सचेत हौँ: सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ

तस्विर: द गार्डियन काठमाडाैं । आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले मिचीमिची हात धुने र स्यानिटाइजर गर्ने विषयमा विशेष ध्यान पु¥याएर त्यो अवस्था आउन नदिन सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन्, ‘भविष्यमा आइपर्ने परिस्थितिको समयमै आकलन गरी यस्ता विषयमा पनि हामी सबै खुला हुनुपर्छ । तर त्यो अवस्था आउन नदि‌‍औँ, हामी सबै संवेदनशील होऔँ, सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न स्वास्थ्य मापदण्डका सबै उपाय अपनाऔँ, यसैमा सबैको कल्याण छ ।’ सेनाले सुदूरपश्चिम क्षेत्रमा सोमबार एकैदिन कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका १३, मध्यपश्चिममा ११ र काठमाडौं उपत्यकामा ३८ शव सङ्कलन गरी व्यवस्थान ग¥यो । विगतको तुलनामा सङ्क्रमण तीव्र फैलिएको घटनाका रूपमा यो सङ्ख्यालाई लिन सकिन्छ । अघिल्लो सङ्क्रमणका समयमा ज्यान गुमाउनेको सङ्ख्या अहिलेको तुलनामा निकै कम थियो तर अहिले त्यो अवस्था रहेन । यद्यपि हालसम्म सामूहिक दाहसंस्कारको अवस्था बेहोर्नुपरेको छैन । मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएका खण्डमा सङ्क्रमण फैलन गई मृत्युदर बढ्ने सम्भावना छिमेकी मुलुककै घटनाले स्पष्ट पारिसकेको छ । मुलुकमा स्वास्थ्य उपकरण, साधन स्रोत र दक्ष जनशक्तिको कमीले आउन सक्ने चुनौतीलाई सामना गर्न कठिनाइ हुनेतर्फ सबै जनता सचेत हुनुपर्ने देखिन्छ । शव सङ्कलनका लागि राज्यमा उपलब्ध एम्बुलेन्स, जनशक्ति र सुरक्षितरूपमा अन्त्येष्टि गर्न आवश्यक विद्युतीय शवगृह कमीका कारणले पनि हाम्रा लागि व्यवस्थापनमा चुनौती खडा गर्ने देखिएको छ । सङ्क्रमण फैलन नदिई परिस्थितिलाई सुधार गर्न नसकिएको खण्डमा भविष्यमा आउन सक्ने स्थितिमा सुधार ल्याउन निकै गाह्रो हुनाले सुरक्षाफौजले पनि निषेधाज्ञा र स्वास्थ्य मापदण्डलाई पालना गराउन कडाइका साथ निगरानी गरेको देखिन्छ ।

नर्भिक ‘कोभिड अस्पताल’ मा रुपान्तरण, ९० वटै शैया भरिभराउ, बेड संख्या थप्ने तयारी

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले केही दिन अघि नै आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गर्न थालेको हो । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारेका छन् । सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई समेत स्वागत गर्दै उनले नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको बताएका छन् । ‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं । अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रीत गर्नुपर्ने देखिएको छ ।’, उनले थपे । कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शैया कोभिडका बिरामीले भरिएका छन् । नर्भिकमा रहेका ३५ आइसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन् । ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं ।’, उनले भने ।

भारतको सेरुम इन्स्टिच्यूटले खोप दिन सक्दैनौं, पैसा फिर्ता लैजाउ भन्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं । भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले नेपाललाई खोप दिन नसक्ने बताएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले विकास गरेको अस्ट्राजेनिका खोप उत्पादन गरिरहेको भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले नेपाललाई खोप दिन नसक्ने बताएको हो । सो कम्पनीले खोपको सट्टा पैसा नै फिर्ता लिन आग्रह गरेको छ । नेपालले सो कम्पनीसँग कोरोना विरुद्दको खोप किन्ने सम्झौता गरी १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । तर, अहिले सो कम्पनीले खोपको सट्टा पैसा फिर्ता लिन भनेको हो । सेरमले अहिले खोप दिन नसक्ने र नेपाल सरकारले मञ्जुर गरेमा बरु भुक्तान गरेको पैसा फिर्ता पठाउने बताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सेरुमले खोप पठाउन सुरु गर्नुपर्नेमा ताकेता गर्दा अहिले खोप दिन आनाकानी गरिरहेको बताए । सम्झौता अनुसार सो कमपनीले खोप खोप पठाउनु पर्ने भएपनि हालसम्म नपठाएको मन्त्रालयको भनाई छ । २० लाख डोज बारे खरिद सम्झौता भइसकेपछि थप खोप किन्ने विषयमा छलफल गर्दा सेरुमका अधिकारीहरूले कम्पनीको नेपालस्थित एजेन्ट, हुकुम इन्टरप्राइजेजमार्फत् प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए । हुकुम इन्टरप्राइजेजले कम्तिमा १० प्रतिशत कमिसन माग गरेको छ ।