जाजरकोटकाे भेरी नगरपालिकामा बर्ड फ्लु

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए । योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौंको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो । बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ । उनले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए । बर्ड फ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । उनका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३०० ब्वायलर कुखुरा, ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ । विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको उनले बताए । विभागले बर्ड फ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।

दिक्तेलमा फेमिली केयर अस्पतालको नियमित सेवा सुरु

खोटाङ । फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकबाट मङ्गलबारदेखि आफ्नो नियमित सेवा सुरु गरेको छ । काठमाडौंस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो । आगामी दिनमा ५० शय्याको क्षमता हुने गरी स्थापना गरिएको अस्पतालमा पहिलो चरणअन्तर्गत मङ्गलबारदेखि १५ शय्याबाट आफ्नो सेवा शुरु गरिएको सञ्चालक समितिका अध्यक्ष डा कृष्णकुमार राई ‘केके’ले बताए । ‘अधिकांश रोगको यहीँ र गम्भीर किसिमका बिरामीलाई राजधानी काठमाडौंमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्ने गरी दिक्तेल बजारमा फेमिली अस्पताल स्थापना गरिएको छ’, उनले भने, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग प्रतिस्पर्धा गर्न नभई सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएका छौँ ।’ स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गरिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसूति, बालरोग, जनरल सेवालगायत सबै किसिमका उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उनकी श्रीमती सीता केसीले दुई रोपनी नौ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेजसमेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ । कान्तिपुर दैनिकमार्फत विज्ञापन प्रकाशन गरेर एमडिजीपी एक, अर्थो सर्जन एक, गाइनाकोलोजिस्ट एक, पिडियट्रिसियन एक, डेन्टल सर्जन एक, मेडिकल अफिसर तीन, हेल्थ असिस्टेन तीन, स्टाफ नर्स तीन, फार्मेसिस्ट दुई, रेडियो ग्राफर एक, ल्याब टेक्निसियन एक, एएनएम तीन र ल्याब टेक्निसियन एक जना आह्वान गरिएको जनाइएको छ । मेडिकल तथा नर्सिङ कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेबी राईले बताएका छन् । काठमाडौँमा कार्यरत चिकित्सक तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म पाँच करोडभन्दा बढी लगानी भइसकेको अस्पताल सञ्चालक समितिले जनाएको छ । सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि राजधानी काठमाडौँ र खोटाङ जिल्लामा छुट्टाछुट्टै दुईवटा सञ्चालक समिति गठन गरिएको छ । खोटाङमा स्थानीय मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ । जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्ने गरी स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि जिल्लावासी हर्षित बनेका छन् । जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रियासहितको उपचार हुने गरी स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि हर्षित भएका हुन् । अस्पताल सञ्चालनमा ल्याइएको पहिलो दिन अस्पतालकै खर्चमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहितको टोली ल्याएर आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा जिल्लाका १८३ बिरामीले निःशुल्क सेवा लिएका थिए । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिले १५ शय्याको एउटा सरकारी तथा दुई सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला सिफारिस गर्नुपर्ने बाध्यता छ । विसं २०४८ मा स्थापना गरिएको सरकारी जिल्ला अस्पतालमा अहिले प्रसूति सेवासम्बन्धी मात्र शल्यक्रिया हुने गरेको छ । जटिल किसिमका बिरामीलाई लाखौँ खर्चेर हेलिकोप्टर तथा गाडी रिजर्भ गरेर थप उपचारका लागि राजधानी काठमाडौँलगायत बाहिर जिल्ला लानुपर्ने बाध्यता छ । रासस

१० कराेड लगानीमा चितवनमा मुटु अस्पताल सञ्चालन

चितवन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ । यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्ट्रेस इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ सेवा र शल्यक्रियासमेत हुने गर्दछ । अस्पतालमा सिसीयू र आइसीयू सेवासमेत सञ्चालनमा ल्याइएको छ । अस्पतालमा छिट्टै क्याथल्याब सञ्चालनमा ल्याइँदैछ भने ओपनहर्ट सर्जरीको योजनासमेत रहेको डा लौडारीले बताए । उनका अनुसार वाग्मती प्रदेशमा गङ्गालाल हृदयरोग केन्द्रपछिको मुटुरोग अस्पतालका रूपमा यसलाई विकास गरिँदैछ । चितवनसहित छिमेकी जिल्लाका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ । विगत ११ वर्षदेखि मुटुरोग उपचारमा सक्रिय लौडारी र विगत १३ वर्षदेखि मुटुको उपचारमा संलग्न डा मणिप्रसाद गौतमको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मीले अस्पताल सेवा दिँदै आएका छन् । अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माका अनुसार स्वदेशी र विदेशमा रहेका नेपाली गरी २४ जनाको लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको हो । नेपाली चिकित्सक र स्वास्थ्यकर्मी पनि लगानीकर्ताका रूपमा छन् । हालसम्म १० करोड लगानी भएको भन्दै उनले सेवा विस्तार गर्दै जाँदा लगानी थपिँदै जाने बताए । अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामी राजधानी र विदेश जान नपर्ने गरी अत्याधुनिक सुविधासम्पन्न बनाउँदै लगिने शर्माको भनाइ छ । पच्चीस शय्याको सो अस्पतालमा आठ चिकित्सकसहित ४५ जना कार्यरत रहेको अस्पतालका सूचना अधिकारी महेश पाण्डेले बताए । अध्यक्ष डा लौडारीका अनुसार मुटुरोगको कारकतत्वमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान, मद्यपान, मोटोपन, व्यायाम रहेका छन् । कतिपयलाई वंशाणुगतरूपमा पनि यो रोग देखिने गर्दछ । नेपालमा प्रति १० हजारमा ४०० देखि ५०० सम्मलाई मुटुरोग हुने गरेको अध्ययनले देखाएको लौडारीले बताए । उनले भने, ‘वर्षको एकपटक मुटुको परीक्षण सबैले गर्नुपर्छ ।’ समयमै रोगको पहिचान भएमा उपचार सहज हुने उनको भनाइ छ । मुटुसँग सम्बन्धित विशिष्ट विज्ञलाई समेत अस्पताल झिकाएर परीक्षण गराउने योजना रहेको उनले जानकारी दिए । चितवन मध्यनेपालको मेडिकल क्षेत्रमा अग्रणी जिल्लाका रूपमा परिचित छ । यहाँ भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गर्दछन् । मुटुका लागि अलग्गै अस्पताल खुलेसँगै यस क्षेत्रका धेरै बिरामी लाभान्वित हुने देखिएको छ । रासस