आइतबार खाेप लगाउँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । दास्राे चरणकाे खाेप अभियान अनुसार आइतबारबाट देशभरका ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।
नेपालमै पहिलोपटक सामुदायिक विद्यालमा सम्भाव्य फाउण्डेसनद्वारा मनोपरामर्श कक्ष स्थापना
काठमाडौं । नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना भएको छ । सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनापरामर्श कक्ष स्थापना भएको हो । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले उक्त विद्यालयहरुमा फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा मनोपरामर्श कक्ष स्थापना गरेको हो । गत मंगलबार दुई छुट्टाछुट्टै कार्यक्रमहरुबीच मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल तथा फादर जो थालरले ती कक्षहरुको उद्घाटन गरेका थिए । सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै पहिलो पटक भएको बताइएको छ । फाउण्डेशनले लकडाउनको समयमा पनि १ वर्ष निशुल्क टेलिफोनमार्फत परामर्श सेवा पनि संचालन गरेको थियो । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाउँदै आइरहेको छ । मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका सुपरभाइजर केशव श्रीष मगरले बताए । ‘यसै अभियान अन्तर्गत नै हाम्रो फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न १३ वटा विद्यालयहरुमा आफ्ना दक्ष मनोपरामर्शदाताहरुबाट वर्षैभरि नै नियमित रुपमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन् । साथै यस्तो सेवा भविष्यमा क्रमशः अरु थुप्रै सामुदायिक विद्यालयहरुमा पनि पु¥याउँदै जाने लक्ष्य सम्भाव्यले राखेको पनि उनले बताए । उचित मनोपरामर्शको अभावमा वर्षेनी हजारौं किशोरकिशोरीहरु एन्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्याका सिकार भइरहेको फाउण्डेसनकै अर्को परामर्शदाता रन्जीता महर्जन बताउँछिन् । उनले किशोरकिशोरी एवं युवावर्गमा लागुऔषध दुर्व्यसनी एवं आत्महत्याको दर समेत उत्तिकै बढ्दै गएको देखिएको बताइन् । उनी भन्छिन्, ‘मनोपरामर्श कक्षको अभावमा विद्यालयमा विद्यार्थीहरुले मनोपरामर्शदातालाई आफ्ना समस्याहरु, व्यक्तिगत कुराहरु, मनका भावनाहरु पोख्न सहज थिएन । विद्यालयको कुनै कुना काप्चामा बसेर यताउति हेर्दै कोही आउँछ कि, कसैले सुन्छ कि भन्ने त्रास मनमा लिएर उनीहरु मनोपरामर्श सेवा लिने गर्दथे । तर अब विद्यालयमा एउटा छुट्ट्र्रै शान्त, सजिलो र आरामदायक मनोपरामर्श कक्षको उपलब्धताले विद्यार्थीहरुले सहज र शान्त वातावरणमा अप्ठ्यारो नमानी मनका पीडा, उकुसमुकुस, जिज्ञासा, दुविधा आदि निर्धक्क फुकाउन सक्नेछन् ।’
चितवन जिल्लामा दोस्रो चरणको खोप ७३ स्थानबाट लगाइने
चितवन । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज सुई प्राप्त भइसकेको छ । जिल्लामा अहिले ६० वर्षमाथिका ६५ हजार ६०६ रहेका छन् । यस तथ्याङ्कअनुसार ६५ वर्ष समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको तिवारीले जानकारी दिए । खोप अभियानमा ४७९ स्वास्थ्यकर्मी परिचालन हुने छन् । यसमध्ये २५१ तालीम प्राप्त स्वास्थ्यकर्मी र २२८ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने छन् । अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ । दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ । अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ । पहिलो चरणमा जिल्लामा १३ हजार ५०० ले खोप लगाएका थिए । पहिलो चरणको पहलिो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८६२ पुगेको छ । अहिले सक्रिय सङ्क्रमित ४९ रहेको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये १०९ को मृत्यु भएको छ । अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सङ्क्रमित शून्य रहेको कार्यालयले जनाएको छ । रासस