एकैदिन ३९५ वटा अस्पताल शिलान्यस हुँदै, शिक्षा र स्वास्थ्यमा भएकाे लगानी बलजफ्ती राष्ट्रियकरण नहुने
काठमाडाैं । सरकारले ३९५ वटा अस्पतालहरूकाे मंसिर १५ गते शिलान्यास गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा वाेलीले शनिवार सचिवालय बैठकमा पेस गरेकाे राजनीतिक प्रतिवेदनमा उक्त कुरा लेखिएकाे छ । ‘इतिहासमै पहिलो पल्ट, स्वास्थ्य पूर्वाधारका क्षेत्रमानयाँ टर्निङ प्वाइन्ट कायम हुने गरी,यही २०७७मङ्सिर १५ गते देशका ३९६ पालिकाहरुमा ५ देखि १५ शैयासम्मका नयाँ अस्पतालहरुको एकैसाथ शिलान्यास गरिँदै प्रत्येक’ उनले प्रतिवेदनमा लेखेका छन्-‘पालिकामा न्यूनतम पाँच शैयाको अस्पताल स्थापना गर्ने झण्डै एक खर्बको यस अभियानले आधारभूत तहसम्मै स्वास्थ्यसेवा विस्तारमा युगान्तकारीयोगदान गर्ने छ ।’ उनले घुमाउराे भाषामा नेपाली काँग्रेसले लिएकाे नीतिका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रकाे ठूलाे लगानी बताउँदै संविधानमा निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरेकाे यिनको बलजफ्ती राष्ट्रियकरण गर्न नमिल्दैन बताएका छन् । ‘शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी कहिलेदेखि सुरु भयो र कुन आर्थिक नीति अन्तरगत राज्यले यी क्षेत्रका दायित्वबाट हात झिक्दै गयो, स्पष्ट नै छ । तर आज यसरी गरिएको लगानी र यसमार्फत खडा गरिएका संस्था या संरचना यथार्थ हुन्। हामीले संविधानमा निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरेका छौँ। यिनको बलजफ्ती राष्ट्रियकरण गर्न मिल्दैन ।’ सरकारले यस्ता निजी लगानीका क्षेत्रको विधिसम्मत नियमन गर्ने रअर्कातिर राज्यले राम्रा स्कुल, राम्रा अस्पताल र राम्रो प्रणाली मार्फत् नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्रीत भएकाे उनले बताए । त्यसका लागि सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने र चिकित्सा शिक्षामा छात्रवृत्तिको प्रतिशत बढाउने काम अगाडि बढेको उनले बताएका छन् ।
शनिबार नेपालभर १३८० जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३८० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३८० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १८ हजार ८३ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख १९ हजार ८२८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ५१५ जना निकाे भएसँगैं हालसम्म २ लाख ११ हजार १८६ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १९ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १४५४ पुगेकाे छ ।
हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा
हुम्ला । हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९ बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् । जिल्लाभरिका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ । जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने जनाइएको छ । छ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि पाँच वर्षसम्मकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिएको छ । त्यस्तै १२ महिनादेखि दुई वर्षसम्मका शिशुलाई आधा ट्याब्लेट र दुई वर्षदेखि पाँच वर्षसम्म उमेर समूहलाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेण्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । त्यसैगरी ६ महिनादेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिएको बोहराले जानकारी दिइन् । सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । रासस