नेपालगञ्जमा आयुर्वेद उपचारको आकर्षण बढ्दै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्ट्रेकाकी सुमित्रा सुवेदीलाई थाइराइड र ग्यासट्रिकले सताउन थालेको धेरै वर्ष भयो । उनले धेरै औषधि गर्नु पनि भयो तर, समस्या कम नभएपछि आयुर्वेदिक औषधि खान सुरु गरिन् । उनले आयुर्वेदिक औषधि खान थालेको चार महिना भएको छ । ‘अरू औषधि जति खाए पनि काम गरेन, महँगो भए पनि आयुर्वेदिक औषधिको ‘साइडइफेक्ट’ छैन’, उनले भने, ‘स्वास्थ्यचौकीले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क दिने भएकाले राहत भएको छ ।’ नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको चासो बढ्न थालेको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीमा आयुर्वेद उपचार पद्धतिप्रतिको चासो बढेको पाइएको हो । बाँके आयुर्वेद केन्द्रका प्रमुख डा अनिलकुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । ‘कोरोनाअघि आयुर्वेद सेवाबारे नागरिकमा चासो थिएन, सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन’, डा चौधरीले भने, ‘कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो, सरकारले पनि विभिन्न कार्यक्रम गरी जनमानसमा आयुर्वेदप्रतिको भरोसा बढायो ।’ कोरोनापछि सङ्घ र प्रदेश सरकारले विभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वबारे जानकारी दिनेदेखि क्वारेन्टिनमा बसेका बिरामीलाई निःशुल्क औषधि वितरण गरी स्वास्थ्यलाभ भएको हुँदा अहिले आयुर्वेद उपचार गराउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको डा चौधरीले जानकारी दिए । विपन्न वर्गका महिलाले बच्चा जन्माइसकेपछि खानपानको कमीले गर्दा बच्चालाई आमाको दूध नपुगेको अवस्थामा स्तनपान सेवाअन्तर्गत दूधवद्र्धकका लागि कुरिलोको चूर्ण र दशमूल तेल निःशुल्क उपलब्ध गराइरहेको छ । सरकारी दरमा ल्याब सेवा पनि सञ्चालनमा ल्याइएको छ भने नसर्ने रोग र दीर्घ जीवनका लागि बिहान ५ देखि ६ः३० बजेसम्म योग कक्षा पनि सञ्चालन भइरहेको छ । केही वर्षअघिसम्म पाँचदेखि १० जना उपचारका लागि आउने गरेकामा अहिले भने दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गरेको वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले जानकारी दिए । प्रदेश सरकारमार्फत पाँच करोड रुपैयाँको लगानीमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ । त्यसमा आयुर्वेदका आठवटै अङ्गका विशेषज्ञसहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । डा रेग्मीका अनुसार अधिकांश बिरामी पाइल्स, फिसर, फिस्टुला, बाथ, आँखासम्बन्धी रोग, पेटसम्बन्धी रोग, नसारोग, महिलाको सेतो पानी बग्नेलगायतका बिरामी उपचारका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । पछिल्लो तथ्याङ्कानुसार आव २०७७/७८ मा २२ हजार छ सय ६९ ले आयुर्वेदको सेवा लिएका थिए । त्यसमध्ये महिला १० हजार नौ सय ३४ रहेका थिए भने ११ हजार सात सय ३५ पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै आव २०७८÷७९ मा ३५ हजार दुई सय ६८ ले सेवा लिएका छन् । त्यसमध्ये १७ हजार तीन सय ८२ महिला र १७ हजार आठ सय ८६ पुरुषले आयुर्वेद सेवा लिएका छन् । आयुर्वेद केन्द्रमा उपचारका लागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामी आउने गरेको डा रेग्मीले बताए । दैनिक बिरामीको सङ्ख्या वृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । केन्द्रले न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ । रासस
धुलिखेलवासीले पाए ४६ वर्षपछि जग्गाधनी पुर्जा
धुलिखेल । धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका दुईसय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन् । तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन् । यसयता विसं २०५४ का जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताए । उनले भने, ‘त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमाङ्कन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन ।’ उनका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय र पहलमा नागरिकले भूकम्पपछिको पुनर्निर्माण गर्न सम्भव भएको थियो । विसं २०६७ मा डिजिटल नापी कार्यालयमार्फत पुनःनापी गरिए पनि सिमाङ्कन विवाद, भुकम्प, कोरोनालगायतका कारण देखाउँदै प्रक्रिया अघि नबढाइएको बताइन्छ । उनले पुर्जा तयार भएका जग्गा धनीलाई सोमबारदेखि पुर्जा वितरण गरेका छन् । ‘प्रक्रिया पु¥याइ पुर्जा तयार भएर आएकालाई क्रमैसँग वितरण गर्दै गइनेछ’, उनले भने । डिजिटल नापी कार्यालय बनेपाले भने पुर्जा पाउन छुट भएका नागरिकलाई ६० दिनभित्र कागजातसहित प्रक्रियामा आउन भनेको छ । कार्यालय प्रमुख सरस्वती धितालका अनुसार डिजिटल नापी सुरुभएको १३ वर्षपछि पुर्जा वितरण गर्न सम्भव भएको हो । ‘छुट भएका नागरिकलाई ६० दिनभित्र प्रक्रियामा आउन अनुरोध गरेका छौँ’ उनले भने । उनका अनुसार १ सय २० दिनपछि सबै श्रेस्ता मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी प्रक्रिया रहेकाले नागरिकलाई समयमै उजुरी गर्न अनुरोध गरिएको हो । कार्यालयले पुर्जा भएका नागरिकलाई पनि नयाँ प्रणालीअनसार डिजिटल पुर्जा वितरण गर्दै आएको छ । श्रीखण्डपुरमा विसं २०३४ सालमा नापी भएको २०७ नं कित्ताको एक प्लटमा २८ रोपनी ५ आना जग्गामा २०६६ सालसम्ममा ८५ घर परिवारको बसोबास रहँदै आएको थियो । उक्त स्थानमा एक आना मात्रै जमिन भएका नागरिकको पनि बसोबास रहेको छ । स्थानीय नागरिक पुर्जा प्राप्त भएपछि खुसी भएका छन् । स्थानीयले पुर्जा नहुँदा ‘अचल जमिन’ बैकमा राखेर गर्जो धान्नसमेत सकेका थिएनन् । भूकम्पका समयमा पनि पुनर्निर्माणका लागि सम्झौताका लागि पुर्जा अनिवार्य गरिँदा लामो समय अनुदानबाट सोही क्षेत्रका नागरिक बञ्चित रहेको वडाध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए । ‘अझै केही प्लटको जमिन डिजिटल नापी हुन बाँकी रहेकाले छुट भएका नागरिकको पुनः नाप जाँच गराएर पुर्जा वितरण गर्ने प्रक्रियाका लागि सहजीकरण गर्दै जानेछौँ’ उनले भने । उनका अनुसार जग्गाधनी पुर्जा पाएपछि यसअघि भोग्नुपर्ने नागरिकता प्राप्ति लगायतकै समस्याबाट स्थानीय मुक्त भएका छन् । अबका केही दिनमा साबिक श्रीखण्डपुर गाविस–१ का ३२, वडा नं २ का ९३ र वडा नं ३ का १ सय पाँच जनाले डिजिटल नापी पछिको पुर्जा प्राप्त गर्ने जनाइएको छ । नापी कार्यालयका अनुसार पूर्जा दिने तयारी भएका नागरिकको जग्गा हालसाबिक भैसकेको छ । नगर कार्यालयले यसअघि धुलिखेल नगरको वडा नं ८ र ९ मा पर्ने श्रीखण्डपुरमा ८ न वडाका नागरिकलाई पुर्जा वितरण गरिसकिएको छ । यो प्रक्रियालाई निरन्तर अघि बढाइनेसमेत नगरपालिकाले जनाएको छ । रासस
वालिङ नगरपालिकाले दिन थाल्यो श्रम स्वीकृति
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको नगरप्रमुख कृष्ण खाणले बताए । श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले नगरपालिकाले सोमबारदेखि काम सुरु गरेको उनले जानकारी दिए । श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपीसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक पवन बस्यालले बताए । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो । ‘प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ’ संयोजक बस्यालले भने, ‘आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाईनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने ब्यवस्था छ ।’ श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौं जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइएकाले सहज भएको वडा नं १३ का सुरज श्रेष्ठले बताए । वैदेशिक रोजगारीका लागि साउदी अरेविया जान लागेका उनले नगरपालिकाबाट पुनःश्रम स्वीकृति लिने उनी पहिलो व्यक्ति थिए । रासस