वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न २ लाख रुपैयाँ, अन्य पदमा कति ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४ औं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ । संस्थाको मौजुदा विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको इप्पानले जनाएको छ । संस्थाको विधानको धारा १५ (१२) बमोजिम जेठ २५ गते अर्थात् सोमबार बसेको कार्यसमितिको बैठकले निर्वाचन प्रयोजनका लागि उम्मेदवारी मनोनयन शुल्कसमेत निर्धारण गरेको थियो । सोही बमोजिम १ जना वरिष्ठ उपाध्यक्षका लागि २ लाख रुपैयाँ तथा ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप-महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका लागि जनही १ लाख ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।  त्यसैगरी, खुलातर्फका ७ जना सदस्य र महिलातर्फका ३ जना सदस्य पदका लागि उम्मेदवारी दिन चाहनेले जनही १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने इप्पानले जनाएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मनोनयन फारम दस्तुर छुट्टै १०० रुपैयाँ लाग्ने जानकारी दिएको छ । इप्पानको २४ औं वार्षिक साधारण सभा भोलि (शुक्रबार) हुँदैछ ।

इप्पानको उपाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले वरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।  इप्पानको वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका पन्तको यस कार्यकालको चर्चा उर्जा क्षेत्रमा लोभलाग्दो रहेको छ । विशेष गरी जलविद्युत कम्पनीहरूलाई संगठित गरी इप्पानलाई नीतिगत र आर्थिक रुपमा अब्बल बनाउन पन्तको भूमिका ठूला रहेको उर्जा व्यवसायीहरू बताउँछन् । उपाध्यक्षको प्रत्यासी पन्त २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् । पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण व्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरूमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् । उर्जा युवा उद्येमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । २० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उपाध्यक्षमा बलियो दाबेदार रहेको उनले बताए । आफू उपाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरूले सहयोग गर्नेमा पन्त ढुक्क छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरूले भोग्दै आएको समस्याको समाधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ ।   

१ अर्ब ७ करोडको सेती पुलको प्रगति ६१ प्रतिशत, दोस्रो पटक म्याद थप

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद वि.सं २०८३ फागुन २१ गतेसम्म पुर्याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल १ अर्ब ७ करोड रूपैयाँ लागतमा निर्माण गर्नका लागि वि.सं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभाग अन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो । हालसम्म पुलको ६१ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ । सेती नदीको उत्तर साइडमा कारावास लगायत जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको थियो । तर, जग्गाधनीको मागअनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ । पछिल्लो समय दुई जना जग्गाधनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताए ।  निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरणलगायत समस्या देखाउँदै ढिलाइ गरेपछि काममा विलम्ब भएको थियो । ‘जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो । केही दिनअघि उहाँहरूले मुआब्जा लिनुभएको छ । अब साइडमा कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन,’ कुँवरले भने ।  सेती पुलको हालसम्म १२० पाइल फाउण्डेसन सकिएको, पाइल क्याप तथा चार वटा टावरको काम सकिएको छ । यसैगरी, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ ।