पछिल्लो २४ घण्टामा थप १३३३ संक्रमणमुक्त, थपिए २९७९ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३३३ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५४३ कोरोना संक्रमित फेला परेका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ भने थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

६ बजेदेखि लाइन बसेकाले २ बजे पनि खाेप लगाउन पाएनन्

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरे अनुरुप खोप केन्द्रमा लाइन बसेका धेरैले खोप नलगाई फर्कनु पर्यो । उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाडाैं महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापनदेखि आक्रोशित बनेका थिए । उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए । मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाएन्न । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे । ‘बेस्स री गाहो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रो संग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ वर्षमा पनि इनजेक्सन नपुग्ने भईसक्यो । ८५ वर्षका वृद्ध लाइन बस्दा बस्दै ३ ४ जना त लडिसके । तिनको जिम्मेवारी कसले लिन्छ ? पुलिसले भित्र जान दिँदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई ? जनता भेडा हुन् ?, ‘ उनले भने । बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बस्नुभयो तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे । उनले प्रशासनलाई विश्वकै नायालक भएकाे बताए । ‘ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोली आउ यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलीका लागि कुपन भनेर दिएको भए हामी भोली आईहाल्थ्यौ नि,’ उनले भने । आलोकनगर टोल सुधार समितिको अध्यक्ष समेत रहेका डिआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाएनन् । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सुचना निकालेपछि उनको धैर्यता टुट्याे । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गरे । सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना निकालेको थियो । काठमाडाैं महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

टोखाले तीन हजार नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडाैं । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत तीन हजार जनाको पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने बताएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने नगरवासीको मौलिक हकलाई सुनिश्चित गर्दै केन्द्र सरकारबाट प्रदान गरिने निःशुल्क औषधिका साथै नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउने बताए । वडा नं २ मा स्थापना भएको टोखा चण्डेश्वरी प्राथमिक केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिनका लागि नगरवासीलाई अभिप्रेरित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । नगरपालिकाभित्रका गर्भवती एवं सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै टोखाले ‘महिलासँग उपमेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत गर्भवती एवं सुत्केरीलाई निःशुल्क क्याल्सियम, फोलिक एसिड चक्की र निःशुल्क गर्भ परीक्षण सेवा उपलब्ध गराइने भएको छ । गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र प्रजनन स्वास्थ्य प्रवद्र्धनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उपप्रमुख ज्ञानमाया डङ्गोलले बताए । नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न खोप केन्द्र निर्माण गरी बालबालिका तथा जोखिममा रहेका वयस्कहरुका लागि थप खोप प्रदान गर्ने भएको छ । यस्तै शारीरिक एवं मानसिक स्वास्थ्यका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘एक वडा, एक योग ध्यान केन्द्र तथा व्यायामशाला’ निर्माणकार्यलाई अगाडि बढाउने बताइएको छ । यो गत वर्षदेखि शुरुआत गरिएको कार्यक्रम हो । नगर क्षेत्रका निजी अस्पताल तथा क्लिनिकले नगरवासीलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कम्तीमा १५ प्रतिशत छुट गराउने कार्यलाई पहल गर्ने नगरपालिकाले जनाएको छ । टोखामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, इसान बाल अस्पताल वसुन्धरा, ग्रीनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल एवं प्रसूतिगृह गोँगबु गरी निजी लगानीमा सञ्चालित पाँचवटा अस्पताल रहेका छन् । रासस