सोलु हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म आवेदन दिन पाउने
काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ । मंसिर ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
भारत र चीन जोड्ने कोरला सडकमा १३ पुल निर्माण, ३ पुल बन्दै
काठमाडौं । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । ३ वटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्ग अन्तर्गत २०७३/७४ सालदेखि सुरु भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ । आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका ३ पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए । उनका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका-४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको छ । यहाँका पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ । त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ-३ स्थित लेतेखोला, सेतोखोला पुल, थासाङ-२ स्थित छाक्ताङ खोला, घरपझोङ-२ स्थित मार्फाखोला पुल, घरपझोङ-३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ-३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर-१ स्थित चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोजना कार्यालयअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाका इन्जिनियर चापागाईँको भनाइ छ । यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालयमार्फत ठेक्का सम्झौता भएकामध्ये ६ पुल गत आवमा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण गरिएका थिए । इन्जिनियर चापागाईँका अनुसार मुस्ताङ खण्डको थासाङ-३ लेतेमा निर्माणाधीन सेतोखोला, घरपझोङ-२ स्थित मार्फाखोला, वारागुङ-३ छुसाङस्थित नरसिंह खोला, लोघेकर दामोदरकुण्ड-१ स्थित चराङखोला र लोमान्थाङ गाउँपालिकास्थित किम्लिङ र भर्माखोला पुल गत आव २०८१/८२ मा सम्पन्न भएका हुन् । आयोजना कार्यालयअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन थासाङ-४ स्थित कैकुखोला, थासाङ-२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड-२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका इन्जिनियर चापागाईँले बताए । यहाँ निर्माणाधीन तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आवभित्र आयोजना कार्यालयलाई हस्तान्तरण भइसक्ने इन्जिनियर चापागाईँको भनाइ छ । निर्माणाधीन रहेका तीन पुलको फाउन्डेसन र स्ल्याप ढलान भइसकेको र एप्रोज सडकसहित पुल फिनिसिङलगायतका कार्य बाँकी रहेको उनले बताए । आयोजनाले कोरला सडकमा छवटा बेलिब्रिज निर्माण गरेको जनाएको छ । आयोजनाले म्याग्दीको बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला र पहिल्यै निर्माण गरेको थासाङ-२ घट्टेखोला र थासाङ-१ टुकुचेस्थित थापाखोलामा बेलिब्रिज स्थापना गरिसकेको जनाइएको छ । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की पुल गरी १९ पुल निर्माण गरिसकेको जनाएको छ । त्यसैगरी, कोरला सडक आयोजनाले कार्यान्वयन गरेका बाहेक पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म ८ वटा पक्की पुल निर्माण भइसकेको छ । पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भई निर्माण तथा मर्मतसम्भार भएका ८ पुल सम्पन्न भएका हुन् । जसअन्तर्गत आयोजनाबाहेक निर्माण भएका पर्वतको दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला र म्याग्दीको बेनीस्थित कालीगण्डकी खोला, बेगखोला, कालीगण्डकीस्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला पुल निर्माण भएका हुन् । त्यसैगरी, मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल यसअघि नै सम्पन्न भइसकेका छन् । यहाँको जोमसोमस्थित पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
काठमाडौं । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रुपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नदी बागमती नदी किनारमा अवस्थित २.५३ हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । टुकुचालाई उक्त प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानीलाई बागमती नदीमा खसालिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युतसमेत उत्पादन गरिनेछ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेको छ । स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण भने सुरु हुन सकेको छैन । ललितपुरतर्फ विद्युत उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरतर्फ निर्माणधीन छन् । निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार निर्माणधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन् । मन्त्री घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरेका थिए । उनले हाल निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले सोही बमोजिम निर्माणका कार्य अगाडि बढाउन निर्देशन दिए । निर्माण स्थलमा रहेका रुख हटाउन करिब दुई वर्ष समय लाग्दा र ललितपुरतर्फ स्थानीयको अवरोध रहँदा निर्माणमा केही ढिला भएको उल्लेख गर्दै मन्त्री घिसिङले अब निर्माणमा तीब्रता दिइनु पर्ने बताए । उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको थियो । एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएको समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।