लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

लमजुङ । यहाँस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो । अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भने, ‘दिउँसोबाट सुरु गरेर राति अक्सिजन प्लान्ट जडान गरिसक्यौँ, प्लान्ट स्थापना भइसके पनि हाल प्लान्ट निर्माण गरिएको घरको छानो हाल्ने काम आज सकिन्छ, त्यसपछि अब दुई दिनभित्रै वितरण गर्ने तयारीमा छौँ ।’ अक्सिजन उत्पादन गर्न सुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उनको भनाइ छ । जिल्लामा शनिबार बिहान प्लान्टका निर्माण सामग्री आइपुगेपछि दिउँसोबाट जडान कार्य थालनी गरेको थियो । यस अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ  । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेशन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने तयारी भएको साथै अस्पतालका ८३ श्ययामा नै पाइपलाइन जोड्ने अस्पतालले जनाएको छ । तत्कालका लागि भने कोरोना सङ्क्रमितलाई प्राथमिकता दिँदै २५/३० श्ययामा मात्र वितरण गर्ने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । अस्पतालमा अक्सिजनसहितको २५ श्यया आइसोलेशनको रहेको छ । यहाँ हाल ५० अक्सिजन सिलिण्डर रहेको बताइएको छ । यहाँ यतिबेला १७ कोरोना सङ्क्रमित उपचारत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई दैनिक १७ वटा अक्सिजन आवश्यक पर्ने र पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले भन्नुभयो, “अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मङ्सिर महिनामा ७५ लाख पठाएको थियो, सोही बेलाबाट ठेक्का प्रक्रिया शुरु गरेर ५५ लाखमा प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नलाई दिइएको थियो । रासस

राजनीतिक निकासको एउटै सूत्र निर्वाचन हाे: एमाले नेता बस्नेत

काठमाडाैं । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग आज उहाँले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको उनले बताए । निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको भन्दै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताए । सरकारमा जान हतारो गरेका र सरकारको नेतृत्व लिने चाहना गरेकाहरुले मङ्सिरमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउन सक्छन् भन्दै उनले संसदले बिजनेस नपाएर ‘थारो गाई’ जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको बताए । ‘संसद थारो गाई जस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो, उनले भने, ‘दलहरु बीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो ।’ गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते फैसला गरी राजनीतिक निकासका लागि बाटो खोलिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि पद्दति उल्लङ्घन गर्ने/गर्न लगाउने, सत्ता लिप्साका लागि कीर्ते हस्ताक्षर गर्ने/गराउने, पार्टीको निर्णय विपिरीत जाने/जान लगाउने जस्ता आपराधिक गतिविधिका कारण निर्वाचनमा जानुपरेको बताए । सरकारले आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर सफल पार्नुपर्छ भन्दै उनले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले निर्वाचनको विरोध गरेको आरोप लगाए । नेकपा एमाले निर्वाचनमा होमिसकेको बताउँदै उनले विरोध गरेर निर्वाचनमा नलाग्नेहरु आफैँ पछाडि पर्ने टिप्पणी गरे । सरकार निर्वाचन र कोरोना भाइरसको नियन्त्रणमा केन्द्रीत हुने बताउँदै उनले सबै पार्टीहरु निर्वाचन र कोरोना भाइरसलाई परास्त गर्न जुट्नुपर्ने औँल्याए ।

कोभिड-१९ रोकथाम र नियन्त्रणमा देशभर उल्लेखनीय सहयाेग गर्दै शारदा ग्रुप

काठमाडौं । कोभिड नियन्त्रणमा सहयोग पुर्योउने उदेश्यको साथ शारदा ग्रुप तथा यस अन्तर्गत लगानी भएका कम्पनीहरुले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विभिन्न स्थानमा आर्थिक सहयाेग गरेकाे छ । यस क्रममा कम्पनीले दुहबी नगरपालिकामा ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियु भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ साथसाथै बिरामीहरुको लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाहरुको लागि निःशुल्क भोजनको समेत व्यवस्था गरेको छ । काठमाडौंमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ । यस्तै कम्पनीले लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको छ । साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेका छौं । यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गरिरहेका छन् । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसियु र आईसोलेसन सहितको कोभिड सेन्टरको लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको छ ।