सेयर कारोबारी ज्वाईं
हरेक मान्छेको चाहना हुन्छ आफ्नो कलेज जीवनपश्चात् एक दिगो नोकरी होस्, एउटा चिटिक्क परेको राम्रो घर होस्, अलिकति बैंक व्यालेन्स होस् अनि जीवनका उकाली–ओराली बुझ्ने सुख दुःखमा साथ दिने एउटा सहयात्री अर्धाङ्गिनी होस् । वास्तवमै राम्रो परिवार अनि सफल जिवन कसको पो चाहना नहोला र ! म कम्ती खुसी थिइनँ दुई वर्षको अथाह मिहिनेत पश्चात् लोकसेवामा आफ्नो नाम छनौट भई जागिरको लागि पहिलो पल्ट नेपालकै विकसित शहर विराटनगरमा दरबन्दि हुँदा । आखिर मिहिनेत पनि त मैले कम्ती गरेको होइन नि । दिन रात नभनी पढेको पढ्यै… उफ्… आज सम्झिँदा पनि कसरी पढियो होला, अचम्म लाग्छ । यही मालपोतको जागिरे भनेर नै त होलानी विवाह गर्न सजिलो भएको । घर नभएर के भो त, डेरामा पनि त कैयौं मानिसहरु बसेका छन् । मालको जागीर कमाइहाल्छ नि केटाले भन्दै उनीहरुले आफ्नी छोरीलाई म सँग विवाह गरिदिएका त हुन् नी । भित्र भित्रै त मलाई पनि थाहा नभएको कहाँ हो र ! तर सोचे जस्तो कहाँ हुन्छ र सबैजनाको एउटै बानि पनि त हुँदैन नि । धेरैले घुस खाए भन्दैमा सबैले घुस कहाँ खान्छन् र । हो आखिर म पनि देशको सेवा गर्छु भनेर नै लोकसेवामा मिहिनेत गरेको हो नि । पैशाकै पछि लाग्ने भए व्यापारमा लागिहालिन्थ्यो नि । तर सवै परिवारको एउटै सोच कहाँ हुँदो रहेछ र । विवाहको करिव दुई वर्ष पछि श्रीमतीजीको सोचाई पनि विस्तारै सामुन्ने आयो – “तलवले मात्र के हुन्छ यसो दायाँ बायाँ पनि गर्नुपर्छ ।” “होइन… के हो यो दायाँ बायाँ भनेको नि ?” म प्रतिप्रश्न गर्छु उसलाई । “कस्तो बुद्घु हुनुहुन्छ हजुर, दायाँ बायाँ भनेको सेवाग्राहीले खुसी भएर दिने उपहार हो नि ।” श्रीमतीजी कति मज्जाले घुसलाई उपहार भन्दै घुसको परिभाषा मोडिदिन्छिन्, म ट्वाल्ल पर्छु । हुँदा हुँदा अब त अति हुन थाल्यो । “तपाईंले कमाउन सक्नु भएन । तपाईं सँगैका साथीहरुले काठमाडौंमा घर बनाइसके । विवाह गरेदेखि जाबो एउट गहना पनि किनिदिएको होइन । कत्ति डेरामा बस्नु । केटाकेटी पनि दिन प्रतिदिन हुर्कंदै छन्, केहि सोच्नु भाको छ ?” श्रीमतीका प्रश्नहरु धेरै पटक सुनिसकेपछि म मुसुक्क हाँस्दै कुरा बंग्याउँदै उत्तर दिन्छु, “तिम्रो गहना भनेको मै होइन र ?” उनी झर्किंदै भन्छिन्, “के अब गहना भनेर तपाईंलाई नै लगाउनु ?” उनको कुरा सुनेर म जिल्ल पर्छु । मैले पनि अब चाहिँ केही गर्नु पर्छ, पैसा कमाउनु पर्छ भन्ने सोचें । तर पनि पैसा कमाउनलाई घुस खानुपर्छ भन्ने सोचाईलाई मनमा ल्याइनँ । संयोगबस म कमर्शकै विद्यार्थी भएको र सेयर सम्बन्धि थोरै भएपनि जानकारी भएको, समय पनि धेरै दिनु नर्पने, लगानी पनि सुरक्षित हुने, बेच्नु परे तत्काल बेच्न सकिने सोचेर हरेक महिनाको तलबको केही न केही जोहो गरेर अलिअलि पैसा ‘क’ वर्गको वाणिज्य बैंक, इन्सुरेन्स र लघुवित्तको सेयरमा लगाइरहेँ । हरेक महिना श्रीमतीकै घरखर्च बाट कटौती गरेर सेयर किनेको हुनाले उनको कचकच अझ बढ्दै गयो तर म चुप लागिरहेँ । “सेयर–तेयर थाहा छैन मलाई घर चाहियो” उनको एउटै रटाइ छ । तर म चाहिँ मौन नै बस्छु । अचेल त कुरो श्रीमतीजीको मात्र पनि होइन दाजु–भाइ टोल–समाजमा पनि सोध्न थालिसके घर कहिले बनाउनु हुन्छ नि भन्दै । अरु त अरु ससुरालीमा पनि अस्ती भर्खर खाना खाइरहेको वेला ससुरा बाले अचानक कुरा झिक्नु भो अव त घर वनाउनु पर्छ है ज्वाईं साहेब । मनमनै सोचेँ, “के घर वनाउनु मामुली कुरा हो र ?” “खाना कस्तो भयो हजुर ?” भनेर सासुले सोध्दा पो म झसङ्ग भएँ । मनमनै आफैँले आफैँलाई भनेँ, “खानाको स्वाद घरको कुराले खल्लो बनायो ।” यो सत्य हो कि जेठान र साढुदाइको तुलनामा मैले कमाउन सकेको छैन । एउटा कमाउन नसकेको मान्छेले जेठान र साढुदाइको जग्गाको दाम बढेको अनि यतिउति फाइदा भएको जस्ता कुराहरु सुनिरहनु पर्दा वाक्क लागेर आउँछ । त्यस्तो कुरा चलिरहँदा त्यो माहौलबाट तर्किनु बेस हो जस्तो लाग्छ । तर कहिल्यै घुस खाएर उनीहरु जस्तै बन्नुपर्छ जस्तो चाहिँ लाग्दैन । सायद त्यै भएर पनि होला, पैसाकै पछि कुद्ने आफन्तकहाँ जान अलि कम गरेको छु । कतिपय पारिवारिक जमघटमा पनि श्रीमतीलाई मात्रै पठाउने गरेको छु । पैसा नै सवै कुरा रहेछ । पैसा भए सबैको हाइ हाइ हुँदो रहेछ । पराइ पनि आफन्त हुँदा रहेछन् र आफन्त पनि पराइ हुँदा रहेछन् । सायद त्यही भएर होला बिस्तारै मेरो र उनको सम्बन्धमा फाटो आउन थाल्यो । श्रीमतीजी पनि धेरैजसो माइती तिरै बस्न थालेकी छिन् । बाझाबाझ पनि त्यस्तो केही होइन तर दूरी चाहिँ पक्कै भएको हो । श्रीमतीजी म सँंग छुुिट्टएर माइत बस्न थालेको करीब आठ महिना पछाडि आज बिहान एक्कासी ससुराली बाट राती उतै खान र बस्नका लागि निम्तो आउँछ । आठ महिना पछि किन बोलाए भनेर अचम्मित हुँदै वेलुका तिर म ससुराली पुग्छु । ससुराली पुगेको मात्र के हुन्छु, पूरै माहोलै बेग्लै छ । श्रीमतीजी मुसुक्क हाँसेर हात समाउँदै बैठकमा पुर्याउँछिन् । सामान्य गफ गर्दाखेरी होस् अथवा खाना खाँदा होस्, मैले पैसा कमाउन नसकेको सम्बन्धमा कोही चुइँक्क पनि बोल्दैनन् । कौतुहलताले मेरा मनमा डेरा जमाउन थाल्छ । “आज किन मलाई सवैले धेरै इज्जत गरेका होलान् ?” यस्तै सोच्दै सुत्नका लागि ओछ्यानमा चढ्छु । एस्सो आँखा लाग्न मात्र के आँटेका हुन्छन्, सासु–ससुरा र मेरी श्रीमती बसेर पल्लो कोठामा गफ गरेको मधुरो आवाजले मेरा कौतुहलताको समाधान गरिदिन्छन् । “हाम्रा ज्वाईंले पहिल्यै देखि महिनै महिना किन्नुभएको सेयरको मुल्य त कहाँ पो पुगेछ है ! नेप्से तिनसए – चारसय हुँदा देखि किन्नुभएको रहेछ, अहिले त बाह्र सएमा छ । झन् अब त बजार बढ्ने हल्ला चलिरहेको छ । खै पैंतिस सए सम्म पुग्छ कि ! नेप्से तेत्रो माथि पुग्यो भने त हाम्रा खर्दार ज्वाईं पनि करोड पति पो हुनुहुन्छ त । यत्तिकैमा सासु आमा आफ्नो आवाजले बाँकी दुईजनाको आवाजलाई दबाउँदै भन्छिन्, “मालपोत रे, धत्… सेयर कारोबारी ज्वाईं भन्नुस् न हाम्रो प्यारो ज्वाईं साहेबलाई… । [email protected]
अब देश अम्रिका हुँदैछ हरी
अब देश अम्रिका हुँदैछ हरी । हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी, भुलेको त्यो DV Code, सोच्न जरुर छैन हरी !! पहिले पो दुःख थियो यहाँ, थिए थुप्रै बाधा अडचन, हिलो थियो, धुलो थियो, गरिबीको गन्ध थियो, विभेद मञ्चन भै रहन्थ्यो । राजनिती पनि अस्तव्यस्त थियो, नेता पनि भ्रस्ट थिए, जनतालाई कष्ट थिए । राजा पनि एउटै थिए, रानी पनि एउटै ! गाउँमा स्कुल थिएनन् , स्कुल थिए विद्यार्थी थिएन्न, विधार्थी थिए, मास्टर थिएनन् । रहर थिए, शहर थिएनन , शहर बन्दा रहर परदेश पुगे । जवान देख्न पाईन्थेन, बिरोजगारीको रोग थियो । सपनाका आकार थिएनन् । समाधानका प्रकार थिएनन् । बुढाबुढिले गाउँ ढकमक्क थिए । बाटो थिएन, बत्ती थिएन, अनेकन गुनासा थिए, कति सरकारसङ्ग, कति बाआमासङ्ग कति आफ्नै भाग्यसङ्ग । यस्तै थुप्रै बेदना थिए । विडम्बना थिए । दोष थिए, अफसोच थिए । तर आज देश बद्लेको छ हरी, सङ्गै परिवेश पनि बदलेको छ हरी ! हो देशको स्वरुप पनि बद्लेको छ ! हिजोको जस्ता अध्यारो छैन । न छ गरिबको गन्ध , नेता बाईबलका भक्त छ्न्, सप्पै अचेल धार्मिक भा छ्न् ! सयौ राजा छन, सयौ रानी छ्न् ! जनता पनि घरमै सुतेर खान्छ्न् ! रहर पनि शहरका कोठामै छ्न् ! हात हातमा मुबाईल छ ! मुबाईल भरी खाता छ्न् ! खुसी हुन सिकाउने Google छ ! लुडो को Worldcup खेलिन्छ ! फुट्बल जस्तो ४ वर्ष कुर्नु पर्दैन ! अनलाईनमै अन्त्यष्ठी गरिछ ! रुनु पर्दैन ! आसु पनि कृतिम छ्न् । सब विज्ञानको फड्को ! देशमा आमूल परिवर्तन भा छ ! हो हरी, खत्रा परिवर्तन भा छ ! जवान हर्षिदै देश फिर्दैछ्न्, वर्षौ भएर होला, बाटो बिराएछ्न क्यारे ! कोहि जङ्गल हुदै आउदै छन् । कोहि महाकालीमा पौडेर आउदैछ्न् ! देश फिर्न जोखिम मोल्न राजी छ्न् ! सब देश फिर्न आतुर छ्न् । mexico सिमामा अमेरिका छिर्न, गरेको संघर्ष भन्दा कम छैन ! अर्को कुरा सुन हरी, स्कुल पनि रित्ता छ्न् ! अब एउटै कक्षामा १,२,३,४ सङ्गै, सबलाई राखेर पढाउनु पर्दैन । नबोक्नु नै पर्छ ५ किलो भारी ! हेर त देश साच्चै बद्लेको छ ! विभेदलाई पनि जनताले भेरिमा बगाईसके ! गरिबी त बाकी के रहन्थ्यो र ? रोग पनि थ्रुरै कामी रहेको छ र पो, सरकार स्वास्थको प्रमाणपत्र बाडि रहेको छ ! तीन बजे उठने कालिमाटी, टुकुचा रात भरी नसुत्ने ठमेल, पोखरा गन्तव्यमा नपुगेका मोटर, घोडा, हेर त सब लामो निन्द्रामा छ्न्! आराममा छ्न ! सडकमा धुलो हराई सक्यो । न बाकी नै छ हिलो । रङ्गिबिरङ्गी फुल देखिन्छन् , हिमाल पनि सेतै, खुला निलो आकाश , कन्चन ताल तलैया , न धोनी प्रदुषण छ । न छ वायु प्रदुषण । पशुपतिनाथ, स्वयम्भुनाथ पुर्वको पाथिभरा, पश्चिमको छायानाथ, भाकल पुजा बिनै सन्तुष्ट छ्न् ! Yes i have a Dream ! Is no more need to repeat ! अनि किन जाने अम्रिका हरी ? यसै भन्दा उत्तेजित हुँदै, श्रीराम सरको लाईनमा, तिमिलाई सोध्न मन लाग्छ ! R u believe me ? देख्दै छौ नि आफै तिमी ! अब देश अम्रिका हुदैछ हरी ! भोलि MCC पर्सि BRI पनि त पास हुदैछ हरी ! अब देश अम्रिका हुदैछ हरी ! १५ हजारमा तु बनाएको पासपोर्ट, ३ घण्टा लाईनमा बसेर भरेको EDV, फर्किदा खाएको रु. ८० को म:म, अनि दाह्री कपाल काटेको दाम खेर गो हरी ! अब हर साल DV भर्नुपर्दैन हरी ! नबस्नु पर्नेछ ३ घण्टा लामो लाईन ! न काट्नुपर्ने छ गालाका काला दाह्री ! दराजमै बूढो हुने भो पासपोर्ट पनि ! अब जानू पर्दैन अम्रिका हरी !! त्यसैले, हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी , भुलेको त्यो DV Code , सोच्न जरुर छैन हरी !! अब यो देश नै अम्रिका हुँदैछ हरी !
गजलः यसो गर्नुपर्छ अब
चौतर्फी सिमानामा, बार लाउनु पर्छ अब सके पर्खाल नत्र काँडे, तार लाउनु पर्छ अब उठाउनु पर्छ मुद्दा, अन्तर्राष्ट्रिय अदालत मै विवादलाई बार्ताबाटै, पार लाउनु पर्छ अब शान्तिपूर्ण बार्ता गर्न, छिमेकीले नमाने मा सिरुपाते खुकुरीमा, धार लाउनु पर्छ अब स्वरोजगार बन्नु पर्छ, कृषि क्रान्ती ल्याउनु पर्छ पाखा पखेरोमा अदुवा, बेसार लाउनु पर्छ अब तराई हाम्रो भण्डार हो, अन्न फलफूल तरकारी को पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब ।। बिराटनगर–३