हेटौंडाकी एक महिलामा देखियाे कोरोना सङ्क्रमण

हेटौंडा । हेटौंडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौंडा-१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड-१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए । उनका अनुसार ती महिलाको हेटौँडास्थित किटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजीकार्य भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ । रासस

बागलुङमा एकैदिन ६ जनामा देखियाे कोरोना

काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना देखिएको हो । उनका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना देखिएको हो । त्यस्तै, बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषमा कोरोना भएको पुष्टि भएको हो । उनीहरु सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउन तयारी भैरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

मङ्गलबार भारतबाट आएका युवक आइसोलेसनमा भर्ना

काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । ‘ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । रासस