चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

डडेल्धुरा । चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०/८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए । चिसोले बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । मङ्सिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, ज्वरो आउने तथा अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको सूचना अधिकारी पन्तको भनाइ छ । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र वृद्धवृद्धालाई असर पार्ने भएकाले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानुपर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर विष्टले बताए । “चिसोबाट जोगिन स्थानीयवासीले हिटर अथवा आगो बालेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा निस्सासिएर ज्यान जाने सम्भावना हुन्छ”, उनले भने, “झ्याल खुला राख्नुपर्छ । पानी उमालेर खाने तथा घरवरिपरि सरसफाइ गर्दा रोगबाट बच्न सकिन्छ ।” चिसोमा कोरोना भाइरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुका साथै रुघाखोकी लम्बिएमा वा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

भरतपुर । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ । बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो । अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले छ बिघा, भरतपुर आँखा अस्पतालले छ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन् । स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालले करिब १० बिघा मात्रै जमीन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले बताए । उनले भने, “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।” स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ । अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उनले जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिए । उनले भने, “बाँड्दाबाँड्दै जग्गा अभाव भयो ।” अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य सङ्घसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उनको भनाइ छ । शैक्षिक प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरिँदैछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउँछन् । मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन । गुरुयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ । चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामीको उपचार गर्ने सङ्घीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । तत्कालीन राप्ती दुन विकास कार्यक्रमअन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झण्डै ३१ बिघा जग्गा छुट्याउनु भएको थियो । अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जति मात्रै जमीन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ । डेढ बिघा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ । विगतमा जग्गा पाएका संस्थालाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन् । रासस

त्रिशूली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच एक महिनाअघि भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम शुरु भएको हो । अस्पतालबाट प्रवाह हुने सबै सेवामा बीमा कार्यक्रममा समावेश गरिएकाले बिरामीलाई स्वास्थ्य जाँचदेखि विशेषज्ञ सेवा एवं शल्यक्रियालगायतमा सेवाको लाभ लिन अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आग्रह गरे । उनका अनुसार बीमा बोर्डका कार्यकारी निर्देशक डा राधिका थपलिया र अस्पतालका तर्फबाट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसीले बोर्डको ‘सेवा सम्झौतापत्र’मा हस्ताक्षर गर्दै मङ्सिर १ गतेदेखि बीमा कार्यक्रम लागू गर्न लागिए पनि आइतबारदेखि सेवा सञ्चालनमा आएको हो । दुई पक्षबीच भएको सम्झौता पाँच वर्ष कायम हुनेछ । ‘स्वास्थ्य बीमा कार्यक्रम’का लागि न्यूनतम पाँच जनाको परिवार भएमा एक वर्षको रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ७०० थप गरेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यवस्था मिलाइएको त्रिशूली अस्पतालले जनाएको छ । ज्येष्ठ नागरिकका लागि भने बीमाबापत कुनै शुल्क नलाग्ने अस्पतालका अध्यक्ष न्यौपानेले जानकारी दिए । बीमा दायरामा समावेश सदस्यले एक वर्षसम्म त्रिशूली अस्पतालबाट प्रवाह हुने आधारभूतदेखि विशेषज्ञसम्मको सुविधा प्राप्त गर्न सक्नेछन् । अस्पतालबाट हाल विशेषज्ञ सेवा प्रवाहसमेत बीमा कार्यक्रममा समावेश भएकाले विपन्न एवं ग्रामीण क्षेत्रका बिरामीलाई जिल्ला बाहिर गएर उपचार सेवा लिँदा हुने आर्थिक भार घटाउन बीमा कार्यक्रम सहयोगी हुने अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए । रासस