स्वरोजगार बनेपछि बदलियो गृहिणीको जीवनशैली

ढोरपाटन । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् । गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्वीटर उद्योगमा भेटिन्छन् । दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिरहेकी छन् । उनीसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन् । उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरुको काम गर्नु नपरेको बताउँछन् । स्वरोजगार बनेपछि दैनिकी र जीवनस्तर बदलिँदै गएको उनीहरुको भनाइ छ । सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताइन् । पचास नाघेपछि उद्यमी बन्दा उनी खुसी छन् । कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो । उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनले बताइन् । गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८–२० वर्षका युवती छन् भने कोही पाका महिला छन् । युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ । पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाउँछन् । सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकूल समय निकालेर काम गरिरहेको बताए । उनले सबैभन्दा ठूलो सीप रहेको भन्दै सीप भएपछि कुनै पनि व्यक्तिले दु:ख पाउन नपर्ने बताए । नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो । अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उनले अनुभव सुनाए । ‘पहिले अरुको काम गर्नुपथ्र्यो । अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो । परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन’, उनले भने, ‘अहिले सीप सिकेपछि दुई/चार पैसा कमाउन गाह्रो छैन । आफ्नै व्यवसाय छ । आफै काम गर्ने आफै कमाउने भएका छौँ ।’ महिला उद्यमीकी संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताए । तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उनले बताए । यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गरे । व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पुर्‍याउन नसकेको खड्काथोकीले जानकारी दिइन् । उद्योग सञ्चालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाले प्रतिव्यक्ति पचास हजार लगानी गरेका उनले बताए । उनका अनुसार कच्चापर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने भएकाले समस्या भएको छैन । संयोजक खड्काथोकीले उद्यमले गृहिणीको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताइन । पहिले अरुको काम गर्दा दिनको रू पाँच सय कमाउने गरेकामा अहिले रू एक हजारदेखि रू बाह्र सयसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन । ‘सीप नहुँदा मैले पनि अरुको काम गर्थेँ । अरुको काम गर्दा पैसा लिन नै समस्या थियो । अहिले नगरपालिकाले सीप सिकाएपछि हामीहरु उद्यमी बनेका छौँ । यहाँ बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन गरिरहेका छौँ । तुलनात्मक रुपमा यहाँ सस्ता पनि पर्छ’, खड्काथोकीले भनिन्, ‘अहिले माग बढिरहेको छ । मागअनुसारको उत्पादन पुर्‍याउन सकिएको छैन । उत्पादन गर्ने ठाउँमै आएर किन्ने धेरै हुनुहुन्छ । उद्योगमा हामी आफूलाई मिल्ने समयमा आएर काम गर्छौँ । अहिले मासिक रू ३०/३२ हजार कमाउनलाई गाह्रो छैन ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिए । पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ थियो । नगरपालिकाले तालिमसहित करिब रू सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको प्रवक्ता भण्डारीले बताए । ‘सुरुमा तालिम लिने दिदीबहिनी धेरै हुनुहुन्थ्यो । व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाल्नुभयो । उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानुभएको छ । सात जनाले भए पनि यहाँ रोजगार पाउनुभएको छ’, उनले  भने, ‘अझै उद्योगमा धेरै कामदारको आवश्यकता परेमा उद्योग विस्तार गर्दै लगे धेरैले रोजगार पाउने छन् ।’ यहाँ आवद्ध सबैको आर्थिक अवस्था सुधार भएको भन्दै प्रवक्ता भण्डारीले महिला आयआर्जनसँग जोडिएसँगै उनीहरुको जीवनशैली पनि बदलिएको बताए । नगरपालिकाले अन्य वडामा पनि सीपमूलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको उनको भनाइ थियो । रासस

तिम्ल्याहा सन्तान जन्माएकी रबिनालाई गाउँपालिकाले दियो लहिनो गाई

झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो । सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन् । घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो । ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ । तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो । अहिले तीनजना शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन् । ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ । ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन् । शिशु बिरामी हुने जोखिम बढेको छ । शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन । शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ । सुत्केरी आमा र शिशुलाई लामखुट्टबाट जोगाउने झुल पनि छैन। पालिकाले दियो लहिनो गाई गौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको भरणपोषणका लागि लहिनो गाई प्रदान गरेको छ । पालिकाको तर्फबाट अढाइ लिटर दूध दिने एउटा लहिनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाकी उपप्रमुख पुजन न्यौपानेले बताए । नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई ३३ हजारमा किनेर दिएको उनले जानकारी दिए । लहिनो गाई प्रदान गर्न गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष न्यौपाने सुत्केरी महिलाको घरैमा पुगेका थिए । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो । अर्थाभावले सुत्केरी र नवजात शिशुको ताजा स्वास्थ्य अवस्थाको परीक्षण हुनसकेको छैन । यसैबीच जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउण्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि ३० हजार पठाइदिएको पालिकाका उपाध्यक्ष न्यौपानेले बताए । उक्त रकम परिवारको आवश्यकतानुसार खर्च गरिने र नवजात शिशुका नाममा बैंकमा मुद्दति खाता खोलेर जनही पाँच हजार जम्मा गरिदिन दाताले आग्रह गरेको उनले जानकारी दिए । गौरीगञ्ज गाउँपालिकाले सुत्केरीका लागि दमकसम्मका अस्पताल पुर्याउन गाउँवासीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिँदै आएको र सीमान्तकृत र दलितका कक्षा १ मा पढ्ने छोराछोरीलाई पाँच हजारको मुद्दति खाता खोलिदिने कार्य गरिरहेको उपाध्यक्ष न्यौपानेले बताए । चालु आर्थिक वर्षदेखि नै कक्षा १ का विद्यार्थीलाई बैंकको मुद्दति खातामा पैसा जम्मा गरिदिने गरी १० लाख रुपैयाँको बजेट व्यवस्था गरिएको उनले बताए । रासस

कर नतिर्ने साढे दुई सय सहकारीलाई कारबाही गर्दै महानगर, को-को परे ?

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कर नबुझाउने सहकारी संस्थाहरूको संख्या बढेको छ । महानगरभित्र सञ्चालित विभिन्न सहकारीहरूले लामो समयदेखि व्यवसायिक तथा बहाल कर नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । महानगरका अनुसार काठमाडौं महानगरभित्र सञ्चालित साढे दुई सय सहकारी संस्थाहरूले कर नतिरेको महानगरको भनाइ छ । काठमाडौं महानगरपालिका राजश्व विभागका निर्देशक ध्रुब कुमार काफ्लेले सहकारीलाई महानगरले कर बुझाउन पटक-पटक आग्रह गरे पनि हालसम्म कर नतिरेको उनको भनाइ छ । उनका अनुसार सहकारीबाट कर संकलन गर्न महानगरलाई सकस नै परेको छ । उनका अनुसार ती सहकारीहरूले महानगरलाई विगत दुई/तीन वर्षदेखिको कर भुक्तानी गर्न बाँकी छ । महानगरले कर बुझाउनका लागि पटक/पटक सूचना प्रकाशन गर्दै आए पनि कर बुझाउन अटेर गरेको काफ्लेको भनाइ छ । कर नबुझाउने सहकारीहरूलाई महानगरले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । ‘महानगरको तर्फबाट गर्नुपर्ने सहजीकरण हामी गर्छौं, सहजीकरण गर्दागर्दै पनि उहाँहरूले कर बुझाउन अटेर गर्नुभयो भने व्यवसाय बन्द गर्न सक्ने अवस्थामा महानगर पुग्नेछ,’ उनले भने । आगामी पुस मसान्तभित्र कर बुझाउने सहकारीलाई महानगरले कर छुटको व्यवस्था पनि गरेको उनको भनाइ छ । ‘पुष मसान्तसम्म कर बुझाए भने सहकारीहरूलाई कर छुट हुन्छ, ती सहकारीले १० प्रतिशतसम्म छुट पाउँछन्, कर भुक्तानी भएन भने उनीहरूले जति वर्ष अघिदेखि कर बुझाएका छैनन्, सोही अवधिदेखिको जरिवाना लाग्छ, छुट पनि पाउँदैनन्,’ उनले भने । यसअघि महानगरपालिकाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ७९ वटा सहकारीलाई कारबाहीको लागि प्रहरीसमक्ष पत्र पठाएको थियो । यस्तै, महानगरभित्र सञ्चालित सहकारीको विषयमा उजुरी पनि बढेको छ । महानगर क्षेत्रभित्र भएका सहकारीहरूमा सर्वसाधारणले बचत रकम जोखिममा परेको भन्दै उजुरी गर्न थालेका हुन् । यस्तै कर नतिर्ने तीन वटा लघुवित्तलाई पनि महानगरले कर तिर्न आग्रह गरेको छ । महानगरले आदर्श, मानुषी र राष्ट्रिय उत्थान लघुवित्तले पनि कर नतिरेकोले कर तिर्न आग्रह गरेको हो । महानगरले पुस मसान्तसम्म कर बुझाउँदा १० प्रतिशत छुट हुने व्यवस्था पनि गरेकाे छ । महानगरले वर्षमा ६ किस्तामा कर तिर्न सकिने व्यवस्था पनि गरेकाे छ । पुस १६ गते अपडेट कर ननिर्ते सहकारीको सूचिमा २५९ वटा सहकारीहरू रहेकोमा सूचि नम्बर ५१ मा रहेको इमानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साल असोज २६ गते महानगरपालिकालाई बुझाउनु पर्ने सबै कर बुझाएको र सोही मितिमा नविकरण गरेको उक्त सहकारीका प्रबन्धक अप्सरा बुढाथोकीले जानकारी दिइन् । सहकारीले आर्थिक वर्ष २०८०/८१ का लागि ३५ हजार ७४० रुपैयाँ महानगरलाई कर बुझाएको रसित समेत विकासन्युजमा पठाउँदै सूचिबाट नाम हटाउन आग्रह गरेकी छिन् । उक्त सूचि महानगरपालिकाले उपलब्ध गराएको हो । सम्पादक यी हुन् कर नतिर्ने सहकारी [pdf id=449725]