थप ५० लाख डोज खोप ल्याउँदै सरकार, पहिलो खोप लगाएपछि असर देखिकालाई नदिने
काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उनले बताए । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरु देखा नपरेको बताए । डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्ष मुनिका बालबालिकाको उमेर समुहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उनको भनाई छ । पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्ववती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।
पूर्वमन्त्री जोशीको स्वास्थ्यमा सुधारः सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा
काठमाडौं । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो(सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘सोमबार बिहानदेखि उनले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन ।’ डा. झाले भने- ‘उनको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’ बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले बताएका छन् । ‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं ।’ उनले भने- ‘त्यसपछि उहाँलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ ।’ डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन । ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ ।’ झाले भने- ‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं ।’
प्रधानमन्त्री ओलीले भनेः बिएन्डसी अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन्छ
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका छन् । उनले आज बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बिएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताउँदै बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका हुन् । ‘बिएन्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ, अब यो शिक्षण अस्पतालको रुपमा परिचित हुनेछ, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदैछ,’ उनले भने ।