कोभिड उपचारको लागि कोषले १ लाखसम्म दिने, होम आइसोलेसनमा बस्नेले २५ हजार पाउने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आगामी असार मसान्तसम्म आबद्ध हुने योगदानकर्ताले विभिन्न सुविधा पाउने भएका छन् । कोषले नयाँ योगदानकर्तालाई कोषमा आवद्ध गर्न नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत निवृत्तभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा हस्तान्तरण गर्न सक्ने व्यवस्था गरेको कोषका प्रवक्ता बिबेक पन्थी बताउँछन् । उनका अनुसार कोषबाट सञ्चालनमा ल्याइएको वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकम निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ । यसरी अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने छन् । साथै ८० प्रतिशतसम्म विशेष सापटीको रूपमा प्रदान गर्न सकिने लगायतका व्यवस्था छन् । दुई लाख योगदानकर्ता आबद्ध निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा भन्दै २०७५ साल मंसिर ११ गते सरकारले ‘नयाँ युगको शुरुवात’ भन्दै सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । घाेषणा भएकाे करिव तीन वर्षकाेे अवधिमा कोषमा दुई लाख  बढी योगदानकर्ता आवद्ध भएका छन् । सामेबार बिहानसम्म कोषको तथ्यांक अनुसार १३ हजार ७९७ रोजगारदाता र दुई लाख ९९६ जना योगदानकर्ता कोषमा आवद्ध भएका छन् । जसमा प्रदेश नम्बर १ मा २० हजार ५८२ योगदानकर्ता, प्रदेश २ मा १४ हजार ३८२ योगदानकर्ता र सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ लाख ५० हजार ३१६ योगदानकर्ता आवद्ध भएका छन् । यस्तै, गण्डकी प्रदेशमा ७ हजार २०९ योगदानकर्ता, लुम्बिनी प्रदेशमा ७ हजार १५८ योगदानकर्ता, कर्णाली प्रदेशमा ५२३ योगदानकर्ता र सुदुरपश्चिम प्रदेशमा ८२६ योगदानकर्ता आवद्ध भएका छन् । कोषले एक हजार ५७६ जनालाई दुई हजार ५२४ पटक औषधि उपचार, स्वास्थय तथा मातृत्व योजना अन्तरगत तीन करोड २० लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ७५ लाभग्राहीलाई १०९ पटक गरी १९ लाख ७३ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत २५ लाभग्राहीलाई ३५१ पटक गरी ३७ लाख ८२ हजार र बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ५४७ लाभग्राहीलाई ५४९ दाबी भुक्तानी बापत चार करोड १८ लाख बढी रकम दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न चार शिर्षकमा २ हजार २२३ लाभग्राहीलाई ३ हजार ५३३ पटक गरी ७ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोभिड लागेमा १ लाख सम्मको उपचार कोषले कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचाररत योगदानकर्तालाई एक लाख रुपैयाँसम्म औषधि उपचार खर्च दिने भएको छ । कोषमा नियमित रुपमा रकम जम्मा गरेका श्रमिकलाई उपचार खर्च बापत एक लाख रुपैयाँ कोषले अस्पताललाई दिने भएको छ । यस्तैगरी, कोेरोना संक्रमण पुष्टि भएर होम आइसोलेसन तथा औषधी उपचारमा खर्च गर्नुनपर्ने श्रमिकलाई वार्षिक रुपमा २५ हजार रुपैयाँ दिईने प्रवक्ता पन्थीले जानकारी दिए । उनका अनुसार कोषमा आवद्ध भएका श्रमिकको कोरोनाका कारण मृत्यु भएमा खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान वा श्रीमती) लाई आजीवन निवृत्तिभरण दिइनेछ । बालबच्चाको हकमा १८ वर्षपूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिकवृत्तिका रूपमा दिने व्यवस्था रहेको छ । एकभन्दा बढी सन्तान भएमा सोही रकम दामासाहीले पाउने व्यवस्था छ ।

काठमाडौं महानगरपालिकामा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी रहेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो । समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषयमा सिफारिश गर्नेछ । कापमले तर्जुमा गर्ने महामारी नियन्त्रण कार्यक्रममा डा गणेश गुरुङ, डा अर्जुन कार्की, डा अनुप सुवेदी र डा शरद् वन्तलाई स्वास्थ्यविज्ञका रूपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । त्यस क्रममा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, शुद्धकुमार डङ्गोल, दीपेन्द्र लामा र दीपक केसीले महामारी व्यवस्थापन गर्न वडा तहबाट कठिन हुँदै गएको धारणा राखेका थिए । बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७८’ र ‘छात्रवृत्ति कार्यविधि–२०७८’ तर्जुमा गर्न सहमति दिएको छ । यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । रासस

ग्राण्डी अस्पतालले काेराेना संक्रमित र अन्य बिरामीलाई ‘टेलिपरामर्श सेवा’ दिने

काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ सुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा सुरु गरिएको जानकारी दिए । ‘उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्’, उनले भने । टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने उनको भनाइ थियो । ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन् ।