सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा, २० देखि २९ वर्षका सबैभन्दा बढी

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । . सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन् । सो उमेर समूहका ५२७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी ३० देखि ३९ वर्ष उमेर समूहका २५७, १० देखि १९ वर्ष उमेर समूहका १३८, ४० देखि ४९ वर्ष उमेर समूहका ९६, ५० देखि ५९ उमेर समूहका ४०, ६० देखि ६९ वर्ष उमेर समूहका ११ र ७० देखि ७९ वर्ष उमेर समूहका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार १८ जना सङ्क्रमितको उमेर समूह खुलेको छैन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धेरै जसो सङ्क्रमण विदेश र त्यसमा पनि भारतबाट आएकामा देखिएकाले युवाको सङ्ख्या बढी भएको बताए । उनले भने, “रोजगारीका लागि जानेहरू अधिकांश युवा उमेरका छन्, अहिले विदेशबाट फर्किनेमा बढी केस देखिएकाले युवाको सङ्ख्या धेरै देखिएको हो ।” “बालबालिका र वृद्धवृद्धाहरुलाई सङ्क्रमण जोखिम भनिएपनि हामीकहाँ लाखौं युवाहरु रोजगारीका लागि भारत गएर फर्किएका छन्”, उनले भने, “अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिइसकेको छैन ।” उनले भारतबाट युवा पुस्ता कोरोना लिएर फर्किएको बताए । “केही दिनअघि अत्तरीयाका बस व्यवसायीको भने अलपत्र यात्रुहरुको उद्दार तथा हिड्डुल गर्दा कोरोना सङ्क्रमण देखिएर मृत्यु भयो ।” डा. अवस्थीले भने, “सुदूरपश्चिममा दुबईबाट फर्किएका धनगढीका युवकका भाउजुमा मात्रै स्थानीय सङ्क्रमण देखिएको थियो, उनी निको भएर घर फर्किसकेको अवस्था छ ।” भारतबाट सुदूरपश्चिम प्रदेशमा जेठ महिनामा वैध नाकाबाट मात्रै एक लाख नागरिक स्वदेश फर्किएको सरकारी तथ्याङ्क छ ।सङ्क्रमण पुष्टि भएका बिरामीहरु आइसोलेसन, क्वारिन्टन र होम क्वारिन्टनमा छन् । भारत लगायत अन्यत्रबाट आएका २९ हजार ९२८ जना यहाँका ८८ वटा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारिन्टनमा बसिरहेका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका कोभिड–१९ का सम्पर्क व्यक्ति डा. सरोज आचार्यले अस्पतालमा सङ्क्रमित आउने र निको भएर जाने क्रम चलिरहेको बताए । “अहिलेसम्म उपचारमा रहनुभएका सबैको अवस्था सामान्य नै छ”, उनले भने, “सोमबारसम्म ४४ जना निको भएर फर्किसकेका छन् ।” उनले क्वारिन्टनमा रहेकाहरुको कोरोना परीक्षण भएकाले पनि युवा पुस्तामा बढी देखिएको बताए । “क्वारिन्टनमा बस्ने भनेका अधिकांश भारतबाट फर्किनेहरु छन्”, उनले भने, “यहाँ समुदायमा सङ्क्रमण फैलिएको छैन ।” सुदूरपश्चिमका कैलालीमा तीन र बाजुरामा एक गरी चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि १७ हजार ६११ जनाको स्वाब लिएकोमा ११ हजार पाँच जनाको परीक्षण गरिएको छ । “धनगढीको प्रयोगशालामा दैनिक २५० जनासम्मको मात्रै परीक्षण गर्न सकिन्छ”, निर्देशनालयका निर्देशक डा. अवस्थीले भने, “पछिल्लो समय चाप बढेपछि जनस्वास्थ्य प्रयोगशाला टेकुमा समेत स्वाब परीक्षणका लागि पठाइरहेका छौं ।”त्यसैगरी यहाँ ९६ हजार २४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएकोमा हालसम्म ७ हजार ४९४ जनामा कोरोना पोजेटिभ देखिएको निर्देशनाले जनाएको छ । पीसीआर र आरडीटी गरी दुवै विधिबाट यहाँ कोरोना परीक्षण गरिँदा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमितहरुको सङ्ख्या हेर्दा सुदूरपश्चिमको डडेल्धुरा दोस्रो स्थानमा छ । कोभिड–१९ डडेल्धुराका सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले डडेल्धुरामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । “तीन जना बाहेक सबै भारतबाट फर्किएकाहरुमा कोरोना देखिएको छ”, उनले भने–“डडेल्धुरा अस्पतालमा अहिले पीसीआर मेसिन जडान कार्य चलिरहेको छ ।” उनले आगामी एक सातामा डडेल्धुरामा कोरोना परीक्षण गर्ने गरी जडान कार्य चलिरहेको बताए । रासस

काठमाडौंमा कोरोना: १ जनाकाे मृत्यु, ६३ जना संक्रमित, ३० जना डिस्चार्ज

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म ३० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा‍. समिर कुमार अधिकारीले बताएका छन् । मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार हाल उपत्यकाका ३३ जना भने उपचारको क्रममा रहेका छन् । जसमध्ये काठमाडौंको १७ जना, भक्तपुरको ११ जना र ललितपुर जिल्लाको ५ जना रहेका छन् । त्यस्तै, कूल ३३ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । जसमा काठमाडौंका २४ जना, भक्तपुरका ५ जना र ललितपुरका १ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार उपत्यकामा एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । उनी ललितपुर जिल्लाका हुन् । काठमाडौंमा उपत्यका र उपत्यकाबाहिरको गरेर उपचारको क्रममा ५१ जना हाल उपत्यका बाहिरका १८ जनाको काठमाडौंमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । यससँगै उपत्यका र उपत्यका भित्र बाहिरका गरेर हाल काठमाडौंमा ५१ जना उपचारको क्रममा रहेका छन् । उनीहरूकाे काठमाडौंका ४ अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेकाे अधिकारीले बताए । ‘काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल र बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा यी ५१ जनाकाे उपचार भइरहेकाे छ।’ उनले थप जानकारी दिए । हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै ३२ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना, बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५ जना र त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालम ३ जना संक्रमितको उपचार भईरहेको सम्बन्धित अस्पतालले जनाएको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बैशाख ११ गते कोरोना संक्रमित मुक्त भएकाे थियाे काठमाडौं बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए । चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् । यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए । यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ६३ पुगेकाे हाे ।

दैलेखमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । सुर्खेतमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सुर्खेतमा उपचाररत एक संक्रमितको मृत्यु भएकाे बताएका हुन् वीरेन्द्रनगरको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको र उनी लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका गाैतमले बताए । उनकाे असार ४ गते काेराेना पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे संख्या २४ पुगेकाे छ ।