ले जानकारी दिए । ‘घरबहाल विवरण बुझाउनेको सङ्ख्या अहिले कम छ तर जेठ र असारमा कर तिर्न आउँदा यो सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ’, उनले भने । के छ निर्देशिकामा ? निर्देशिका अनुसार कुनैपनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएकोबारकोे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरघनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ । निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सो समेत उल्लेख हुनुपर्छ । निर्देशिका अनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्छ । त्यसैगरी बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्ने छ भने त्यसको जानकारी वडा कार्यलयमा गराउनुपर्छ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउन सकिने व्यवस्था निर्देशिकामा छ । कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्छ । रासस

हेटौँडामा छिट्टै विद्युतीय तार भूमिगत गरिने

बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको २०औं कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट विस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ । उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । रासस

२ वर्षदेखि भाडा नतिर्ने आइएमईसहित २६ व्यवसायीलाई १५ दिनभित्र खालि गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वर्षदेखि घाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र खालि गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ गोंगबु स्थित गल्फ रियल स्टेटको नाममा रहेको जग्गामा निर्मित घरटहरामा सञ्चालन भएका व्यवसायहरुलाई १५ दिनभित्र खालि गर्न निर्देशन दिएको हो । गोंगबु स्थित गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता कित्ता नम्बर २२७, ७७ २९० २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरुमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई १५ दिनभित्र खालि गर्न भनेको हो । साथै व्यवसायीहरुले करिब २ बर्षदेखि भाडा रकम नतिरी जवरजस्ती स्थान ओगटेको र भाडा रकम माग्दा विभिन्न धाक धम्की दिने गरेको महानगरपालिकाले बताएको छ । नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम विभिन्न २६ जनालाई १५ दिन भित्र उपस्थित हुन अनुरोध गरेको छ । उक्त जग्गामा घरटहरा बनाएर व्यवसाय सञ्चालन गरिरहेका न्यू बेबी ल्यान्ड, राजकुमार थापा, राजेन्द्र कुमार ओझा, रुद्र, राम लामा, लकी सुज, भिम बि.क., प्रदिप खड्का, सन्तोष सिवाकोटी, गणेश शाक्य, नारायण गौतम, राजेन्द्र दवाडी, बिग थकाली, सन्तोष घिमिरे, ब्युटी पार्लर, सुष्मा घिमिरे, प्रदिप सुवेदी, दिपेन्द्र आचार्य, सुरेन्द्र ठाकुर, के.पी. बर्ताैला, बिरेन्द्र गुरुङ, लाल कुमार आचार्य, रिना, आई.एम.ई., हजुरको खाजा घर र माईको बस समितिलाई १५ दिनभित्र खालि गर्ने भनेको हो ।