बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ५७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २७ हजार ४९७ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६४९ जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।  

ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

रियो डि जेनेरियो । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ । यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । यसैगरी यहाँ गएको २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ । रासस/सिन्ह्वा

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो । अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब सङ्कलन गरेर परीक्षण गर्नसक्ने क्षमता प्रयोगशालाको रहेको बगालेले बताए । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा. बगालेको भनाइ छ । सो अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो । जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।