कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित
काठमाडौं । सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पौष १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ को खोप थप दिनको लागि जारी भएको सूचना अनुसारको कार्यक्रम हाललाई स्थगित गर्छौं । सबै नागरिकलाई कोभिड १९ विरुद्धको पुरा मात्रा खोप चाडै उपलब्ध गराउन महत्वपुर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा संचालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषय तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने तयारी गरेको थियो ।
दोलखाको भिमेश्वरमा निःशुल्क स्वास्थ्य शिविर, ३ दिनसम्म चल्ने
काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ शिविर संचालन गरिएको छ । सत्याग्रह साप्ताहिक पत्रिका र भिमेश्वर नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ शिविस संचालन गरिएको हो । शिविरको लागि आवश्यक स्वास्थ्य सेवा काठमाडौं मेडिकल कलेजले व्यवस्थापन गरेको छ । दोलखाको स्थानीयको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उदेश्यले शिविर आयोजना गरिएको सत्याग्रह साप्ताहिकका प्रधान सम्पादक सिताराम ढुंगेलले जानकारी दिए । शिविस पुस २१ गतेदेखि २३ गतेसम्म संचालन हुनेछ । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ शिविर संचालन गरेको हो । शिविर विहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म संचालन हुनेछ । शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ईसीजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, युएसजी, हेपाटाइटिस, सुगर, पिसाब परीक्षण, युरिक एसिड, रक्त समूह पहिचान, गर्वावस्था परीक्षण लगायतका सेवा उपलब्ध हुने जनाइएको छ । यी सबै सेवा निःशुल्क पाइने आयोजकले जानकारी दिएको छ । शिविर संचालनको लागि डाक्टर, नर्स र ल्याब टेक्नेसियन गरी ३५ जनाको टोली काठमाडौ मेडिकल कलेजबाट खटेका छन् ।
भारतमा २४ घण्टामा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४६ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस/एएनआई