कोराेना रोकथामकाे लागि सरकारले गरेको काम नदेख्नेलाई मोतिविन्दु लागेकाे छ- स्वास्थ्यमन्त्री
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए । उनले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताएका हुन् । उनले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति भएको बताएका हुन् । उनले भने, ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’ कोभिड-१९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको उनले बताए । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालले बताए । उनले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहँदा नेपालमा भने नियन्त्रण भित्रै रहेको बताए । सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्ने समेत मन्त्री ढकालले बताए । वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मूटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्नेगरी सेवालाई प्रभावकारी बनाउन समेत उनले निर्देशन दिए । राज्यको तर्फबाट कमि कमाजोरी भई प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउन समेत वीर अस्पताललाई आग्रह गरे । अस्पताल भित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेको समेत मन्त्री ढकालले बताए । जनताले सरकारलाई हेर्ने ऐनाको रुपमा वीर अस्पताल रहेकाले अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उनले जोड दिए ।
काेराेनाकाे कारण नेपालमा थप ३ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका बिरामी थिए । यस्तै धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरु र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
काठमाडाैं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ३ र ललितपुरकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय २१ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ८७, ललितपुरकाे ८५ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।