सिरहामा आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार
लहान । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनए । बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताए । यस्तै भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट एक/एक लाख आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाइ छ । कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत अपेक्षाकृतरूपमा पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँणेलले बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँणेलले जानकारी दिए । डिसीसिएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख, सिआइसिटी मोबिलाइजेशन शीर्षकमा १० लाख, अत्यावश्यक औषधि खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न सात लाख प्रदेश सरकारसँग माग गरेको जनाएको छ । स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उनको भनाइ छ । सिरहामा हाल १२ नयाँ कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । तीमध्ये छ जनाको जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा उपचार भइरहेको छ । रासस
पूर्वीनाका काँकडभिट्टामा भारतीयको अनावश्यक आगमनमा रोक
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थल नाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मङ्गलबार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पिसिआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उनले बताए । ‘अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ’, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भने, ‘भारतमा कोरोना भाइरसको सङ्क्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।’ भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पिसिआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो सङ्ख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ । सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् । सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन नभइसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ । रासस
काठमाडाैं महानगरले नि:शुल्क एम्बुलेन्स सेवा दिने, कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै
काठमाडाैं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो । ‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ,’ कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ । कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई रु ५० लाख निकासा पठाउने निर्णय भएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो । रासस