कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । ‘पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ’, निर्देशक डा खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।’ आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । रासस

शनिबार ४ हजार ९१७ जनाले जिते काेराेना, संक्रमित पनि घट्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ९१४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ४ हजार ७०४ जनाको पिसिआर र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार १७४ जना र एन्टीजेटमाफर्त ८४२ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ९७५ पुगेको छ ।

दुई दिन यता सुदूरपश्चिममा काेराेना मृत्यु दर शून्य

सुदूरपश्चिम । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार ४४२ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ । हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा आठ हजार ३४४ र पिसिआर परीक्षण एक लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना सङ्क्रमित भएका छन् । पिसिआर परीक्षण एक वर्ष अघि देखिनै शुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गएको वैशाखदेखि गर्न थालिएको हो । एन्टिजेन परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर दुई दशमलब ९१ प्रतिशत रहँदा पिसिआर परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर शून्य दशमलब ९३ प्रतिशत रहेको छ । अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ ।