अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगीका कोरोना संक्रमण
काठमाडाैं । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो । उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोना भाइरस पोजिटिभ देखिएको जनाइएको छ। पछिल्लो समय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको कार्यालयले जानकारी दिएको छ । (बीबीसीकाे सहयाेगमा)
म्याग्दीमा थप २ डेङ्गु बिरामी : हालसम्म ९ जनामा संक्रमण पुष्टि
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए । “डेङ्गुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेङ्गुले सताउने सङ्केत देखिएको छ”, डा बस्ताकोटीले भने । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् । बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै सङ्क्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ । शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् । डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ । गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेङ्गुको सङ्क्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । रासस
थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरकाे काेशी अस्पतालमा गरिएको परीक्षण अनुसार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । जसमध्ये उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरु र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार संक्रमितहरूकाे हालकाे अवस्था सामान्य रहेकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ९ पुगेकाे छ ।