आइतबार २६६ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप २६६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३२२ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३ हजार ९१८ पुगेकाे छ । नेपालमा आजसम्म २० लाख १२ हजार ४५२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ४०० जना निकाे भएसँगैं हालसम्म २ लाख ६१ हजार ४४४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १९५९ पुगेकाे छ ।
ज्योति विकास बैंकले दियाे कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर
काठमाडाैं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेकाे हो। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने वार्षिक करिब ५०० जना प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बैंकले जनाएकाे छ । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो। बैंकले १२औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु।४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु। ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।
गंगालाल अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
काठमाडाैं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने भएका छन् । अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएकाे हाे । ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणी अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका थिए । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अस्पतालले जनाएकाे छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।