एसटिसी ग्रुपद्वारा वाग्मती प्रदेशलाई अक्सिजन सिलिण्डर हस्तान्तरण
काठमाडाैं । एसटिसी ग्रुपले वाग्मती प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर हस्तान्तरण तथा रेगुलेटर हस्तान्तरण गरेकाे छ । संस्थाले प्रदेश सरकारलाई २०० थान अक्सिजन सिलिण्डर सहयाेग स्वरुप प्रदान गरेकाे हाे । कम्पनीकाे प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण प्रसाद दुलालले उक्त सिलिण्डर र रेगुलेटर मुख्यमन्त्री डाेरमणी पाैडेललाई एक कार्यक्रम मार्फत हस्तान्तरण गरेका थिए । अटाेमाेबाइलकाे विभिन्न ब्राण्डकाे स्पेयर्स पार्टस, टायर, ल्युब तथा ब्याट्रिकाे आधिकारिक विक्रेता तथा उत्पादक हाे ।
शुक्रबार एक हजार ३१६ जना संक्रमणमुक्त, २ हजार २३९ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार तीन सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार संक्रमणमुक्त भएसगैँ हालसम्म ६ लाख १६ हजार नौ सय २९ जनाले कोरोना जितेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ७९ जना र चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ६० जना गरी दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० जनासहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ हजार तीन सय ४० जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार पाँच सय ९० जना रहेको छ ।
चीनबाट आइपुग्यो ८ लाख डाेज खोप
काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको ४० लाख डोजमध्ये शुक्रबार ८ लाख डोज खोप नेपाल आइपुगेको हो । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप काठमाडौं ल्याएको हो । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । उक्त खोप ६० वर्षभन्दा कम उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । यसअघि चीन सरकारले अनुदान स्वरुप दिएको खोप ६० वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई दिईएको थियो ।