काठमाडौं उपत्यकाका १ लाख १५ हजार घरको सर्भेक्षण

काठमाडौं, १६ असोज । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्भेक्षण सम्पन्न भएको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्भेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा भेरीफिकेसन मोडलबाट घर सर्भेक्षण गरिएको हो । सर्भेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्न क्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता शुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

४ लाख ६ हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार

काठमाडौं, १५ असोज । ४ लाख ६ हजार ३ सय ९९ परिवार भूकम्प पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । असोज १३ गतेसम्म ती भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैंयाँ उपलब्ध गराइएको हो । बैंकमा रहेको रकम आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि निकाल्न सकिनेछ । अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था रहेकाले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले आग्रह पनि गरेको छ । घर पुनर्निर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानूनी कारवाही हुने, दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने भएकाले अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न पनि प्राधिकरणले आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास निर्माणका लागि दोश्रो किस्तामा एक लाख ५० हजार रुपैंयाँ उपलब्ध गराउने बताए । तेश्रो किस्ता वापत भने एक लाख रुपैंयाँ उपलब्ध गराइने उनले बताए । सरकारले भूकम्प पीडित जनतालाई नीजि आवास निर्माणका लागि एक लाख रुपैंयाँ थपेर तीन लाख दिने निर्णय गरेको छ ।

मेलम्चीको पानीको पाइप घरघररमा लैजानै अझै एक वर्ष, पानी आउने टुंगो छैन

काठमाडौं १५, असोज । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय किमि। पाइपलाइन बिछ्याएको छ भने तीन सय किमि बिछ्याउन बाँकी छ । मेलम्चीको पानी वितरणका लागि आठ सय किमि। पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने– ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छौ, लक्ष्य अनुसार काम भएको छ ।’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । प्रवक्ता ढकालका अनुसार महाङ्कालचौर, बाँसबारी, महाराजगञ्ज, बालाजु र खुमलटारको पानीट्याङ्की निर्माणको काम करिब सकिएको छ । यी पाँचवटा ट्याङ्कीमा चार करोड लिटर पानी सङ्कलन हुनेछ । अन्य तीनवटा आरुबारी, कीर्तिपुर, टिग्नीको पानीट्याङ्की निर्माण भइरहेको छ । भक्तपुरको कटुञ्जेमा जग्गाको मुआब्जाको विवादले गर्दा ढिला भएको प्रवक्ता ढकालले जानकारी दिए । दसैँलगत्तै २४र२५ समूह बनाएर पाइपलाइनको काम आगामी वर्ष सक्ने गरी तीव्र बनाइने प्रवक्ता ढकालले बताए। थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाङ्काल चौरसम्म एक हजार चार सय मिलिमिटर ब्यासको ९.५ किमि। बिछ्याइएको छ । आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म झण्डै २५ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट।