डा. गुप्ता भन्छन्- ‘प्रदूषण बढेको बेला चिसो नखानू, धुम्रपान गरे ज्यानै जाने खतरा’
दम तथा छाती रोग विशेषज्ञ डा. सुरजकुमार गुप्ता (नर्भिक अस्पताल) काठमाडौं । वायु प्रदूषणका कारण उकुसमुकुस बनेको छ वातावरण । खानेपानी, विद्युत, सञ्चार लगायतका पूर्वाधार निर्माणका नाममा खोतलिएका सडकहरुबाट उड्ने धूलोको उस्तै समस्या । घरबाट बाहिर निस्किँदा विषाक्त प्रदूषणका कारण आँखा पोल्ने, जिउ चिलाउने जस्ता समस्या धेरै काठमाडौंबासीको साझा समस्या बनिरहेको बेला कोरोनाको दोश्रो लहर तीव्र बन्ने त्रास पनि उस्तै छ । सबैतिरबाट मानव स्वास्थ्यमा गम्भीर असर हुने वातावरण बनिरहेको बेला चिसो खानेकुरा त्याग्न, ध्रुमपान नगर्न, मर्निङवाकमा नजान विशेषज्ञ चिकित्सकहरुले सल्लाह दिएका छन् । श्वासप्रश्वास प्रणाली नै जोखिममा पर्ने अवस्था सिर्जना भएको भन्दै काठमाडौंबासीले स्वास्थ्य, खानपान, रहनसहन र दैनिक क्रियाकलाप गर्दा विशेष ध्यान दिनुपर्छ यस्तो बेला मानव स्वास्थ्यमा हुनसक्ने असर, उमेर समूह अनुसारका व्यक्तिहरुलाई संभावित जोखिमबाट बचाउने उपाय यस्ता रहेका छन्- के असर गर्छ ? एकातिर वातावरणीय प्रदूषण, अर्कोतर्फ धूलाम्य काठमाडाैंका कारण श्वासप्रश्वास प्रणालीमा असर गर्छ । यसले छालाको एलर्जी हुने, नाक, कान घाँटी, आँखा चिलाउने, छिटो छिटो रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने समस्या आउनसक्छन् । यस्तो बेलामा निमोनियाको जोखिम पनि उच्च हुन्छ । जसलाई सुरुदेखि नै दमको समस्या छ, उनीहरु अझ बढी जोखिममा पर्न सक्छन् । चौतर्फी देखिएको प्रदूषणले श्वासप्रश्वास प्रणालीमा मात्र नभई छालामा समेत विभिन्न समस्या निम्त्याइ दिन सक्छ । यस्ता कुरामा लापरवाही बढ्यो भने समस्या क्रोनिक भएर मृगौला, मुटुजस्ता शरीरका महत्वपूर्ण अंगहरुमा समेत ठूलै समस्या निम्तिन सक्छ । मास्क नछाड्नू, हात धोइरहनू हामीले कोभिडको समयदेखि नै मास्क लगाउन सिक्यौं, यो राम्रो पक्ष हो । अहिले पनि वातावरण प्रदूषणसँगै कोभिड पनि बढिरहेकै छ । यस्तो बेलामा मास्क अनिवार्य लगाउनुपर्छ । निरोगीले पनि मास्क छाड्नुहुन्न । कोरोनाको विस्तार रोक्न पनि यो महत्वपूर्ण छ भने वायु प्रदूषणबाट फोक्सो लगायतका शरीरका महत्वपूर्ण अंग जोगाउन पनि मास्क लगाइरहने बानी बसाल्नुपर्छ । अफिसमा काम गर्दा वा स्कूलमा जाँदा वा घरमै बस्दा किन नहोस्, कुनै काम गरिन्छ वा केही छोइन्छ भने त्यसलगत्तै मिचीमिची हात धूने बानी बसाल्नुपर्छ । दिनमा कम्तीमा १० पटकसम्म हात धुने बानी बसाल्नु राम्रो हो । यस्तो बेलामा आँखाले नदेखिने धूलोका स–साना कणहरु अनुहारमा टाँसिएका हुनसक्छन्, त्यसलाई समय–समयमा पखाल्नका लागि दिनमा ४ पटक जति मुख धुने बानी बसाल्नु उत्तम हुन्छ । मर्निङ वाक नगएकै राम्रो यस्तो बेलामा जुनसुकै उमेर समूहका व्यक्तिले घरबाहिर मर्निङवाक नगएकै राम्रो हुन्छ । शरीर र स्वास्थ्यका लागि मर्निङवाकमा जानु, व्यायाम गर्नु, सन्तुलित भोजन खानु निकै राम्रो हो । तर अहिलेको समय मर्निङ वाकका लागि प्रतिकूल समय हो । अहिले काठमाण्डौका कतिपय ठाउँहरुमा पार्कहरु बनेका छन् । त्यहाँ समेत मानिसहरु घुम्ने चलन छ । त्यस्ता ठाउँमा घुम्न जाँदा भीडभाड छ छैन ख्याल गर्नुपर्छ । भीडभाड हुने ठाउँमा यस्तो बेलामा नगएकै बेस हुन्छ । त्यसो त सरकारले पनि बारम्बार भीडभाड नगर्नु, भोजभतेर नगर्नु, पाटी आयोजना नगर्नु भनेर सूचित गरिरहेकै छ । यस्तो बेलामा जनताले समेत सरकारलाई साथ दिनुपर्छ । मापदण्डहरुको कडाईपूर्वक पालना गर्नु सबैको हितमा हुन्छ । यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् यस्तो बेलामा तपाईलाई रुघाखोकी लाग्यो र २–३ दिनसम्म ठीक हुने संकेत देखिएन भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ । नियमित काम गर्दा सास फेर्न थोरै मात्र गाह्रो महसुस भयो भने पनि अस्पताल पुग्न ढिलाइ गर्नुहुन्न । सामान्य समस्या हुँदा हामी आफैं जान्ने भएर फार्मेसीमा गई औषधि लिएर प्रयोग गर्छौ, यो गलत मात्र होइन घातक प्रवृति हो । यी सबै मूर्खता छाडेर डाक्टरकोमा गइहाल्नु बुद्धिमता हुन्छ । प्रदूषण अचाक्ली बढेको बेलामा निमोनिया, फोक्सोमा पानी जम्ने, रगतमा इन्फेक्सन देखिने जस्ता समस्या हुन बेरलाग्दैन । त्यसकारण ज्वरो आएजस्तो हुने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् भने अस्पताल पुग्न ढिलाई गर्नुहुन्न । २४ घण्टासम्म पनि तपाईलाई सहजता महसुस भएन, दैनिक काम गर्न अप्ठ्यारो भयो भने विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ । यस्तो बेलामा स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरामा ध्यान दिनुहोस् । यस्तो बेलामा बालबच्चाको विषयमा झनै गम्भीर बन्नुपर्छ । मौसम परिवर्तन हुने समय समेत भएकोले यसलाई ‘एलर्जिक टाइम’ मानिन्छ । यस्तो बेलामा बालबच्चालाई रुघाखोकी त्यसै पनि लागिरहेको हुन्छ । तर, धेरै घ्यार घ्यार भयो, सास फेर्न कठिनाई भयो, सानो बच्चाले आमाको दूध चूसेन भने अस्पताल लैजान ढिलाई गर्नुहुन्न । बच्चाहरुले आफूलाई के भइरहेको छ भन्ने कुरा बताउन सक्दैनन्, तसर्थ बच्चाहरुको विषयमा लापरबाही गर्नुहुन्न । गुगल गर्नु कति ठीक ? पछिल्लो समय युवाहरुमा सबै कुरामा समाधान गुगलमा खोज्ने चलन छ । यो राम्रो बानी होइन। गुगलले हामीलाई सूचना मात्र दिन्छ, त्यसको भरमा कुनै काम गर्नु हुँदैन । गुगलले बाटो मात्र देखाउने हो । गुगलमा हेरेको वा पढेको भरमा फार्मेसीमा गएर औषधि लिएर खानु त झनै ठूलो मूर्खता हो । हामी शिक्षित छौं, तर अशिक्षितले झै काम गर्छौ । फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधि लिनु घातक हुन्छ । जुनसुकै असपतालका डाक्टरलाई भेट्नुहोस्, परामर्श नराम्रो हुन्न । औषधि चाहिए औषधि दिन्छन्, नभए सही सल्लाह दिन्छन् । गुगलले वेआउट दिंदैन । त्यसकारण गुगलको सल्लाहको भरमा जे पायो त्यही औषधि सेवन गर्ने बानी त्याग्नुपर्छ । धुम्रपान छाड्नू, पेय पदार्थ नलिनू अहिले युवाहरुमा धुम्रपान फेसनजस्तो बनेको छ । मास्क पनि प्रयोग नगर्ने, धुम्रपान पनि गर्ने र वायु प्रदूषणको अवस्था अझै बिग्रदै जाने हो भने यस्तो वातावरणमा धुम्रपान गर्नेहरुको ज्यानै जानसक्ने जोखिम हुन्छ । धुम्रपानले गर्दा कोभिड संक्रमण भए गम्भीर अवस्था त निम्त्याउँछ नै श्वासप्रश्वास प्रणालीमा मात्र नभई शरीरमा ९० प्रतिशत रोग यसकै कारण हुन्छ । एकातिर प्रदूषणले सास नै फेर्न कठीन परिरहेको समयमा उल्टो धुम्रपान गर्न थालियो भने र त्यस्तालाई कुनै संक्रमण भयो भने ९९ प्रतिशत बाँच्ने संभावना हुन्न । त्यसकारण आफ्नो मृत्यु आफैंले बोलाउने काम बन्द गरौं । धुम्रपान छाडेको राम्रो हो । प्रदूषणका कारण यसै पनि फोक्सोलाई असर पुर्याइरहेको छ, त्यसमाथि धुम्रपान गर्यो भने समस्या झनै क्रोनिक बन्नेछ । खानपानमा ध्यान यस्तो बेलामा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । भरसक चीसो खानेकुरा नखानुहोस् । तातो खानेकुरामा मात्र जोड दिनुपर्छ । पौष्टिक तत्वले भरिपूर्ण, ताजा, अर्गानिक उत्पादन खाने बानी बसाल्नुपर्छ । यस्तो बेलामा केटाकेटी, बूढापाका र रोगीहरुलाई कुनै पनि बाहानामा आइसक्रिम, फ्रोजन फूड, जंक फूड, चिसो पेय पदार्थहरु दिने भूल नगरौं । यस्ता वस्तुहरुको प्रयोगबाट कतिबेला निमोनिया हुन्छ र ज्यान नै जोखिममा पर्छ भन्ने टुंगो हुँदैन । यस्तोबेलामा चिल्लोपीरो पनि कम खानुपर्छ । सबै खानेकुरा उमालेर मात्र खाने गर्नुपर्छ । निश्कर्षमा वायु प्रदूषण, काठमाडाैंकाे धूलो धूँवा, त्यसमाथि विस्तार हुँदै गएको कोभिड संक्रमणमा हामीले लापरवाही गर्यौं भने जुनसुकै बेला भयावह अवस्था निम्तिन सक्छ । कम्तीमा हरेक घरका सदस्यले, हरेक नागरिकले आफ्नो स्वास्थ्य, आफ्नो परिवार, समाज र देशबासीकै स्वास्थ्य जोगाउने दायीत्वबोध गरेर मास्क लगाउने, भीडभाड नगर्ने, भीडभाडमा नजाने, सरसफाईमा विशेष ध्यान दिने, धुम्रपान त्याग्ने, चिसो खानेकुरा र पेय पदार्थ भरसक नखाने, चिल्लोपीरो नखाने, घरमै व्यायाम गर्ने, प्रशस्त पानी पिउने, अर्गानिक वस्तुहरु मात्र खाने, विभिन्न खाद्यवस्तु उमालेर मात्र खाने जस्ता बानी बसाले धेरै हदसम्म आफ्नो फोक्सो जोगाउन सकिन्छ, आफू पनि जोगिन सकिन्छ। तपाई एकजनाको गल्ती, लापरबाहीका कारण पूरा परिवार, समाज र देशले नै दुःख नपाओस् ।
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै
कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए । ‘वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ’, उनले भने, ‘विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।’ वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् । वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताए । वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उनले बताए । ‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जानैपर्ने अवस्थामा विशेष सावधानी अपनाई मास्क लगाउन भनेका छौँ’, उनले भने, ‘आगो बाल्दासमेत वायु प्रदूषण झन् बढ्ने भएकाले फोहर बाल्ने, गहुँखेतमा बाँकी रहेको भुसा तथा छाली जलाउनेजस्ता काम नगरिदिन भनेका छाैँ । धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय निर्माण कार्य गर्दा धुँवाधुलो नउड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरेका छौँ ।’ रातिको समयमा हावाको तापक्रम घट्न गई वायु प्रदूषण जमिनको सतह नजिक बढी हुने भएकाले वातावरणीय अवस्थामा सुधार नहुञ्जेल बिहानीको समयमा घरबाहिर गएर शारीरिक व्यायाम, प्रातः भ्रमणलगायतका कार्यसमेत नगर्न भनिएको उनको भनाइ छ । प्रदूषणका कारण दिउँसै बादल लागेजस्तो देखिन थालेपछि स्थानीय तहले स्थानीय बासिन्दालाई सार्वजनिक सूचना जारी गरी सचेत पार्दै आएका छन् । रासस
नागरिकले सहज तरिकाले खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा कोभिड-१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिले सम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिस्चितता गर्ने गरी थप कार्य गर्न निर्देशन दिए । कोभिड-१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिस्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोभिडको दोस्रो लहर आउने देखिएकाले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भिर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । अस्पतालहरुमा दक्ष जनशक्ति व्यवस्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडी बढन पनि समितिले निर्देशन दिएको छ । यस्तै कोभिड र ननकोभिडका बिरामीहरुको उपचार गर्ने विषयमा अहिलेदेखि नै योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्ने गरी अस्पतालहरु तोक्न पनि भनेको छ । यसबाहेक पीसीआर परीक्षणको रिपोर्ट समयमै उपलब्ध गराउने तर्फ गम्भिर बन्न समेत सरकारलाई निर्देशन दिएको छ । कोभिड लागेका बिरामी र ननकोभिडका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर कार्यान्वयन गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसबाहेक दोस्रो चरणको कोभिडबाट बच्न जनचेतनाका कार्यक्रमहरु लागू गर्न र सरकारी निकायहरुबीच आवश्यक समन्वय बढाई व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।