निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गरिने

काठमाडौं । निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्न कार्यक्रमहरु ल्याईने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७ र७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै निजि क्षेत्रलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएकी हुन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनु पर्ने अवस्थामा सरकारले भने निजि क्षेत्रलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएको छ ।

तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा

काठमाडाैं । सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा पुर्याइने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । हाल यो कार्यक्रमका लाग प्रति ५ जनाको परिवारका लागि ३५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

काेराेना महामारीबाट सरकारले कसैकाे ज्यान जान दिने छैन

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीबाट कसैको ज्यान जान नदिने बताएकी छन् । संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् । उनले सरकारले यससम्बन्धमा थप प्राथमिकीकरण गर्ने पनि बताएकी छन् । भण्डारीले आर्थिक क्रियाकलाप र विकास निर्माण कार्य र सामाजिक जीवनमा थप क्षति हुन नदिने गरी अघि बढ्ने बताएकी छन् । विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुनसक्ने, मुलुकको आयमा कमी आउनसक्ने, प्राथमिकता क्षेत्र फरक हुने भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने उनको जोड छ ।