थप १ हजार १६७ जनामा देखियो कोरोना, २२४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १२ हजार ६३२ जनाको परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यो अवधिमा २२४ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा थपिए एक लाख ५९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पाँच लाख ९० हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ । सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । (रासस/एएनआई)

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् । नेता महरले भने, ‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।’ नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको छ भने । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो । कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।