काेभिड-१९ काे लागि रुसकाे दोस्रो खाेप परीक्षणमा, प्रारम्भिक नतिजा आशा लाग्दो

काठमाडौं । रसियाले कोभिड-१९ को लागि फेरि अर्काे खोप परीक्षणमा ल्याएको छ । ईपिभ्याक कोरोना नाम दिइएको यस खोपको पहिलो चरणको परीक्षणको नतिजा पनि आशा लाग्दो आएको बाइएकाे छ । यस खोपलाई रसिया भेक्टर स्टेर रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले बनाएको हो । यो यसअघि रुसमै ग्यामेलया रिर्सच ईन्स्टिच्युटले बनाएकाे खोप ‘स्पट्निक फाईभ’ भन्दा फरक रहेको जनाएकाे छ । याे नयाँ खोपको प्रारम्भिक चरणको परीक्षणकाे नतिजा अनुसार यसले शरीरमा कुनै पनि प्रकारको नकरात्मक असर नगरेकाे र साथसाथै उक्त खोप १४ देखि २१ दनिको अन्तरालमा दुई पटक प्रयोग गर्दा शरीरमा प्रतिरक्षा क्षमता राम्रो देखिएको बताइएको छ । रुसद्धारा सार्वजनिक गरिएको यसअघिको खोपले फेज ३ को परीक्षण नगरे पनि यसले मान्यता पाएको रुसको राष्ट्रपति भ्लाडिमिर पुटिनले दाबी गरेका छन् । यसकाे धेरैले विराेध गरेपनि समर्थन गर्नेपनि उत्तिकै रहेका छन् । कुनै पनि खोपले फेज ३ को परीक्षण पुरा गरिसकेपछि मात्र खोपको प्रयोग सार्वजनिक रुपमा गर्न पाउने नियम छ ।  एजेन्सी

स्वाब परीक्षणकाे लागि दिएका सबै अनिवार्य क्वारेन्टिनमा बसाैं: स्वास्थ्य मन्त्रालय

काठमाडाैं । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् । सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरे । यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरेका छन् । नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्रमण निको र १४६ जनाको स¬ङ्क्रमणका कारणले मृत्यु भइसकेको छ । “पिसीआर पोजेटिज आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले सङ्क्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा पाँचदेखि सात दिनभित्रमा स्वाब दिन अनुरोध छ”, उनले भने, “सङ्क्रमितसँग भेटेको तुरुन्तै पिसीआर परीक्षण गरेपछि ‘फल्स नेगेटिभ’ आउँछ । नेगेटिभ आयो भनेर ढुक्क हुने तर सङ्क्रमणमा हुने डर हुन्छ । त्यसैले पाँचदेखि सात दिन कुर्नु पर्दछ र उक्त समयमा छुट्टै क्वारेन्टिनमा समेत बस्नुपर्दछ ।” काठमाडाैं उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि सङ्क्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

सिन्धुलीकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १४ दिनसम्म बन्द हुने

सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताएका छन् । कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले जानकारी दिए । उनले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गरे । जिल्लाका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उनले आग्रह गरे । जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर सतर्कता र सावधानी अपनाउन भने उनले आग्रह गरे । सिन्धुलीमा सङ्क्रमितको सङ्ख्या २६ रहेको छ । रासस