उपत्यका भित्रिने मुख्य २ नाकामा चेकजाँच शुन्य

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेकजाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ । आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पुर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय/सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन । यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ । मास्क लगाउने, दुरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन । यात्रुहरु बिना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपुर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् । यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो । रासस

कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्छ, सतर्क रहाैं: सीसीएमसी

काठमाडाैं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ । सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।