गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण, सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पनि अस्वस्थ
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण देखिएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार उनले स्वाब दिएका थिए । यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पनि त्रिलोचन भट्ट पनि अस्वस्थ भएका छन् । बिगत ४ दिन देखी मुख्यमन्त्री भट्ट अस्वस्थ भएर निवासमै आराम गरिरेहका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार भट्टलाई मौसमी भाइरल ज्वरोबाट प्रभावित भएको बताइएको छ ।
कैलालीका कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन
कैलाली। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको छ । उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिए । उनले ग्यास सञ्चालनमा केही कठिनाइ, पेश्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह गरे । विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन दिए । अनुगमनमा सामाजिक विकासमन्त्री सुवेदी, प्रदेशको सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र सचिव रघुराम विष्ट लगायतको सहभागिता रहेको थियो ।
७ जना ओभरसियरमा कारोना देखिएपछि नागढुङ्गा सुरुङमार्गको काम प्रभावित, ५०० जना कामदार जाेखिममा
काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा कार्यरत ७ जना ओभरसियरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सुरुङमार्गको काम प्रभावित बनेको छ । सरकारले तोकेको मापदण्ड अपनाएर हालसम्म काम भइरहेको भएपनि साइटमा खटिने ७ जना ओभरसियरमा कोरोना संक्रमण देखिएपछि काम प्रभावित भएको हो । हालसम्म निर्माणको गतिले तीव्रता लिँदै आएको यस सुरुङमार्गको काममा निषेधाज्ञा भएपछि भने केही असर परेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । ‘निषेधाज्ञा भएपनि हामीले सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना गरेर निरन्तर काम गरिरेहका छौं, तर आज मात्रै ७ जना ओभरसियरलाई कोरोना संक्रमण देखिएको छ, यसले कामलाई केही प्रभाव पार्ने अनुमान हामीले गरेका छौं,’ उनले भने । उनले निषेधाज्ञाको समय भएपनि निर्माण सामग्री र कामदारहरुको संख्या भएकोले ढुक्क भएर काम गरिरहेको भएपनि केहीमा कोरोना देखिएपछि भने फेरि निर्माणको काममा समस्या आउन सक्ने बताए । यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारी (सीडीओ) हरुको मंगलबारको बैठकले पुराना पासहरु खारेज गर्ने निर्णय गरेसँगै कामका लागि ओहोर दोहोर गर्न समस्या भइरहेको उनले बताए । नयाँ पास लिनको लागि आज छलफल भइरहेको छ, नयाँ पास मिल्यो भने काम नरोकिएर धमाधम हुन्छ, पास नमिल्यो भने फेरि समस्या आउँछ, केहीमा कोरोना देखिएसँगै साइटमा कामदारहरु पनि डराएका छन्, उनीहरुलाई हामीले सुरक्षित किसिमले काम गराइरहेका छौं,’ उनले भने । उनका अनुसार अहिले साइटमा ५ सय जना कामदार छन् । ओभरसियरहरुमा कोरोना देखिएसँगै साइटमा रहेका ५ सय जना कामदारहरु जोखिममा रहेका छन् । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको उनले बताए । कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, विस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उनले बताए । अवको १४ महिना भित्र अरु काम बाँकी रहे पनि सुरुङ खन्ने काम सम्पन्न हुने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गरेका थिए । काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाई २.५ किलोमिटर, चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।