पोखरा–बागलुङ सडक सञ्चालन
पर्वत, २ असोज । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक डिभिजन कार्यालय बागलुङबाट आएको डोजर र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएकोे जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । सडक खुलेपछि धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका साधन गन्तव्यतर्फ लागेका छन् भने अन्यबाट धौलागिरितर्फ आएका रात्रिसेवाका सवारी साधन पनि छुटेका छन् । रासस
भूकम्पपीडितलाई भारतीय कम्युनिस्ट पार्टीबाट रु आठ करोड बढी सहयोग
नयाँ दिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेपाली जनताको पीडामा भाकपा९मा०का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभएको थियो । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो । यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो । रासस
सरकारले दाता नपुगेका जिल्लामा पुनःनिर्माण गर्न एक अर्ब छुट्टायो
काठमाडौं, ३० भदौ । गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । भूकम्पबाट अति प्रभावित रामेछाप, ओखलढुङ्गा, मकवानपुर, सिन्धुलीमा पुनःनिर्माण पुनःस्थापनाका लागि सहयोगी संस्था नआउँदा सरकार आफैँले पुनःनिर्माण थाल्ने भएको छ । ती जिल्लाका २०० स्वास्थ्य संस्थाका बनाउनका लागि स्वास्थ्य मन्त्रालयले करिब रु एक अर्ब छुट्टाएको छ । मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले ओखलढुङ्गा र सिन्धुलीमा एउटा पनि स्वास्थ्य संस्था बन्न नसकेको र रामेछाप र मकवानपुर जिल्लाका केही स्थानमा निर्माण सुरु भएको जानकारी दिए । अद्यावधिक आँकडाबमोजिम भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जम्मा ८१६ स्वास्थ्य संस्थामध्ये पूर्णरुपमा क्षति ३९५ ९आयुर्वेदिक ९३ स्वास्थ्य केन्द्र समेत०, आंशिक क्षति १४४ र न्यून क्षति १६६ र क्षति नभएका स्वास्थ्य संस्था १९९ रहेका छन् । मन्त्रालयको ‘विनाशकारी भूकम्प पश्चातको पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धमा स्वास्थ्य मन्त्रालयको सहभागिता र समन्वयमा हालसम्मको प्रगति प्रतिवेदन’मा पुनःनिर्माणतर्फ हालसम्मको प्रगतिअन्तर्गत हालसम्म ३६८ वटा स्वास्थ्य संस्था भवन पुनःनिर्माणका लागि विभिन्न ६० भन्दा बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्झौता गरिएको उल्लेख गरिएको छ । हालसम्म १०० स्वास्थ्य संस्थाको पुनःनिमार्ण भइसकेको, थप १०० वटा अन्तिम चरणमा रहेको र बाँकी ६८ स्वास्थ्य संस्था आगामी डिसेम्बर महिनासम्म निमार्ण भइसक्ने मन्त्रालयले जनाएको छ । सरकारका तर्फबाट भूकम्प प्रभावित जिल्लाका कुल ६३ वटा स्वास्थ्य संस्थाको स्थायी संरचना निर्माणाधीन अवस्थामा रहेका छन् । मन्त्रालयको नेतृत्वमा जाइकाले निर्माण गर्न लागिएका वीर अस्पताल तथा प्रसूति अस्पतालको पनि सम्पूर्ण डिजाइन सम्बन्धित अस्पताल, भवन विभाग, महानगरपालिकाबाट समेत छलफल गराई नक्सापास हुने अवस्थामा रहेको छ । भूकम्पपछिको प्रकोप मूल्याङ्कन गरी ३१ जिल्लाका ८८८ वटा स्वास्थ्य संस्थाको स्थायी पुनःनिर्माण, आवश्यक चिकित्सकीय उपकरण, फर्निचर तथा अन्य सामग्री उपलब्ध गराउन आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रका लागि मात्र १७।४० अर्बको योजना प्रस्तुत गरिएको छ भने पोषण क्षेत्रका लागि करिब ७।४ अर्बको प्रस्तावना गरिएको छ । गत मङ्सिर २०७२ पछि त्रिपक्षीय सम्झौताअनुसार पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्वास्थ्य मन्त्रालय तथा १३ वटा सहयोगी ९साझेदार० निकायबीच रु ७२ करोड बराबरको सम्झौता भई ३२ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको मन्त्रालयको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । रासस