गजलः आमा 

धर्ती सारा, जगतै देखायाैं, कति दुःख, सहेर हुर्कायाैं दश मैना, गर्भमा बाेकेर जन्म दिइ, अमेतपान गरायाैं भाेक प्यास, सहेर आफै सन्तानलाई, पेटभरी खुवायाैं छाेराछाेरी बिरामी पर्दा झन कति रात, नसुती बितायाैं भविष्यकाे साहारा सम्झेर राम्राे मान्छे, बनाउन पढायाैं थाेरै सफल, हुँदा नि सन्तान कति धेरै, खुशी भै रमायाैं कति धेरै, खुशी भै रमायाैं   बिराटनगर-३ [email protected]

भारतीय तन्नामा पल्टेर नेपालको हित सोच्दा

मलाई सम्झना छ, २०५५/५६ सालतिरको कुरा हुनु पर्छ । भारतका एक जना चर्चित सिने कलाकारले नेपाली मानिस मन पर्दैन भनेर एक इन्डियन पत्रकारसँग भने भन्ने हल्ला फैलियो । यस्तो हल्ला फैलिने वित्तिकै नेपालमा तिब्र प्रतिक्रिया उत्पन्न भयो । सोही कारण काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा स्वतस्फूर्त रुपमा सर्वसाधारण सडकमा आए । र, सडकमा आएको त्यो अनियन्त्रित र नेतृत्वविहिन भिडले गरेको तोडफोडसहितको हर्कत सभ्य समाजको लागि ग्लानीको विषय थियो । एक जना भारतीय सिने कलाकारले नेपाली मन पर्दैन भनेर अभिव्यक्ति दिए भन्ने हल्लाका बीचमा जम्मा भएको भिडले काठमाडौं उपत्यकामा मधेशी समुदायको बढी जमघट हुने गौशाला, मैतिदेवी, चावहिल जस्ता क्षेत्रमा नेपालीले नेपालीलाई नै कुटे । यो प्रकरणमा दुई जनाको ज्यान पनि गयो । त्यो समयमा मधेशी मुलका नेपालीमाथि आक्रमण हुनुको मुख्य कारण मधेशी मुलका नेपालीलाई नेपाली हुन् भन्न नसक्नु र मधेशी समुदायले पनि बेग्लै अनुहार भएकालाई संकिर्ण सोचले हेर्नु नै हो । यस्ता, विषयमा रुमल्लिइरहनुले राजनैतिक अस्थिरता मात्र होइन, आज नेपालको आर्थिक विकासमा ठूलो बाधा पुर्याइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालको संसदमा उभिएर दुईचार वाक्य नेपाली भाषामा बोलिदिँदा फुरुक्क पर्ने र भारतको जयजयकार गर्छाैं हामी नेपाली । अनि एक भारतीय कलाकारले नेपाली मन पर्दैन भन्दा हामी आफ्नै दाजुभाइ मार्न तयार हुन्छौं । हामी छालाको रंग र अनुहारको बनोटलाई आधार मानेर यो नेपाली हो, यो होइन भन्ने निष्कर्ष निकाल्छौं । छालाको रंग र अनुहारको बनोटलाई नै आधार मानेर यो आफ्नो, यो पराया भन्ने निक्र्याेलमा पुग्ने हामी नेपाली नै हो । यही निष्कर्ष नै हाम्रो राष्ट्रिय एकताको अवरोध भइरहेको छ । देशको पहिचान अनुहारको रङ्गले कदापि गर्न सक्दैन । भाषा बोलिएकै भरमा उसको पहिचान कुनै देशसँग जोड्नु कदापि न्याय संगत हुँदैन । देशको रास्ट्रिय भाषा हुन सक्दछ । तर व्यक्ति आफूआफूमा कुन भाषाको प्रयोग गर्ने भन्ने विषय नितान्त व्यक्तिगत कुरा हो । भाषा भन्नाले एउटाको कुरा अर्कोले वुझोस् भनेर बोलिने माध्यम हो । चाहे कोही, नेवारी, तामाङ्ग भाषा बोलुन्, शेर्पा, नेपाली, मैथिली, भोजपुरी, हिन्दी वा अरु जुनकुनै भाषा नै किन नबोलुन्, त्यसमा आपत्ति जनाउनु पर्ने केही कारण छैन । हामी उठ्ने वित्तिकै भारतमा बनेको टुथपेस्ट र ब्रस प्रयोग गर्छौं । नुहाउँदा भारतीय सावुन, टिभी हेर्दा भारतीय च्यानल, मोटरसाइकल, कपडा धेरै त भारतीय नै हुन्छन् । यहाँसम्म कि ओछ्यानको तन्ना पनि भारतीय नै हुन्छ । रोड उसैले बनाइदेओस् भन्छौं । घर बनाउने मानिस उतैतिरको होस् भन्छौं । आफ्नो बारी बाँझै राखेर उसैले तरकारी दैलोमा ल्याएर बेचोस् भन्छौं । हामी फोहोर गर्छौं, सफा उसैले गरोस् भन्छौं । नेपाली भएर नेपाली चलचित्र हेर्दैनौं । नेपाली वस्तुको प्रयोग गर्न हिचकिचाउँछौं । आर्थिक उन्नति र आत्मनिर्भरतिर कहिल्यै सोच्दैनौं । के जीवनयापनका लागि हामीले बिहानैदेखि वेलुकासम्म प्रयोग गर्ने गरेका साधनहरु हामी आफैंले निर्माण गरेका हौं त ? हामी कति परनिर्भर भएका छौं ? सबै कुरामा विदेशमाथि भर परेपछि आउने परिस्थिति यस्तै हो, जुन अहिले हामी भोगिरहेका छौं । सबै कुराको आयात नै गरेका छौं । हामी अल्छी छौं । धनियाँको दुईटा पात, अलिकति तरकारी, आफ्नै करेसा बारीमा रोप्न हिचकिचाउँछौं । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा हामी व्यस्त छौं । दिनभरी टिभी हेर्दै फुसर्द छैन । गफ चुट्न व्यस्त छौं । अनि तातो घाममा जोखिम मोलेर काम गरिरहेको मानिसलाई, टिना, फलाम र तरकारी बेच्दै आउने एक सोझो तराइको नेपालीलाई जिस्क्याउँदै हेयको दृष्टिकोणले बार्दलीबाट ‘भैया’ भन्दा कति दुख्दो हो उसको मन् । नागरिकता सम्बन्धी विधेयक संसदीय समितिबाट पास भएर प्रतिनिधिसभामा पेश भएपछि यो विषयले फेरि राम्रो चर्चा पाएको छ । देश भनेको भुगोल मात्र होइन । देशभित्र बस्ने सबै नागरिकको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानको संयुक्त रुप पनि हो । एक नागरिकले अर्काे नागरिकलाई हेपेर देश बलियो हुँदैन । देश बलियो हुन नागरिकबीच सम्मान र सहअस्तित्वको भावना जाग्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा भनेको देश आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ, अर्थतन्त्र बलियो हुनुपर्छ । [email protected]

सरकार ! लासमाथि राजनीति नगर्नू है

सरकार तिम्रो अध्ययन कहिले सकिन्छ ? कहिले निस्कन्छ निस्कर्ष ? लाग्छ तिम्रो अध्ययन नसकिँदै हामी भोकले सकिन्छौँ ।। सरकार न सर्वोच्चको आदेश मान्छ । न नागरिक जोगाउन कुनै पहल गर्छ । कमिसनको चक्करमा फसेको यसले हामी भूइँमान्छेलाई माञ आँखा तर्छ चुनावको बेला यसो नजिक सर्छ ।। यो देशमा सरकार रहेको अनुभूति हामी गरिब जनताले कहिले गर्न पाउने ? हाम्रै पौरखले सिंगारिएको सिंहदरबार र बालुवाटारले हाम्रो मर्म किन बुझ्दैन ?।। भोक भोकै सडक कति दिन नापिएला ? स्वार्थी सहरले त हामीलाई केही दिन पनि पाल्न सक्दो रहेनछ, सहरको रहर पाल्नु त बेकार रहेछ हामीले ।। बाँचे न रोगको डर हो रोग भन्दा पनि भोक विकराल बनेर देखिँदै छ हाम्रा लागि कानमा तेल हालेर सुतेको सरकारी संयन्त्र कतै भए सुनाइदिनुहोस् न हजुर ।। लकडाउनका लागि लगाइएको बार पार गर्न लाग्दा काका लडेर मरे अरे । रोग या भोक सबैले हामीलाई नै लखेट्ने त रहेछ । सरकार के रोगबाट बचाएर भोकको लास हेर्न चाहन्छ ? विपत्तिमा काम नलाग्ने जनताको पसिना, रगत चुस्ने महङ्गो यत्रा सरकारी संयन्त्र के का लागि ? जन्मथलोमा नपुग्दै देह ढलेछ भने सरकार ! हाम्रै लासमाथि फोहोरी राजनीति नगर्नू है ।। (यो कविता अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक) तारकेश्वर गाउँपालिका–१, नुवाकोट हाल पोखरा–११ [email protected]