चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो । यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो । स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोर्डना खोप खोप केन्द्रमा पठाएको छ । आइतबारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन अशिस्डेण्ड मानबहादुर रोकायाले जानकारी दिए । खार्पुनाथ ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली एक हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए। खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई मोर्डना खोप एक साथ दिइने भएको छ । उनका अनुसार उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य सबै वडामा खोप लगाइने छ । लिमीमा चिसो र हिमपात भएका कारण स्वास्थ्यकर्मी पुग्न नसक्ने भएकाले यहाँका बालबालकालाई न्यानो भएपछि मात्रै खोप लगाइने भएको हो । जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ । जिल्लामा रहेका नौ हजार नौ सय चालीसमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि जिल्लामा ६ हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले बताए । जिल्लासदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ का सहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ ।

मन्त्री खतिवडाले आफैले पढेको विद्यालयबाट शुरु गरे खोप अभियान, सबै बालबालिकालाई लगाइने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताएकाे मन्त्रीका प्रेस सल्लाहकार शन्तराम विडारीले जानकारी दिए । उनले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताए । अधिकांश जिल्लाबाट खोपको व्यवस्था मिलाइएकाले स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेको जनाइएको छ । सरकारले आजदेखि सातवटै प्रदेशका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप दिन सुरु गरेको हो । तीन प्रदेशका आठ जिल्लामा भने यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चलाइने भएको छ । ती आठ जिल्लामा वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी छ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र आगामी माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई÷तीन विद्यालय मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय गरिएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयमा अभियान सुरु भएको हो । पहाडी र दुर्गग जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तराई र शहरी ठाउँमा २०० विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ । रासस