हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा सिटामोल अभाव

सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासीको गुनासो छ । स्वास्थ्यचौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) का विरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका विरामीहरु औषधि नपाएर घर फर्किनु परेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् । सो स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन् । ‘केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो’ स्वास्थ्यचौकीका अनमी बिजौरा शाहीले भने । व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयवासीको छ । ‘गाउँभरि सिटामोलको अभाव छ । स्वास्थ्य चौकीमा समेत सिटामोल छैन,’ उनले भने । गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ । सिटामोल जस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको स्वास्थ्यकर्मीको भनाइ छ । सो स्वास्थ्यचौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्सहरु पनि नभएको अनमी बिजौरा शाहीले बताए । यसका साथै सलायन पनि नभएको उहाँको भनाइ छ । प्रायः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्छलगायतका समस्या लिएर स्वास्थ्यचौकीमा आउनेहरु सिटामोल, एमोसिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको शाहीले बताए । यस्तै हिउँदको समयमा दमका बिरामी स्वास्थ्यचौकीमा बढी आउने गरेको भए पनि उनीहरुलाई चाहिने आवश्यकपर्ने औषधिसमेत नभएको बताइएको छ । स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, औषधि अभाव हुँदा नागरिकको गाली आफूहरुले खानुपर्ने अवस्था आएको बताए । उपचारका लागि आएका बिरामीलाई औषधि छैन् भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उनको भनाइ छ । स्वास्थ्यचौकीमा औषधि अभाव भए पनि आफूहरु नियमित कार्यालयमा आउने गरेको र उपचारका लागि यहाँ आउने बिरामीलाई औषधि छैन भन्दा उनीहरुले रिसाउने र गाली गर्ने गरेको उनले बताए । औषधि अभाव हुँदा अहिले आफूहरुको काम कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र भएको उनको भनाइ छ ।

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । ती पालिकाका ती उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको हो । ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७ ,ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् । यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पु¥याउन कठिनाइ हुने जनाइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागिनसकेको उनले बताए । यसैगरी, दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक÷दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ । जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो । पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत ती उमेर समूहका बालबालिकाको सङ्ख्या छ हजार ६७ रहेको जनाइएको छ ।

शुक्रबार काेराेनाकाे कारण ४ जनाकाे मृत्यु

काठमाडौं  । शुक्रबार कोराेनाभाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार कोरोनाको कारण ४ जनाको मृत्यु भएको हो । यस्तै आज २३५ जना नयाँ संक्रमित थपिएका छन् । कुल ९ हजार ८४ जनाको परीक्षण गर्दा २३५ जनामा संक्रमण देखिएको हो । नेपालमा हाल ४ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् ।