मूत्रथैलीको पत्थरी निकाल्दा नर्भिकले शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने

vicकाठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट दिने अफर सार्वजनिक गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साविकको शुल्कमा २० प्रतिशत छुट दिने अफर सार्वजनिक गरेको हो । नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ । मूत्रथैलीको पत्थरी निकाल्नका लागि गरिने शल्यक्रियाहरुमा पुस महिनाभरि साबिकको तोकिएको शुल्कमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ । त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो । सोही अनुसार बिरामीहरुले घोषित सहुलियत समेत पाइरहेका छन् ।

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

काठमाडाैं । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । डेढ वर्ष अघिदेखि सो काम सुरु भएको थियो । कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाइएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिइन्। अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यमा पाइपलाइनबाट अक्सिजन पु¥याउने लक्ष्य छ । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो । अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले दैनिक सरदर एक हजार हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य बीमासहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । रासस

चौधरी फाउण्डेसनले कान्ती बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने

काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउण्डेसन र अस्पतालकाबीचमा आज भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरि हालको १२ शैयालाई विस्तार गरी २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउण्डेसन चौधरी ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । ‘हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्नु हाम्रो कर्तब्य हो’ चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसैले हामीले बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्छ ।’ अध्यक्ष चौधरीले दुर–दराजसम्मका सर्वसाधरण र निम्न आर्थिक स्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरिय उपचार सेवा पाउन भन्ने ध्ययले आफुहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । ‘हामीले यो वार्ड यथासिघ्र निर्माण सम्पन्न सक्छौ’, उपाध्यक्ष चौधरीलेले भने, ‘आउँदा दिनहरुमा पनि अस्पतालको आवश्यकता बमोजिम थप सहयोग गर्नेछौं ।’ अस्पतालका तर्फबाट बोल्दै निर्देशक प्रा.डा. अजित रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए । कान्ति बाल अस्पतालका अतिरिक्त फाउण्डेसनले सोलुखुम्बु जिल्लाको नाम्चे स्थित माउन्टेन मेडिकल इन्सटिटुयुटलाई सहयोग गर्ने भएको छ । चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड महामारीकाबीच गत जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण सम्पन्न गरेकोे थियो । फाउण्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तरगत हाल सरकारी अस्पतालका पूर्वधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ ।