४० मेगावाट क्षमताको राहुघाट आयोजना ९० प्रतिशत सम्पन्न
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको विद्युतगृहमा उपकरण जडान थालिएको रघुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले बताए । ठेकेदारले दसैँको समयमा पनि ५०० जना भन्दा बढी मजदुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो । कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ । कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने आयोजना व्यवस्थापक बिष्ट बताए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
सेयर बापतको रकम चुक्ता गर्न अमादब्लम मिनि हाईड्रोको ताकेता, नतिरे सेयर खारेज गर्ने
काठमाडौं । अमादब्लम मिनि हाईड्रोले बाँकी रकम जम्मा गर्न सेयरधनीहरूलाई ताकेता गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरूलाई तेस्रो पटक सूचना पठाउँदै सेयर बापतको बाँकी रकम भुक्तानी गर्न ताकेता गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ (२) बमोजिम अमादब्लम मिनि हाईड्रोको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सेयरधनीहरूलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले कबुल गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्न भनिएको छ । आफूले कबुल गरेको सेयर बापतको रकम चुक्ता गर्न कम्पनीले सेयरधनीहरूलाई ३५ दिनको समय दिएको छ । यदि उक्त अवधिभित्र रकम भुक्तानी नगरेमा कम्पनी ऐन, २०६३ को दफा ५३ (३) बमोजिम र कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार सेयर जफत (खारेज) गर्ने र आवश्यक कारबाही अगाडि बढाइने कम्पनीले चेतावनी दिएको छ । कम्पनीका अनुसार लक्ष्मण अधिकारीको नाममा ७ लाख कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ६ करोड ४४ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै, फुथुण्डु शेर्पाको नाममा १ लाख ५० हजार कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ९२ लाख ९० हजार भुक्तानी बाँकी छ । बेयुल हाइड्रो पावर इन्भेष्टमेन्ट प्रालिको नाममा १ लाख ९६ हजार कित्ता सेयर छ भने ३ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । आङ पासाङ शेर्पा, पेम्वा थुण्डु शेर्पा र लाक्पा डोमा शेर्पाको नाममा समान १ लाख ५० हजार कित्ता सेयर छ । उनीहरुले कम्पनीलाई १ करोड ४० लाख रुपैयाँका दरले भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै, डोमा छिरी शेर्पाको नाममा ४ हजार कित्ता सेयर रहेको छ । उनले ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।
म्याग्दीको धारापानी-झिनडाडा सडक कालोपत्र गरिदैं, ५८ प्रतिशत भौतिक प्रगति
काठमाडौं । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडक अन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका-७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ४ किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले २ वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल ४ देखि ५ मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । धवलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।