स्वास्थ्यकर्मीले तलबको ५० प्रतिशत जोखिमभत्ता पाउने, अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई पनि एक वर्षका लागि काममा फर्काइने
काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमतिहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता तथा परिवारको खर्चका लागि सहयोग गर्ने बताए । यस्तै, उनले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई एक वर्षका लागि करारमा नियुक्त गरेर काममा लगाउने बताए । उनले कोरोना भाइरसको विषम परिस्थितिमा यसको संक्रमण कम गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे । ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने पनि बताएका छन् ।
सेती प्रादेशिक अस्पतालमा कर्मचारी कम हुँदा नमूना परीक्षण गराउनै सकस
सुदूरपश्चिम । आज बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा कोरोना परीक्षण गराउन चाहनेको लामो लाइन थियो । हल्का ज्वरो र टाउको दुख्ने जस्ता समस्या देखिएपछि कोरोनाको नमूना जँचाउन नाम दर्ता गर्ने भन्दै सर्वसाधारणको भीड देखिन्थ्यो । भीडभाडले आफूमा कोरोना सङ्क्रमण हुने भन्दै कतिपय व्यक्ति नमूनाका लागि नाम दर्ता नगरी फर्किइरहेका थिए । लामो लाइन देखेर अस्पताल परिससरमा सुरक्षा व्यवस्थापनमा खटिएका अस्पतालका एक कर्मचारीले भने, ‘पिसिआर जाँचका लागि पचास जनाभन्दा बढीको नाम दर्ता हुँदैन, लाइनमा बस्नेले मात्र नाम दर्ता गराउन पाउँछ ।’ लाइनमा नबस्नेले नाम दर्ता पनि गर्न नपाउने भनेपछि नमूना जँचाउन गएका स्थानीयवासीले भने, ‘अस्पताल प्रशासनले नमूना परीक्षण गर्ने गराउने कार्यलाई समेत उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा निकै समस्या भयो ।’ अस्पतालका कर्मचारीको भनाइपछि लाइनमा लागेकाहरु कतिपय अन्योलमा परेका थिए । भीड बढेपछि कतिपय स्वास्थ्यकर्मी धनगढी उपमहानगरपालिकाको स्वाब सङ्कलन केन्द्रमा जान सल्लाह दिइरहेका थिए । लाइनमा उभिएका अर्का एक जनाले भने, ‘जनता पिसिआर जाँच गराउन सङ्क्रमणको जोखिम मोलेर भए पनि बिहानै ७ः०० बजेदेखि लाइनमा बस्नु प¥यो, अहिले आएर पचासभन्दा बढीको परीक्षण नहुनेभन्दा नमूना परीक्षण गर्नै समस्या भयो ।’ बिहान १०ः०० बजेपछि मात्र कोरोना परीक्षणका लागि नमूना दिन पाइने भए पनि बिहानै ७ः०० बजेदेखि ज्वरो आएका, टाउको दुखेकाहरु लाइनमा बसेका थिए । घण्टौँ लाइनमा बस्दा पनि पालो नपाइएको भन्दै कतिपय फर्किएका थिए । लाइन छाडेर घर फर्किरहेको भेटिएका धनगढी–२ का एक व्यक्तिले सरकारी अस्पतालमा समेत पिसिआर टेष्ट गर्न निकै असहज हुँदा नमूना नदिई घर फर्किन बाध्य भएको बताए । ‘नमूनाको पिसिआर जाँच गर्न भनेर दुई दिन अस्पताल पुगिसके नाम दर्ता गराउनै सकेन’, उनले भने, ‘नमूना दिन यत्रो समस्या आउँदा सङ्क्रमित भएछ भने कहाँ गएर उपचार व्यवस्थापन गराउने भन्ने चिन्ता लागेको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयले शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पिसिआर परीक्षणको काम सेती प्रदेशिक अस्पतामा हुने गरेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका प्रमुख रमेश शाहीले जनशक्ति अभावले दिनमा चारदेखि पाँच सयको हाराहारीका व्यक्तिको मात्र परीक्षण गर्न सकिएको बताए । ‘जनशक्तिको अभावमा अस्पतालको एउटा पिसिआर मेशिन सञ्चालनमा आउन सकेको छैन’, शाहीले भने, ‘अर्को पिसिआर मेशिनबाट मात्रै दैनिक नमूना परीक्षणको काम हुने गरेको छ ।’ नमूना परीक्षण गर्न सकस देखिएपछि कोरोनाको जस्तो लक्षण भएका धेरै व्यक्ति घरमै आइसोलेशनमा बस्न थालेका छन् । कोरोनाको जस्तो लक्षण देखिएका स्थानीय एक जनाले सहज रुपमा नमूना परीक्षण गर्ने गराउने वातावरण नभएपछि लक्षण देखिएका धेरै व्यक्ति यतिबेला होम आइसोलेशनमा बस्न बाध्य भइरहेको बताए । होम आइसोलेशनमा बसेका व्यक्तिले टेलिफोनमार्फत स्वास्थ्यकर्मीसँग नियमित रुपमा स्वास्थ्य अवस्थाबारे परामर्श लिइरहेका छन् । रासस
कर्णाली प्रदेशले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई १ लाख राहत दिने
कर्णाली । प्रदेश सरकारको मन्त्रिपरिष्द बैठकले काेराेनाकाे कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई एक लाख राहत दिने निर्णय गरेकाे छ । बैठकले सामाजिक विकास मन्त्रालय समेतसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई कोभिड रोगका कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई प्रति मृतक एक लाखका दरले प्रदेश विपद् कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे । यस्तै बैठकले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट पनि प्रदान गर्ने भएको छ ।