नवलपरासी जिल्लामै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको छ । अस्पतालले शुक्रबार साँझ शल्यक्रियामार्फत सफलरुपमा प्रसूति गराएको हो । अस्पतालका एमजिडिपी (जनरल प्राक्टिसमा स्नातकोत्तर गरेका) चिकित्सक कमलराज न्यौपाने तथा उनको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर प्रसूति गराएको अस्पताल व्यवस्थापन समितिका सदस्य नरनाथ पाण्डेले बताए । ‘जिल्ला अस्पतालबाट सामान्य प्रसूति सेवा उपलब्ध भइरहेको थियो”, पाण्डेले भने, ‘तर हिजो भने जिल्लामै पहिलोपटक शल्यक्रिया गरेर प्रसूति गराउन सफल भएका छौँ ।’ हालसम्म जिल्लाका अन्य कुनै पनि अस्पतालले शल्यक्रियाबाट प्रसूति गराएका थिएनन् । अस्पतालमा कावासोती–१२ की २६ वर्षीया गर्भवती मधु सुनारको शल्यक्रियाबाट प्रसूति गराइएको हो । ‘बिरामीमा प्रसूतिसम्बन्धी कडा खालको लक्षण देखिएको थियो, फेरि हिजो भरतपुर लैजानका लागि सडकसमेत अवरुद्ध भएका कारण यहाँका चिकित्सकले ठूलो जोखिम लिएर शल्यक्रियाबाट प्रसूति गराउनुभयो’, पाण्डेले भने, ‘सामान्यतया ३८ हप्तामा सुत्केरी हुनुपर्नेमा उहाँको गर्भ रहेको ४० हप्ता चार दिन भइसकेको रहेछ, त्यसैले पनि उहाँको अवस्था अलि जटिल थियो ।’ एमजिडिपी चिकित्सकसहित बाल रोग विशेषज्ञ तथा तीनजना कन्सल्टेन्ट चिकित्सक तथा उहाँहरुको समूहले सुनारको सुरक्षित रुपमा प्रसूति गराएको पाण्डेको भनाइ थियो । सुनारको शल्यक्रियाबाट तीन किलो ३०० ग्रामको स्वस्थ शिशु जन्माइएको भन्दै अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको पाण्डेले बताए । ‘गर्भवतीको अवस्था क्रिटिकल भएर डर लागेको भए पनि कन्फिटेन्स भएर आफूहरुले सुरक्षित रुपमा प्रसूति गराएको शल्यक्रियामा संलग्न डाक्टरहरुले बताउनुभएको थियो’, पाण्डेले भने, ‘अब प्रसूति गराउन भरतपुर लैजानुपर्ने समस्या हटेको छ, हामीले जस्तोसुकै जटिल प्रकारका प्रसूति पनि गराउन सक्छौँ भन्ने आत्मविश्वास यहाँका डाक्टरहरुमा पलाएको छ ।’ अस्पतालमा केही समय अगाडिसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका भए पनि हाल दरबन्दी रिक्त हुँदा स्त्री तथा प्रसूति रोग विशेषज्ञको माग गरिएको पाण्डेले बताए । अस्पतालमा शल्यक्रियाको समयमा रगत माग भएमा नजीकै रक्तसञ्चार केन्द्रसमेत रहेकाले अब ढुक्क भएर शल्यक्रिया गरेर प्रसूति गराउन सकिने उनको भनाइ छ । मध्यविन्दु जिल्ला अस्पताल विसं २०७६ फागुन अगाडि सामुदायिक अस्पतालका रुपमा सञ्चालनमा थियो । करीब एक दशकअगाडि धनधाञ्याचल महायज्ञ लगाएर सङ्कलन भएको रकमबाट समुदायिक अस्पताल निर्माण गरिएकामा ७६ फागुनपछि प्रदेश सरकारको निर्णयअनुसार जिल्ला अस्पतालमा परिणत गरिएको हो । मध्यविन्दु अस्पताल व्यवस्थान समितिका अध्यक्ष डा गोपाल खनालले अस्पतालबाट जिल्ला अस्पतालले दिने सबै सेवा प्रदान भइरहेको बताए । अस्पतालमा पाँच श्ययाको आइसियु तथा तीनवटा भेन्टिलेटर भएको भन्दै चिकित्सक खनालले गम्भीर प्रकृतिका बिरामीहरुको उपचार सहज रुपमा भइरहेको बताए । ‘हामीसँग अपरेशन थिएटरमा दुईवटा टेबुल छन्, एकसाथ दुईवटा अपरेशन गर्न सक्छौँ’, डा खनालले भने, ‘केही समय अगाडि एपेन्डिसाइटका बिरामीको समेत सफल रुपमा शल्यक्रिया गरेका थियौँ ।’ सामान्य स्वास्थ्य समस्या आउँदा पनि जिल्लावासी भरतपुर जानुपर्ने समस्याको अन्त्य भएको खनालले बताए । ‘हामीले अहिले अस्पतालमा पिसिआर मेशिनबाट कोरोना परीक्षण गरिरहेका छौँ’, खनालले भने, ‘कोभिडका बिरामीसँगै अन्य बिरामीलाई समेत सुरक्षित सेवा दिइरहेका छौँ ।’ अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट बिरामीलाई अक्सिजनसमेत प्रदान गरिरहेको उहाँको भनाइ छ । रासस

शुक्रबार ३ हजार ४५१ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण मुक्त भएका हुन । हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै, पछिल्लो २४ घण्टामा १०ह जार ५९६ जनाको नमुना परीक्षण गर्दा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।

बिहिबार ४ हजार बढीले जिते काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार १७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार १३० जनाको पिसिआर र ३ हजार ४५५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ८५७ जना र एन्टीजेटमाफर्त ९०३ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ९ हजार १४५ पुगेको छ ।